Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७९ चैत १८ शनिबार ०८:०८:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

हवाई सुरक्षामा चालकदल तथा इन्जिनियरकै लापरबाही

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७९ चैत १८ शनिबार ०८:०८:००

सुरक्षा मापदण्ड मिच्ने पाइलट तथा कर्मचारी धमाधम करबाहीमा

हवाई सुरक्षा मापदण्ड पालना नगर्ने वायुसेवा कम्पनी, पाइलट, इन्जिनियर, क्रु मेम्बर, एटिसीलगायत धमाधम कारबाहीमा पर्न थालेका छन् । नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडान सुरक्षा मापदण्ड उल्लंघन गर्ने पाइलट, इन्जिनियर, क्रु मेम्बरलाई निलम्बन गरेर कारबाही अगाडि बढाएको सूचना दैनिकजसो आउन थालेको छ । 

बिहीबार उडिरहेको जहाजमा सुरक्षा मापदण्ड उल्लंघन गरी टिकटक बनाएको आरोपमा क्यानले हिमालय एयरलाइन्सका तीनजना क्याबिन क्रुलाई निलम्बन गरेर कारबाही अगाडि बढाएको छ । गत शुक्रबार मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि होल्डमा रहँदा एयर इन्डियाका पाइलटले विनाअनुमति नेपाल एयरलाइन्सको जहाज घुमिरहेको उचाइमै जहाज झारेर जोखिम बढाएको आरोपमा एयर इन्डियाका पाइलटलाई काठमाडौं उडानमा तत्काललाई रोक लगाएको छ । साथै, ड्युटीमा रहेका तीनजना एयर ट्राफिक कन्ट्रोलर (एटिसी)लाई पनि निलम्बन गरेर अनुसन्धान सुरु गरेको छ । उडानमा रहेका दुई जहाजबीचको भर्टिकल डिस्टेन्स कम्तीमा एक हजार फिटभन्दा बढी हुनुपर्छ । नत्र, जहाज ठोक्किने सम्भावना रहन्छ । यसअघि १५ फागुनमा पनि त्रिभुवन विमानस्थलमा अवतरणका लागि होल्डमा रहेका निगम, बुद्ध एयर र कतार एयरवेजका जहाज झन्डै ठोक्किनबाट बचेका थिए । एटिसीको अनुमतिबेगर नै कतार एयरवेजका पाइलटले जहाजलाई एक्कासि तल झार्दा झन्डै दुर्घटना हुन लागेको थियो । कतार एयरवेजभन्दा तल निगम र बुद्धको जहाज अवतरणका लागि होल्डमा थिए । सो घटनामा कतार एयरवेजका पाइलट दोषी ठहरिएका छन् । 

पछिल्लो समय हवाई सुरक्षामा एकपछि अर्को गम्भीर लापरबाहीका घटनाहरू बाहिरिइरहेका छन् । हवाई सुरक्षा बढाउन क्यान सक्रिय भएपछि यस्ता घटनाहरू बाहिरिन थालेका हुन् । क्यानले लापरबाही गर्ने पाइलट तथा कर्मचारीलाई तत्कालै निलम्बन गरेर अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइरहेको छ । ‘हवाई सुरक्षामा कसैले पनि खेलबाड गर्न पाउँदैन, हवाई सुरक्षा बढाउन सबै पक्ष एकजुट हुनुपर्छ,’ क्यानका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘हवाई दुर्घटना हुन नदिन पाइलट तथा कर्मचारीलाई स्पष्टीकरण सोधेर सतर्क बनाउने गरेका छौँ ।’

अघिल्लो हप्ता उडान सुरक्षा मापदण्ड उल्लंघन गरेको भन्दै क्यानले तीनवटा हेलिकोप्टर कम्पनीका तीन पाइलटलाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको थियो । एयर डाइनेस्टी, फिस्टेल हेलिकोप्टर र अन्नपूर्ण हेलिकोप्टरका पाइलट कारबाहीमा परेका हुन् । उडान प्रतिबन्ध गरिएको ठाउँमा हेलिकोप्टर लगेको पाइलटलाई आरोप छ । 

नेपाल वायुसेवा निगमले ताप्लेजुङ–काठमाडौं उडानमा बढी लोड बोकेपछि क्यानले चालकदलसहित ६ जनालाई निलम्बन गरेको थियो । काठमाडौं आइरहेको ट्विनअटर जहाजले ४८ किलो तौल बढी बोकेको भेटिएको थियो । लोड कम देखाउन एकजना पुरुष यात्रुलाई महिला भनी झुटो विवरणसमेत रेकर्ड गरिएको प्रवक्ता निरौलाले बताए । उक्त उडानमा ६ जना पुरुष र नौजना महिला सवार थिए । सो घटनामा क्यानले निगमका चालकदल, उडान डिस्प्याचरदेखि ताप्लेजुङ विमानस्थलका ग्राउन्ड स्टाफसम्मलाई निलम्बन गरेर अनुसन्धान थालेको छ । 

त्यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयरबस ३३० जहाजको दायाँतर्फ ककपिटको झ्याल रातभर खोलेको भन्दै क्यानले निगमका दुई इन्जिनियरलाई निलम्बन गरेर कारबाही गरेको थियो । पोखराबाट जोमसोम उडानका क्रममा समिट एयरका दुईजना पाइलटले दृश्यात्मक उडान (भिएफआर)मा बादलभित्र जहाज छिराएपछि क्यानले निलम्बन गरी छानबिन गरिरहेको छ ।

काठमाडौंबाट भैरहवातर्फ उड्ने क्रममा श्री एयरलाइन्सको ड्यास क्यु४०० जहाजको इन्जिनबाट फायर वार्निङ आएर आकस्मिक अवतरण गर्नुपरेपछि क्यानले श्रीका सबै जहाज ग्राउन्डेड गरेर प्राविधिक जाँच गर्‍यो । तर, क्यानको विज्ञ प्राविधिक टोलीले चेकजाँच गर्दा सबै जहाज उडानयोग्य भेटिएपछि अर्को दिन नै उडानमा प्रतिबन्ध फुकुवा गरिएको थियो । त्यसअघि यति एयरलाइन्सको एटिआर–७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएपछि क्यानले सञ्चालनमा रहेका सबै एटिआर जहाज जाँच गरेको थियो । उक्त जाँचमा सबै जहाज उडानयोग्य भेटिएका थिए ।

पछिल्लो दुई–तीन महिनायता हवाई सुरक्षामा लापरबाही गर्ने धेरै पाइलट तथा इन्जिनियर निलम्बनमा परेका छन् । हवाई सुरक्षा बढाउन क्यान सक्रिय भएर लागेको हुँदा धेरै कमिकमजोरी बाहिर आइरहेको क्यानका एक कर्मचारीले बताए । यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पनि हुवाई सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन दिएका छन् । 

पाइलट, क्रु मेम्बर तथा इन्जिनियरलाई नियमित तलब सुविधा दिन नसकेको भन्दै क्यानले गुण एयरलाइन्सका सबै उडान ग्राउन्डेड गरिदिएको छ । उडानमा संलग्न कर्मचारीहरूले तलब सुविधा नपाउँदा उडान सुरक्षामा सम्झौता गर्न सक्ने क्यानको जिकिर छ । गुणका सातवटा जहाजमध्ये चारवटा जहाजले उडान गर्दै आइरहेका थिए ।

भाडाको टायरमा फर्कियो निगमको वाइडबडी जहाज
दुईवटा टायर पन्चर भएर बिहीबारदेखि नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय एयरपोर्टमा ग्राउन्डेड भएको नेपाल वायुसेवा निगम (एनएसी)को वाइडबडी एयरबस ३३० जहाज काठमाडौं फर्किएको छ । कतार एयरवेजसँग टायर भाडामा लिएर शुक्रबार साँझ जहाज काठमाडौं फर्किएको हो । 

कतार एयरसँग भाडामा लिइएका टायर निगमले शनिबार आफ्नो काठमाडौं–दिल्ली उडानमा दिल्लीमै फिर्ता गर्नेछ । कतार एयरवेजले आफ्नो जहाजका लागि जगेडा राखेको टायर भाडा तिर्ने सर्तमा निगमलाई उपलब्ध गराएको हो । बिहीबार निगमको जहाजको टायर पन्चर भएपछि काठमाडौं आउन ठिक्क परेका दुई सय ५१ यात्रु अलपत्र परेका थिए । उनीहरूलाई निमगकै खर्चमा दिल्लीको होटेलमा लगेर राखिएको थियो । कतिपय नजिकै घर भएका यात्रुलाई ट्याक्सी खर्च दिएर आफ्नै घर पठाइएको निगमले जनाएको छ । 

निगमका जहाज इन्जिन बिग्रिएर, टायर पन्चर भएर वा अन्य कुनै प्राविधिक समस्या आएर महिनौँ ग्राउन्डेड हुनु कुनै नौलो विषय होइन । निगमले आफूले उडान गर्ने स्टेसनमा जगेडा टायर राख्न नसक्दा टायरकै कारण पनि पटक–पटक जहाज ग्राउन्डेड गर्नुपर्ने नियतिबाट गुज्रँदै आएको छ । भइपरि आउने समस्यालाई ध्यानमा राखेर टायरलगायत विभिन्न पार्टपुर्जा जगेडा राख्नुपर्ने हुन्छ । तर, निगमको व्यवस्थापनकै कमजोरीका कारण जहाजमा सामान्य खराबी आउँदा पनि ग्राउन्डेड गर्नुपर्ने अवस्था आइरहन्छ ।