मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
कमलराज भट्ट काठमाडाैं
२०७९ चैत १५ बुधबार ०६:१८:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

संसद्लाई जानकारी नदिई एनजिओको कार्यक्रममा १२ सांसद भारत भ्रमणमा

Read Time : > 2 मिनेट
कमलराज भट्ट, काठमाडाैं
२०७९ चैत १५ बुधबार ०६:१८:००

भारतीय दूतावासको सहयोग र समन्वयमा स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपाल नामक एनजिओमार्फत सांसदहरूलाई नयाँदिल्ली र मुम्बई घुमाउने कार्यक्रम

संसद् सचिवालयलाई जानकारी नगराई एक दर्जन सांसद भारत भ्रमणमा गएका छन् । भारतीय संसदीय व्यवस्था, अभ्यास र प्रणालीको अध्ययन तथा अवलोकनका लागि संसद्मा प्रतिनिधित्व गर्ने पाँच दलका १२ सांसद मंगलबार नयाँदिल्ली गएका हुन् । 

काठमाडौंस्थित भारतीय राजदूतावासको सहयोग र समन्वयमा स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपाल नामक गैरसरकारी संस्थाले सांसदहरूलाई भारत लगेको हो । भ्रमणबारे संघका अध्यक्ष अरविन्द महतोसँग सम्पर्क हुन सकेन । संघले यसअघि भारतीय राजदूतावाससँग समन्वय गरेर विविध कार्यक्रम गर्दै आएको थियो । 

भ्रमणमा कांग्रेसका प्रतिमा गौतम, मैना कार्की, सीता मिजार र शान्ति विक, एमालेका मेनुका पोखरेल, नारायण आचार्य, बलराम अधिकारी र फारुक अहमद सिराज सहभागी छन् । माओवादीका माधव सापकोटा र मीना तामाङ, रास्वपाका ढाकाकुमार श्रेष्ठ र एकीकृत समाजवादीबाट शेरबहादुर कुँवर नयाँदिल्ली पुगेका छन् । 

सांसदहरूको भ्रमणबारे संघीय संसद् सचिवालयलाई कुनै जानकारी छैन । ‘माननीयज्यूहरूको भारत भ्रमणबारे सचिवालयलाई औपचारिक जानकारी छैन,’ प्रवक्ता एकराम गिरी भन्छन्, ‘सभामुखज्यूसँग समन्वय भएको होला ।’ उनका अनुसार प्रतिनिधिसभा नियमावलीमा अनौपचारिक भ्रमणको जानकारी गराउने वा नगराउने स्पष्ट व्यवस्था नभएकाले यो सांसदको नैतिकता र स्वविवेकको विषय हो । 

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले भ्रमणबारे कुनै आधिकारिक जानकारी नभएको बताए । उनका अनुसार केही सांसदले भारत जाने भनेर मौखिक जानकारी गराएका छन् । सभामुखको निजी सचिवालयका अनुसार एमालेका सांसदले मात्रै ‘१४–२२ चैतसम्म भारतको दिल्ली र मुम्बई जानुपर्ने भएकाले अनुपस्थित रहने’ लिखित जानकारी सभामुखलाई गराएका छन् ।

एमाले सांसदले आफ्नो संसदीय दलको कार्यालयलाई समेत भ्रमणबारे जानकारी नगराएको खुलेको छ । भ्रमणबारे चर्चा भएपछि मंगलबार अपराह्न उपनेता सुवासचन्द्र नेम्वाङले सभामुखको निजी सचिवालयबाट लिखित जानकारीको पत्र मगाएका थिए । दलका प्रमुख सचेतक र सचेतकले पनि भ्रमणबारे अनभिज्ञता प्रकट गरेका छन् । 

भ्रमण टोलीमा सहभागी माओवादी सांसद सापकोटाले भारतीय संसदीय व्यवस्थाको अध्ययन, नीति निर्माणको प्रक्रिया, राजनीतिक तथा शिष्टाचार भेटवार्ता र केही पर्यटकीय स्थलको अवलोकन गर्ने कार्यक्रम रहेको बताए । भ्रमणबारे आफूले सभामुखलाई मौखिक जानकारी गराएको उनले दाबी गरे । 

सांसदहरूको भ्रमणबारे प्रतिनिधिसभा नियमावलीमा स्पष्ट व्यवस्था छैन । ‘माननीयज्यूहरूले विदेश भ्रमण गर्दा यस्तो गर्ने, उस्तो गर्ने भन्ने नियमावलीमा कतै केही छैन । कतिपय औपचारिक कार्यक्रममा सचिवालयले समन्वय गर्छ । अनौपचारिक कार्यक्रममा हाम्रो भूमिका हुँदैन । व्यक्तिगत भ्रमणको सचिवालयले केही गर्दैन । व्यक्तिले नै गर्नुपर्छ,’ प्रवक्ता गिरीले भने ।

सांसदहरूका अनुसार संसद्मा प्रतिनिधित्व गर्ने सबै दलबाट २५ जना भ्रमणमा सहभागी हुने जानकारी आयोजकले गराएकोमा १९ जना निश्चित भएका थिए । विभिन्न व्यस्तताका कारण अन्तिम समयमा १२ जना मात्रै भ्रमणमा सहभागी भएका हुन् । 

सांसदहरूबाट प्राप्त भ्रमण तालिकामा चार दिन दिल्लीमा बिताउने र पाँच दिन मुम्बईमा बिताएर काठमाडौं फर्किने कार्यक्रम छ । पहिलो दिन सांसदहरूले नीति आयोगका पदाधिकारीसँग छलफल तथा महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । दोस्रो दिन प्रधानमन्त्री म्युजियम, संसद् भवन, विवेकानन्द इन्टरनेसनल फाउन्डेसन, राष्ट्रिय जलविद्युत् निगम पुग्ने र पूर्वराजदूत मन्जिभ पुरीसँग भेट्ने कार्यक्रम छ । तेस्रो दिन भारतीय उद्योगी व्यवसायीसँग भेट्न कार्यतालिका छ । 

चौथो दिन विदेश मन्त्रालयका अधिकारी र भाजपाका विदेश विभागका प्रमुख विजय चौथाइवालेसँग भेट्ने, विश्व हिन्दू परिषद् मुख्यालय पुग्ने र मुम्बई प्रस्थान गर्ने तालिका छ । 

मुम्बईमा महाराष्ट्र राज्यका गर्भनर र मुख्यमन्त्रीसँग भेट गर्ने तथा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । त्यस्तै, विभिन्न मन्दिरको दर्शन तथा अवलोकन र बलिउड कलाकारलाई भेट्ने तालिका संस्थाले बनाएको छ । ५ अप्रिल अर्थात् २२ चैतमा सांसदहरू मुम्बईबाट काठमाडौं फर्किनेछन् ।