१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
रमेश रावल सुर्खेत
Invalid date format १६:१८:oo
Read Time : > 3 मिनेट
फिचर डिजिटल संस्करण

गाडी देख्दै डराउने सरिताले ‘स्टेरिङ’ घुमाउने पेसा राेजेपछि‍‍..! 

Read Time : > 3 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
Invalid date format १६:१८:oo

कालीकोट जिल्ला तिलागुफा नगरपालिका– १० मा जन्मिएकी सरिता शाही (४२) पहिला गाडी चढ्न पनि डराउँथिन्। डर पनि किन नमानुनन् र !  त्यो वेला कालीकोट र साबिकको कर्णाली अञ्चल सडकले समेत छोएको थिएन। गाडी र सडक कल्पनाको विषय नै थिएन। 

अत्यन्तै दुर्गम र विकटमा जन्मिएकी शाहीलाई कर्णालीमा सडक बन्ला र गाडी चढ्ने र चलाउने रहर पूरा होला भन्ने सोचेकोसमेत थिइनन्। ‘सडकले समेत छोएको थिएन,’ उनी भन्छिन्, ‘गाडी देखे पनि डर मान्ने गर्थेँ । चलाउने कुरा त कल्पनाको विषय नै थिएन।’

शाहीले आजभन्दा २१ वर्ष अघि काठमाडौं यात्रा तय गरिन्। काठमाडौंको यात्रा तय गर्नु तत्कालीन अवस्था भइरहेको सशस्त्र द्वन्द्व थियो । गाउँमा सात कक्षा पढ्दापढ्दै उनको विवाह महावै गाउँपालिकामा भयो । ‘१५ वर्षको उमेरमा विवाह भयो । १६ वर्षको उमेरमा छोरी जन्मिइन् । श्रीमानको रोजगारी थिएन,’ उनले भनिन्, ‘कालीकोट जिल्ला सशस्त्र द्वन्द्वबाट निकै प्रभावित थियो । राज्यपक्ष र विद्रोही पक्षबाट कति वेला पीडित हुने थाहा नै थिएन । त्यही भएर गाउँ छोडेर काठमाडौं हानियौँ।’

काठमाडौं जाँदा पहिलोपटक बस चढेकी उनलाई बाटो काट्दा ड्राइभर हुने इच्छा जाग्यो । कालीकोटबाट काठमाडौं पुगेपछि ड्राइभर हुने इच्छा त थियो, तर उनले कसरी कहाँ गएर ड्राइभर हुने मेसो पाइनन् । ‘म काठमाडौं हुँदा बस चढ्दा सधैँ ड्राइभरले स्टेरिङ घुमाएको गियर बद्लेको हेर्ने गर्थेँ । कसरी ड्राइभर बन्ने भन्ने लागिरहन्थ्यो । तर, मैले कसरी सिक्ने भन्ने मेसाे नै पाएकी थिइनँ,’ उनले भनिन्, ‘मेरा वर्षपिच्छै छोरीहरू हुँदै गएर गुजारा गर्न ग्राहो हुन थाल्यो । काठमाडौं पुगेपछि तरकारी बजारमा ल्याएर बेच्ने र त्यसैबाट गुजारा गर्न थालेँ ।’

काठमाडौंमा तरकारी बेचेर गुजारा गर्न कठिन हुन थालेपछि आफूले श्रीमानलाई विदेश पठाइन् । श्रीमान्  विदेश गएपछि आफूले गाडी चलाउन सिकेको उनले बताइन्। ‘मलाई गाडी सिक्ने हुटहुटी थियो। त्यसैले मैले आजभन्दा आठ वर्षअघि ड्राइभिङ सेन्टरमा गएर गाडी सिकेँ,’ उनले भनिन्, ‘गाडी चलाउन सिक्ने र ड्राइभर हुने हुटहुटीले १३ दिनमा नै पूर्ण रूपमा गाडी चलाउन सिकिसकेकी थिएँ ।’

ड्राइभिङ लाइसेन्स लिएपछि चार कार्टुन रेडबुल बाँडेँ

काठमाडौंको तिनकुने ड्राइभिङ सेन्टरबाट गाडी चलाउन सिकेकी उनले भक्तपुर जगते यातायात व्यवस्था कार्यालयको ट्राइल सेन्टरबाट उनले आठ वर्षअघि ड्राइभिङ लाइसेन्स पास गर्दा चार कार्टुन रेडबुल जुस बाँडेर खुवाएको सम्झिन्छन् । ‘हामी महिला थोरै थियाैँ। पुरुष धेरै थिए,’ उनले भनिन्, ‘ट्रायल पास गरेपछि खुसीले चार कार्टुन रेडबुल किनेर सबैलाई बाँडेर खुवाएँ।’

ड्राइभिङ लाइसेन्स पास गरेको दिनजति खुसी कुनै दिनमा पनि भइनँ । ‘त्यो दिन मेरो सपनाको दिन थियाे,’ उनले भनिन्, ‘त्यो दिनजति खुसी कुनै दिनमा भइनँ।’

ड्राइभिङ लाइसेन्स लिएँ, तर चलाउने साधन पाइनँ

त्यसवेला अहिले जस्तै काठमाडौंमा ट्याक्सी तथा अन्य गाडीहरू भाडामा लिएर चलाउन पाइन्थ्याे । तर, शाहीले काठमाडौंमा ड्राइभिङ लाइसेन्स लिएपछि आफूले चलाउने साधन नपाएको उनको भनाइ छ । ‘मैले ड्राइभिङ लाइसेन्स लिएकी छु । मलाई गाडी चलाउन दिनुस् भन्दा कसैले पत्याएनन्,’ उनले भनिन्, ‘चलाउने साधन पाइनँ । केटी मान्छे चलाउन हुन्न भन्थे, सिकेँ । तर, काम भने पाइनँ ।’

महिलाले ड्राइभिङ गर्न सक्दैनन् भन्ने सोचेर कसै पनि आफूलाई चलाउनका लागि सवारीसाधन नदिएको उनले गुनासो गरिन् । ‘सवारीसाधन नपाएपछि आूले सिकेको सीप खेर जाने हो कि भन्ने डर थियो,’ उनले भनिन्, ‘सिकेको सीपको खेर जाने हो कि भन्ने डर लाग्यो ।’
आफूले सिकेको सीपबारे कसैले नपत्याएपछि उनले आफैँले ट्याक्सी किन्ने निर्णय गरिन् । ‘ऋणदान गरेर उनले रु. १० लाख जम्मा गरेर किस्ताबन्दीमा ट्याक्सी निकालेँ,’ उनले भनिन्, ‘ट्याक्सी किनेर काठमाडौंमा चलाउन थालेँ ।’

ट्याक्सीले दिएको सफलता

ट्याक्सी किनेर चलाउन थालेपछि आफूलाई ठूलो सफलता मिलेको उनको भनाइ रहेको छ । ‘परिवार पाल्न, पाँचजना छोरीलाई पढाउन ट्याक्सीले सजिलो भयो,’ उनी भन्छिन्, ‘मलाई अहिले धेरै सजिलो भयो ।’

काठमाडौंमा बस्नका लागि मासिक रु. १ लाख लाग्ने र ट्याक्सीबाट मासिक राम्रै आम्दानी गर्ने गरेको उनले बताइन् । ‘मैले ट्याक्सी चलाएर परिवारलाई सबै खर्च र ट्याक्सीको किस्ताबन्दी तिर्न थालेँ,’ उनले भनिन्, ‘मेरो लगनशीलताले नै त्यो सफलता दिएको थियो ।’

ट्याक्सी चलाएर काठमाडौंको गोठाटारमा एउटा घडेरी र जेठी छोरीलाई चिकित्साशास्त्र पढाएको उनको भनाइ छ । ‘त्यसैबाट मैले काठमाडौंंमा एउटा घडेरी लिएको छु,’ उनले भनिन्, ‘पाँच छोरी स्कुल पढाउनुका साथै जेठी छोरीलाई चिकित्साशास्त्र (डाक्टर)मा पढाउन थालेकी छु ।’

सडक नपुगेकाे गाउँमा आफैँ सवारी चलाएर पुग्ने रहर पूरा गरेँ

उनी कालीकोटबाट काठमाडौं जाँदा साबिकको कर्णालीमा सडक पुगेको थिएन । सुर्खेतसम्म सवारीसाधन चल्ने गरेका थिए । उनी कालीकोटबाट सुर्खेत आउँदा हिँडेर आएको सम्झिन्छन् । ‘एकपटक म हाट आएकी थिएँ । कालीकोटबाट दैलेख हुँदै सुर्खेतसम्म बुबासँग हिँडेर आएकी थिएँ,’ उनले भनिन्, ‘हिँड्दा पैलता दुखेर हैरान भएका थिए । अहिले आफैँ ड्राइभिङ गरेर गाडी चलाएर पुग्ने रहर पूरा गरेँ ।’

उनी काठमाडौं गएको झन्डै चार वर्षपछि ०६४ सालमा जुम्लासम्म गाडी पुग्यो । उनमा आफैँ गाडी चलाएर जुम्लासम्म जाने रहर पलाएको थियो । उनले त्यो मौका पाएकी थिइनन् । गत फागुन २७ गते जुम्लाका लागि काठमाडौंबाट यात्रा तय गरिन् । काठमाडौंबाट जुम्ला पुग्न झन्डै हजार किलोमिटर सडक यात्रा तय गरिन् ।

 ‘एउटा केटी मान्छेले काठमाडौंबाट आफैँ ड्राइभिङ गरेर जुम्ला पुग्ने कुरा चानचुने थिएन । तैपनि मैले साहस गरेर जुम्लाको यात्रा तय गरेँ,’ जुम्ला पुगेर सुर्खेतमा भेटिएकी शाहीले भनिन्, ‘केटी मान्छेले यति लामो यात्रा तय गर्नु सामान्य कुरा थिएन । तर, म त्यसका लागि मानसिक रूपमा तयार भएँ ।’

कर्णाली राजमार्गको निर्माण भए पनि निकै कठिन रहेको उनले बताइन् । ‘कर्णाली राजमार्ग निकै कठिन बाटो रहेछ । यसमा यात्रा गर्न सानो गाडीमा सुखद यात्रा गर्न कठिन छ,’ उनले भनिन्, ‘कर्णाली राजमार्गको अझै स्तराेन्नति गर्नका लागि आवश्यक छ ।’

उनले आफूले ड्राइभिङ गरेर यसभन्दा अघि काठमाडौंबाट पोखरा, इलाम, धनगढीसम्मको यात्रा गरेको भए पनि यसपटक जुम्लासम्म पुगेको बताइन् । 
सम्भवतः एउटी केटी मान्छेले काठमाडौंदेखि जुम्लासम्म ड्राइभिङ गरेर पुगेको पहिलोपटक होला ।

ड्राइभिङ अंगालेकी शाहीको अर्को रुचि भनेको गीत र मोडलिङ पनि हो । उनले अहिले केही गीतमा गायन गर्नुका साथै अभिनय पनि गरेकी छिन् । उनले घाँटी रेटियो भन्ने गीतसमेत गाएकी छिन् ।