मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १८ शनिबार
  • Wednesday, 12 February, 2025
२o७९ चैत १८ शनिबार १३:५१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आतंक बढेपछि रेसुंगामा ६९ सामुदायिक कुकुरको बन्ध्याकरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १८ शनिबार १३:५१:oo

सदरमुकाम तम्घासमै कुकुर आतंक बढेपछि ६९ सामुदायिक कुकरको बन्ध्याकरण गरिएको छ। भेटेनरी तथा पशु सेवाविज्ञ केन्द्र, गुल्मीको आयोजना तथा रेसुंगा नगरपालिकाको प्राविधिक सहयोगमा तीन दिनसम्म कुकुरको बन्ध्याकरण अभियान सञ्चालन गरिएको थियो।

बुधबार २२, बिहीबार २३ र शुक्रबार २४ कुकुरको बन्ध्याकरण गरिएको केन्द्रले जनाएको छ। केन्द्रका डाक्टर मदन भण्डारीका अनुसार २६ पोथी र ४३ भाले गरी कुल ६९ कुकुरको बन्ध्यारकण गरिएको हो। अझै सबै सामुदायिक कुकुरको बन्ध्याकरण गर्न सकिएको छैन। केही ठाउँमा स्थानीयले कुकुर नियन्त्रणमा लिन अवरोध गरेका थिए।

सचेतना अभावका कारण मार्छन् भन्ने डरले केही परिवारले अवरोध गर्न खोजेकाे उनको भनाइ छ। ‘प्रत्येक परिवार र समुदायको सहयोग भए सबै कुकुरलाई बन्ध्याकरण गर्न सकिन्थ्यो। केन्द्रले कुकुर नियन्त्रणको लागि निःशुल्क बन्ध्याकरण गरेको हो,’ भण्डारीले भने, ‘पशुको पनि अधिकार भएकाले कसैले मार्न पाइँदैन।’ अरू वेला पनि कुकुरको बन्ध्याकरण गरिने भए पनि निःशुल्क हुँदैन। एउटा कुकुर बन्ध्याकरण गरेको साढे तीन हजारदेखि आठ हजारसम्म खर्च लाग्ने उनले बताए।

शिविरमा डाक्टर भरत काफ्ले र डाक्टर सुनील थापासहितको प्राविधिक टोलीले कुकुरको बन्ध्याकरण गरेका थिए। अहिले बजारमा कुकुरलाई संगिनी सुई लगाउने चलन पनि छ। त्यो राम्रो उपाय नभएको केन्द्रका प्रमुख काफ्लेले बताए। सुईले पाठेघरमा पिप बनाएर पायोमिट्रा भन्ने रोग लाग्छ। त्यसैले, बन्ध्याकरण गरे पोथी कुकुरमा थुनेलो, ब्रेस्ट क्यान्सर न्यूनीकरण हुने काफ्लेले बताए। उनका अनुसार कार्यालयबाट एक सय ४४, बन्ध्याकरणमार्फत रेसुंगामा ६९ र विभिन्न पालिकामा एक हजार चार सय गरेर एक हजार ६१३ कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ। बन्ध्याकरण गरिएका सबै कुकुरलाई रेबिजविरुद्धको खोप पनि लगाएर छाडिएको हो।

गुल्मीमा यो आर्थिक वर्षको आठ महिनामा मात्रै एक हजार पाँच व्यक्ति कुकुरबाट पीडित भएका छन्। तम्घास बजारमा समेत बिहानसाँझ थुप्रै व्यक्तिलाई कुकुरले टोकेर घाइते बनाउन थालेपछि रेसुंगा नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र पत्रकार महासंघको पहलमा बन्ध्याकरण गरिएको भेटेनरी तथा पशु सेवाविज्ञ केन्द्र, गुल्मीका प्रमुख डाक्टर भरत काफ्लेले जानकारी दिए।

भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर काफ्लेले नागरिक आफैँ सचेत बन्नुपर्ने बताए। काफ्लेले आफ्ना कुकुरहरूको निगरानी गर्ने, खोप लगाउने, छाडा नबनाउने, भुस्याहा कुकुरबाट जोगिने तथा कुकुरले टोके रेबिजविरुद्ध खोप तत्काल लगाउन सुझाव दिए। उनले केन्द्रको तर्फबाट पालिकाहरूमा कुकुरको बन्ध्याकरण, रेबिज परीक्षण तथा सचेतना अभियान सञ्चालन गरिएको बताए।