१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
उग्रनारायण यादव
२०७९ चैत १५ बुधबार ०९:०३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भगवानपुर गाउँपालिका अध्यक्षविरुद्ध जातीय भेदभाव छुवाछुत कसुरमा उजुरी दर्ता

Read Time : > 1 मिनेट
२०७९ चैत १५ बुधबार ०९:०३:००

सिराहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवविरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालयमा जातीय भेदभाव छुवाछुत कसुरमा मुद्दा दर्ता भएको छ । भगवानपुर– १ का दुई, वडा नम्बर २ का एक, वडा नम्बर ४ का ६ र गोलबजार नगरपालिका– ४ का शिवकुमार मोचीसहित १० जनाले यादवविरुद्ध दिएको जाहेरी प्रहरीमा दर्ता भएको हो । 

पीडितहरूले दिएको जाहेरी च.नं. ७४४३ जिल्ला प्रहरीले ३१२ नं. मा दर्ता गरेको छ । ५ चैतमा दिएको जाहेरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४ को उपदफा (३) बमोजिम दर्ता भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बूले भगवानपुर घटनाको विषयमा पीडितहरूले दिएको जाहेरी दर्ता भएकाले प्रहरीले थप सूक्ष्म अनुसन्धान गर्ने जानकारी दिए । ‘प्रहरीले जाहेरी दर्ता हुनु पहिले पनि घटनास्थल, पीडित, गाउँपालिका अध्यक्षसँग कुराकानीसहित अनुसन्धान गरेको थियो,’ उनले भने, ‘जाहेरी दर्ता भएपछि थप सूक्ष्म अनुसन्धान थाल्छौँ ।’ गाउँपालिका अध्यक्षजस्तो पदमा रहेका व्यक्तिविरुद्ध जातीय छुवाछुतजस्तो गम्भीर विषयमा मुद्दा दर्ता भएपछि निलम्बन, पक्राउ के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘प्रहरीले सूक्ष्म अनुसन्धान गरेपछि मात्र पक्राउ गर्ने–नगर्ने भन्ने निक्र्योल हुन्छ, अहिलेलाई त्यही जाहेरीमा उल्लेख भएको आरोपलाई आधार बनाएर प्रहरीले अनुसन्धान अगाडि बढाउँछ ।’

गत २२ फागुनमा यादवले आफ्नी दिवंगत आमाको १३औँ पुण्यतिथिमा आयोजित भोजमा प्लेकार्ड र ब्यानर नै राखेर जातीय छुवाछुत गरिएको भन्दै संलग्न दोषीलाई कारबाही गर्न चौतर्फी माग उठ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिराहाले २९ फागुनमा गठन गरेको तीन सदस्यीय छानबिन समितिले प्रतिवेदन बुझाएको जनाएको छ । जिल्ला प्रशासनको नेतृत्वमा गठन भएको छानबिन समितिले स्थलगत अनुगमन, गाउँपालिका अध्यक्ष, स्थानीय दलित र सरोकारवालाहरूसँग कुराकानी गरी तथ्य संकलन गरी घटनाको विषयमा प्रतिवेदन बुझाएको समितिका एक सदस्यले बताए । 

भगवानपुर–५ इनर्वा परौलस्थित घरमा गाउँपालिका अध्यक्षले मृत्यु संस्कारको भोजमा छुवाछुत गरेको घटनाको राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय दलित आयोगको टोलीले २ चैतमा इनर्वा परौल गाउँको स्थलगत अनुगमन गरेको थियो । मानवअधिकार आयोगको जनकपुरस्थित मधेस प्रदेश कार्यालय प्रमुख मञ्जु खतिवडा, मानव अधिकार अधिकृत रेखा दत्तसहितको टोलीले भोजमा जातीय क्लस्टरअनुसार प्लेकार्ड ब्यानर राखी छुवाछुत गरिएको विषयमा अध्यक्ष उग्रनारायण यादव, स्थानीय दलित समुदायका महिला पुरुष, अन्य सरोकारवाला पक्षसँग भेटेर कुराकानी गरेको थियो । आयोगले भोजमा सामेल दलित समुदायका महिला, पुरुषहरू, गाउँपालिका अध्यक्षसँग गरिएको कुराकानी, स्थलगत तथ्य संकलन, भोजस्थल तथा घटनाक्रमको विश्लेषण गरी अनुसन्धानको अन्तिम किनारा लागेपछि मात्र प्रतिवेदन सार्वजनिक गरिने बताए पनि अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन ।