मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रदीप अधिकारी
२०७९ चैत १७ शुक्रबार १०:१८:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

हवाई पूर्वाधारमा नेपालको गुणात्मक फड्को 

Read Time : > 4 मिनेट
प्रदीप अधिकारी
२०७९ चैत १७ शुक्रबार १०:१८:००

ठूलो लगानीमा निर्माण हुने संरचना भावी पुस्ताका लागि समेत सोचेर बनाइने हुँदा आजै लाभ र प्रतिफलका हिसाबले भौतिक विकासलाई हेर्नुहुँदैन 

उच्चशिक्षा तथा व्यावसायिक जीवनयापनका लागि लाखौँ नेपाली युरोप, अमेरिकादेखि विश्वका कैयौँ मुलुक पुगेका छन् । उनीहरू देशका विभिन्न ठाउँमा रहेका विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) हुँदै विश्वकै उत्कृष्ट विमानस्थलमा ओर्लिन्छन् । तीन–चारवटा धावनमार्ग भएका विशाल टर्मिनल भवनहरूमा खानपिन, किनमेल र घुमफिरको अनुभव सँगालेर आउने यात्रु र नेपाल भ्रमणमा आउने पर्यटकका लागि हामीले तत्कालीन हवाई विभागले बनाएका भौतिक पूर्वाधारको स्तर किन बढाउन सकेनौँ ? हाम्रो विमानस्थलको विकास किन रोकियो ?

हजुरबा–आमा पुस्तामा निर्माण सुरु भएका विमानस्थल अहिले तेस्रो पुस्तामा आउँदासमेत उही थोत्रो टर्मिनल रंगाउने, उही अव्यवस्थित शौचालय, यात्रुले खान–बस्न नमिल्ने सानो साँघुरो कक्षहरू मात्र हुँदा हामीलाई भोलिका पुस्ताले धिक्कार्नेछन् ।

विगतमा १९ सिटे जहाज उडान÷अवतरण गर्न सक्ने पूर्वाधारबाट अहिले ७२ तथा ८० सिटे जहाज २४ घन्टा नै सञ्चालनमा आइरहेका छन् । अहिले आइटीको युगमा सबैलाई नयाँ मोडेलको फोन चाहिने, टिकटक, फेसबुक, फाइभजी नेटवर्क, आफ्नो घर अत्याधुनिक स्मार्ट प्रविधिको चहिने, तर हवाई पूर्वाधार भने ५०–६० वर्ष पुराना ! नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो क्षमतामा समयानुकूल पूर्वाधार विकास गरेर नेपाली नागरिकलाई सेवा दिँदासमेत साँघुरो सोच राखेको भन्दै आलोचना गरिन्छ ।

आन्तरिक हवाई यात्रुले पनि सुविधाजनक विमानस्थलबाट यात्रा गर्न पाऊन् भनेर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले देशैभरका विमानस्थल स्तरोन्नति गर्ने योजना बनाएको छ । जसअन्तर्गत चितवनको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)ले शिलान्यास गरिसक्नुभएको छ । यस विमानस्थलमा रहेको १२ सय मिटरको धावनमार्गलाई १५ सय मिटरमा लम्ब्याउने प्रक्रिया पनि अगाडि बढाएका छौँ । यस्तै, विराटनगर र नेपालगन्ज विमानस्थलको पनि स्तरोन्नति सुरु भइसकेको छ । भैरहवा र पोखरा विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालनमा ल्याइसकिएको छ । सुगमदेखि दुर्गम क्षेत्रमा रहेका विमानस्थलहरूको क्रमशः स्तरोन्नति गर्दै लैजाने क्यानको योजना छ ।

राज्यले घाटामा किन विमानस्थल सञ्चालन गर्नुपर्‍यो भनेर कतिपयले आलोचना गरिरहेको पनि सुनिन्छ । विमानस्थल दुर्गम क्षेत्रका नागरिकका लागि लाइफलाइन हो । यसलाई नाफा–घाटासँग मात्र तुलना गरिनुहुँदैन ।

देशका कुनाकाप्चा, हिमाल, पहाडमा यातायातको पहुँच नभएका जिल्लाहरूमा विमानस्थल निर्माण तथा सञ्चालन गरेर क्यानले राज्यमा सरकारको उपस्थिति महसुस गराइरहेको छ । दुर्गम जिल्लाहरूमा नुन, चामलदेखि अत्यावश्यक स्वास्थ्य सामग्री, खोप, औषधि, निर्वाचनमा मतपेटिका, प्रहरीको सुरक्षा सामग्रीसमेत ढुवानी गर्न र विपद्मा यातायातको एक मात्र साधन विमानस्थल नै नागरिकको हितैसीको रूपमा रहँदै आएको छ । 

कतिपयले राज्यले घाटामा किन विमानस्थल सञ्चालन गर्नुपर्‍यो भनेर आलोचना गरिरहेको पनि सुनिन्छ । यदि विमानस्थल घाटामा सञ्चालन भइरहेको भन्दै बन्द गरियो भने दुर्गम कर्णालीका नागरिकले आयोडिनरहित नुन खानुपर्नेदेखि विद्यार्थीले पाठ्यपुस्तकविनाको पढाइ, औषधिविनाको उपचारलगायतका विभिन्न कष्ट व्यहोर्नुपर्ने हुन्छ । त्यसैले विमानस्थल दुर्गम क्षेत्रका नागरिकका लागि लाइफलाइन हो । यसलाई नाफा–घाटासँग मात्र तुलना गरिनुहुँदैन ।

सन् २०२२ अप्रिलमा सम्पन्न अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को युएसओएपी अडिटबाट नेपालले हवाई सुरक्षा परिपालन दर ७०.१० प्रतिशत हासिल गरेको थियो । जुन एसिया प्रशान्त क्षेत्रको मात्र होइन, विश्वको औसत प्रतिशतभन्दा माथि रहेको यथार्थबाट युरोपियन युनियनलगायत अन्तर्राष्ट्रिय संघसंस्थाहरूसमेत सन्तुष्ट रहेको अवस्था छ । हामीले हवाई सुरक्षामा राम्रो प्रगति गरिरहेको त्यसैबाट पुष्टि हुन्छ ।

एउटा अन्तर्राष्ट्रिय विमानस्थलमा खुम्चेको नेपालको अन्तर्राष्ट्रिय उड्डयन क्षेत्र ७२ वर्षपछि थप दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भई २४ घन्टा नै सञ्चालनमा आएका छन् । अहिले भैरहवा र पोखरामा समेत गरी तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेका छन् । मोफसलबाट एकाबिहानै राजधानीमा उडान सञ्चालन भइरहेको छ । विगतमा हवाई विभाग हुँदा सातवटा विमानस्थल कालोपत्रे भएकोमा हाल ४० वटा विमानस्थल कालोपत्रे भएका छन् । तराईका विमानस्थल १८ घन्टा सञ्चालनमा छन् । यो हवाई क्षेत्रमा आएको प्रगति मात्र नभई गुणात्मक फड्को हो । नेपाल नागरिक उड्डयन प्राधिकरण सबल र सक्षम भएका कारण यी उपलब्धि हासिल गर्न सकिएको हो । 

वेलावेलामा क्यानलाई जानीनजानीकन विभाजन गरेर कमजोर पार्ने प्रयत्नहरू हुने गरेका छन् । यो संस्था कमजोर हुनु भनेको नेपालको उड्डयन क्षेत्रलाई खुम्च्याइनु र भावी पुस्ताका लागि पूर्वाधार विकास नगर भन्नु जस्तै हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको (एयरपोर्ट इकोनोमिक्स म्यनुअल)मा समेत एउटै संस्थाले प्रभावकारी रूपमा कार्य गारिरहेकोमा दुईवटा प्रतिस्पर्धी संस्था खडा गर्नु उचित हुँदैन र केवल प्रशासनिक खर्च बढ्ने मात्र हुन्छ भनी उल्लेख गरिएको छ ।

संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको हवाई नियमन गर्ने निकाय युरोपियन युनियन उड्डयन सुरक्षा एजेन्सीलाई आज क्यानको विद्यमान ऐन, कानुन, संस्थागत संरचनामा समस्या छैन भन्ने कुरामा विश्वस्त रहेको अवस्था छ । देशका अधिकांश सार्वजनिक संस्थानहरूको बढ्दो दुरवस्थाका बीच यो संस्था पछिल्ला घटनाक्रमहरूबाट पनि एउटा सबल संस्था भएको महसुस भइरहेकै होला, जसले हवाई क्षेत्रमा उत्कृष्ट काम गर्ने प्रयास गरिरहेको छ । 

ठूलो लगानीमा निर्माण हुने संरचना आजका लागि मात्रै नभई भावी पुस्ताका लागि समेत सोचेर बनाइने हुँदा आजै लाभ र प्रतिफलका हिसाबले भौतिक विकासलाई हेर्नुहुँदैन । ७५ वर्षअगाडि निर्माण भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अझै समयसापेक्ष संरचना तथा उपकरण जडान भइरहेका छन् । हामीले भर्खरै झन्डै ३० अर्ब लगानीमा भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरी सञ्चालनमा ल्याएका छौँ । यी पूर्ण क्षमतामा सञ्चालन हुन केही समय लाग्नेछ । 

अर्को पक्ष, विमानस्थल सञ्चालन केवल प्राधिकरण एक्लैले गर्न सम्भव छैन । यसमा राज्यको नीति, कार्यक्रम, विभिन्न पक्षहरू जस्तै– वैदेशिक रोजगारीमा जानेका लागि श्रम, बिमा, मेडिकल तथा भन्सार, अध्यागमनलगायत थुप्रै निकायको साथ र सहयोगको आवश्यकता पर्दछ । त्यो साथ–सहयोग सबै पक्ष तथा निकायबाट प्राप्त हुनेछ भन्ने विश्वास छ ।

अन्तर्राष्ट्रिय विमानस्थलहरूको सञ्चालनका लागि सबल र सक्षम राष्ट्रिय ध्वजावाहक आजको आवश्यकता हो । नेपाल वायुसेवा निगमसँग आज अन्तर्राष्ट्रिय उडान गर्न सक्ने प्रशस्त जहाजहरू भइदिएको भए र सोहीअनुसारको व्यावसायिक योजनाहरू ल्याइदिएको भए हाम्रा विमानस्थल अहिले चलायमान भएसकेका हुने थिए । तर, निगम आन्तरिक उडानमा करिब जहाजविहीनजस्तै बनेको छ । दुईवटा जहाजबाट आन्तरिक उडान गरिरहेको अवस्था छ । देशमा तीनवटा अन्तर्राष्ट्रियसहित ५३ वटा विमानस्थल निर्माण भएका छन् । ती विमानस्थलमा नियमित उडान गर्नका लागि पनि निगमसँग प्रशस्त जहाज हुनु जरुरी छ ।

कोभिड महामारीको प्रकोप र त्यसको प्रभावका कारण कोभिडपूर्वको अवस्थामा पुग्न सन् २०२६ सम्म कुर्नुपर्ने प्रक्षेपणका बीच हामी निकै आशा र उमंगका साथ नेपालको हवाई उडानलाई नयाँ उचाइमा पुर्‍याउने दृढ संकल्प लिएर अगाडि बढिरहेका छौँ । र, यसका लागि सबैको आ–आफ्नो तह र तप्काबाट साथ र सहयोगको अपेक्षा छ । कोभिडपछि बढेको आन्तरिक हवाई यात्रुहरूले पनि उत्साह थपेको छ । 

देशकै महत्वपूर्ण भौगोलिक अवस्थितिमा रहँदारहँदै पनि भरतपुर विमानस्थलको समयसापेक्ष विकास र विस्तारमा ढिलाइ भएकै हो । यस विमानस्थलको आवश्यकता, औचित्य र महत्वबारेमा आफैँले बुझेर हृदयंगम गर्ने नेतृत्वको अभाव महसुस गरिएका वेला प्रधानमन्त्री पुष्पकमल दहालले यसको नेतृत्व आफैँले लिने र भरतपुर तथा मेघौली विमानस्थललाई आवश्यकताका आधारमा समयसापेक्ष विकास तथा विस्तार गर्दै जाने प्रतिबद्धतास्वरूप बिहीबार (१६ चैत) नयाँ आधुनिक टर्मिनल भवन निर्माणको शिलान्यास गर्नुभएको छ ।

यो विमानस्थल सन् १९५८ मा निर्माण सम्पन्न भई ५ मार्च १९६१ अर्थात् करिब ६२ वर्षअगाडि पहिलो उडान भएको थियो । पछि नेपाल वायुसेवा निगम तथा नेकोन एयरको एभ्रो जहाज अवतरण हुन सक्ने बनाउन १ हजार १५८ मिटरको धावनमार्ग सन् १९९४ मा बनाइयो । त्यसलाई सन् १९९८ मा एसियाली विकास बैंकको सहयोगमा कालोपत्रे गर्ने काम गरिएको थियो । भरतपुर विमानस्थल देशको मध्यभागमा पर्ने भएकाले यस विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने उद्देश्यले सन् १९८८ मा विभिन्न वातावरणीय र पर्यावरणीय दृष्टिकोणबाट क्षति हुन सक्ने भनी उक्त कार्य अगाडि नबढेको भन्ने पनि सुनिन्छ ।

हाल भरतपुर विमानस्थलबाट प्रादेशिक विमानस्थलहरूमा नियमित हवाई सेवा सञ्चालन हुँदै आइरहेको छ । यस्ता प्रकारका क्षेत्रीय उडान सञ्जालले आर्थिक, सामाजिक, राजनीतिक विकासमा प्रत्यक्ष सहयोग पुग्ने विश्वास छ । क्षेत्रीय सहर चलायमान हुनुले प्रत्यक्ष रूपमा रोजगारी, व्यापार तथा आर्थिक गतिविधिमा बढावा त गर्ने नै भयो, अप्रत्यक्ष रूपमा सामाजिक भाइचारा एवं सांस्कृतिक आदानप्रदानमा समेत टेवा पुर्‍याउने देखिन्छ । 

देशभरिका विमानस्थललाई आवश्यकता र औचित्यका आधारमा विकास र विस्तार गर्दै लैजाने क्यानको नीति छ । र, त्यसका लागि क्यान सक्षम पनि छ । भरतपुर विमानस्थललाई भविष्यमा एटिआर–७२ जहाज वा सोसरहका मझौला आकारका ७०–८० सिटका जहाज सञ्चालन हुने गरी स्तरोन्नति गर्ने तयारीमा क्यान छ । यस विमानस्थलको धावनमार्ग विस्तार गर्दा नेपाली सेना रहेको इक्वाइन ब्रिडिङ सेन्टर र कालीबहादुर गणको करिब १९ बिघा आवश्यक पर्छ । नेपाली सेनाको संरचनालाई स्थानान्तरणपश्चात् तुरुन्तै धावनमार्ग विस्तारको काम अगाडि बढाइनेछ । 

(भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यासका अवसरमा अधिकारीले दिएको मन्तव्यको सम्पादित अंश)

अधिकारी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक हुन् ।