१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
डेभिड ब्रुक्स
२o८१ जेठ १३ आइतबार o९:३४:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

चीनसँगको शीतयुद्धले बदलिएको अमेरिका

Read Time : > 3 मिनेट
डेभिड ब्रुक्स
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार o९:३४:oo

अहिलेसम्म दुई देशबीचको द्वन्द्वको मुख्य केन्द्रबिन्दु माइक्रोचिप्स हो 

हामी एउटा नयाँ शीतयुद्धमा छाैँ जस्तो लाग्छ । अमेरिकाका दुवै पार्टीका नेता चीनको पछाडि हात धोएर लागेका छन् । ताइवानमाथि युद्धको हल्ला चलिरहेको छ । राष्ट्रपति सी चिनफिङले यो शताब्दीमा चीनको प्रभुत्व निर्माण गर्ने वाचा गरेका छन् । यो शीतयुद्ध कस्तो होला ? के यसअघिको शीतयुद्धले जस्तै यसले पनि अमेरिकी समाजलाई रूपान्तरण गर्ला ? म आफूलाई एकदमै विस्मित पाउँछु । 

यो शीतयुद्धबारे मैले देखेको पहिलो कुरा के भने यसमा हतियारको होडबाजी र आर्थिक दौड घुलमिल भएको छ । अहिलेसम्म यो द्वन्द्वको मुख्य केन्द्रबिन्दु माइक्रोचिप्स छ । यसले तपाईंको कार र फोनलाई उन्नत बनाउने मात्रै होइन, मिसाइलहरूलाई पनि मार्गदर्शन गर्छ । आर्टिफिसियल इन्टेलिजेन्सी सिस्टमहरूलाई प्रशिक्षित गर्न यी चिप्स आवश्यक पर्छन् । त्यसैले चिप उत्पादनमा जसको प्रभुत्व हुन्छ, बजारका सबै युद्धमोर्चामा उसैले प्रभुत्व जमाउनेछ ।

दोस्रो, यसका भूराजनीति फरक छन् । क्रिस मिलरले आफ्नो पुस्तक ‘चिप वार’मा माइक्रोचिप उद्योगमा केही अत्यधिक सफल कम्पनीहरूको प्रभुत्व रहेको उल्लेख गर्छन् । ९० प्रतिशतभन्दा धेरै उन्नत चिप्सको उत्पादन एउटा ताइवान कम्पनीद्वारा हुन्छ । अत्याधुनिक चिप्सहरू बनाउन चाहिने सम्पूर्ण लिथोग्राफी मेसिनहरू एउटा डच कम्पनीले बनाउँछ । डेटा केन्द्रहरूमा एआईका अनुप्रयोगहरू चलाउने महत्वपूर्ण ग्राफिक प्रोसेसिङ एकाइहरूका डिजाइनमा अमेरिकाको सान्टा क्लारा र क्यालिफोर्नियास्थित दुइटा कम्पनीले एकाधिकार राख्छन् ।

सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका एक विश्लेषकका अनुसार चीनले औद्योगिक कार्यक्रममा अमेरिकाले जति नै पैसा खर्चिएको  छ । आगामी वर्षमा अमेरिकी नेताहरूले चीनको त्यो खर्च कत्तिको प्रभावकारी भयो र त्यसको मुकाबिला कसरी गर्ने भन्नेबारे पत्ता लगाउनुपर्छ ।

यी सकसले चीनका लागि असहनीय अवस्थाको प्रतिनिधित्व गर्छन् । पश्चिमले अत्याधुनिक प्रविधिमा चीनको पहुँच रोक्न सके भने चीन स्वतः रोकिन्छ । त्यसैले चीनको मुख्य उद्देश्य चिपमा आत्मनिर्भरतातर्फ उन्मुख हुनु रहेको छ । अमेरिकाको उद्देश्यचाहिँ चिपमा अहिलेभन्दा बढी आत्मनिर्भर बन्ने र चीनलाई बाहिर राख्न विश्वव्यापी चिप गठबन्धन निर्माण गर्ने रहेको छ । 

अमेरिकाको विदेश नीतिलाई यिनै मार्गमा द्रुत गतिमा पुनव्र्यवस्थित गरिएको छ । पछिल्ला दुई राष्ट्रपतिको कार्यकालमा संयुक्त राज्य अमेरिकाले चीनलाई उन्नत चिप्स निर्माण गर्न चाहिने सफ्टवेयर टेक्नोलोजी र उपकरणहरू प्राप्त गर्नबाट रोक्न आक्रामक रूपमा कदम चालेको छ । यसका लागि बाइडेन प्रशासनले चिनियाँ सैन्य कम्पनीलाई मात्र होइन, सम्पूर्ण चिनियाँ कम्पनीहरूलाई नै छेकिरहेको छ । एक प्रकारले हेर्दा यसलाई आफूलाई सुरक्षित गरेको मान्न सकियला तर अर्काे तरिकामा भन्दा यो एकदमै घातक देखिन्छ । अमेरिकाको आधिकारिक नीति डेढ अर्ब जनसंख्या भएको एउटा राष्ट्रलाई गरिब बनाउने रहेको छ । 

यो नयाँ शीतयुद्धले घरेलु राजनीतिलाई कसरी पुनव्र्यवस्थित गरिरहेको छ भन्ने कुराले मलाई अझ बढी चकित पारेको छ । अलेक्जेन्डर ह्यामिल्टनको सन् १७९१ को ‘रिपोर्ट अन म्यानुफ्याक्चरर्स’लाई नै आफ्नो दृष्टिबिन्दु बनाउने अमेरिकीहरूको कहिल्यै कमी रहेन । ह्यामिल्टन निजी आर्थिक क्षेत्रलाई बलियो बनाउन सरकारको प्रयोग गर्ने औद्योगिक नीतिका पक्षधर थिए । तर, यो शासकीय दृष्टिकोण सामान्यतः ओझेलमा नै छ । 

तर, जब हरित टेक्नोलोजी र चिप्सको कुरा आउँछ, तब यो नीति अमेरिकी राजनीतिको केन्द्रमा हुन्छ । गत वर्ष कंग्रेसले अमेरिकी चिप उत्पादनलाई प्रोत्साहित गर्न अनुदान, कर क्रेडिट र अन्य सहयोगका लागि ५२ अर्ब डलर अनुदान योजनासहितको ‘चिप्स एक्ट’ पारित गरेको छ । त्यो वास्तवमा एक औद्योगिक नीति नै हो, जसले ह्यामिल्टनको अभावलाई पूरा गर्छ । 

आउँदा वर्ष र दशकमा चीनले विभिन्न उन्नत प्रविधिहरूको क्षेत्रमा आफ्ना औद्योगिक नीति कार्यक्रममा ठूलो परिमाणमा पैसा खन्याउन गइरहेको छ । सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजको एक विश्लेषकका अनुसार चीनले औद्योगिक कार्यक्रममा अमेरिकाले जति नै पैसा खन्याइरहेको छ । आउने वर्षमा अमेरिकी नेताहरूले उसको त्यो खर्च कत्तिको प्रभावकारी भयो र त्यसको मुकाबिला कसरी गर्ने त्यो पत्ता लगाउनुपर्छ । अघिल्लो शीतयुद्धमा भन्दा यो शीतयुद्धमा प्रविधिगत ठालुहरूको संलग्नता बढी हुनेछ । दुवै पक्षले आफ्ना सबैभन्दा शिक्षित नागरिकका लागि धेरैभन्दा धेरै पैसा खर्च गर्नेछन् । पपुलिस्ट उभारको युगमा यो एक खतरनाक स्थिति हो । 

अहिले नै तपाईं नयाँखाले राजनीतिक दरारहरू देख्न सक्नुहुन्छ । केन्द्रमा बाइडेन प्रशासनका साथै सिनेटमा चिप्स एक्टको पक्षमा डेमोक्र्याटहरूसँगै मतदान गरेका १७ भाइ गैरट्रम्प रिपब्लिकनसहितका नवह्यामिल्टनवादीहरू छन् । दायाँ (दक्षिणपन्थ)मा, पपुलिस्टहरू पहिलेदेखि नै धेरै छन् । उनीहरू सैन्य मामिलामा चीनप्रति अत्यन्त आक्रामक छन्, यद्यपि औद्योगिक नीतिमा उनीहरूको विश्वास छैन । उनीहरू हामीले त्यत्रो पैसा प्रविधि सम्भ्रान्तहरूमाथि किन खर्च गर्ने ? बजारभन्दा सरकार तपाईंलाई किसरी स्मार्ट लाग्यो ? भन्छन् । 

केन्द्रबाट बायाँतर्फ प्रगतिशील लक्ष्य पूरा गर्न औद्योगिक नीति प्रयोग गर्न चाहनेहरू मौजुद छन् । बाइडेन प्रशासनले चिप्स एक्टबमोजिमको अनुदान सहयोग प्राप्त गर्ने कम्पनीहरूका लागि ठूलो संख्यामा सर्तहरू जारी गरेको छ । यी सर्तनामाले त्यो प्राप्त गर्ने कम्पनीलाई धेरै बाह्य प्रगतिशील प्राथमिकताहरू तोकिदिएको छ– उनीहरूले बाल हेरचाह नीति, संघीयकरणमा वृद्धि, पर्यावरणीय लक्ष्यहरू, जातीय न्याय आदिलाई अनुसरण गर्नुपर्नेछ)। यी सर्तनामाले चिप्स उद्योगको क्षमता बढाउनेमा भन्दा पनि एकैचोटि सबै कुरा गर्न खोजेको देखिन्छ । 

शीतयुद्धको माहोल तात्दै जाँदा हाम्रो राजनीति थप गम्भीर हुँदै जाने आकलन गर्न सकिन्छ । गत शीतयुद्धको समयका निर्वाचनमा अमेरिकीहरूले आफ्नो मत जीवन र मृत्युको विषय हुन सक्छ भन्ने महसुस गरेका थिए । उनीहरूले फेरि यस्तै महसुस गर्न सक्छन् । यो युगमा शासन गर्न हामीलाई असाधारण स्तरको अनुभवी राजनेता चाहिएको छ । हामीलाई वस्तुपरक औद्योगिक कार्यक्रमहरू सञ्चालन गर्न सक्ने, व्यापार युद्धहरूविना नै अर्थव्यवस्थालाई आंशिक रूपमा डिग्लोबलाइज गर्न सक्ने अनि चीनलाई अपमानित नगरी लगातार पराजित गर्र्दै जान सक्ने राजनेताको आवश्यकता छ । यदि चीनले आफू झन्–झन् पछाडि पर्दै गएको महसुस गर्‍यो भने उसले ताइवानमाथि आक्रमण गर्न सक्छ । मिलरलाई अमेरिका र चीनबीचको खतरनाक सैन्य द्वन्द्वले आगामी पाँच वर्षमा महामन्दीसरहको आर्थिक संकट निम्त्याउने सम्भावना कत्तिको छ भनेर सोधिएको थियो । उनले यस्तो सम्भावना २० प्रतिशत रहेको विचार राखेका छन् । र, यो एकदमै विचारणीय छ । 

(ब्रुक्स न्युयोर्क टाइम्सका स्तम्भकार हुन्) – न्युयोर्क टाइम्सबाट

ad
ad