१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ चैत १४ मंगलबार २३:१२:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एपिएफलाई पन्छाउँदै चर्च ब्वाइज सेमिफाइनलमा

जगदम्बा जितपुर-सिमरा गोल्डकप

Read Time : > 1 मिनेट
२०७९ चैत १४ मंगलबार २३:१२:००

सशस्त्र प्रहरीको विभागीय टिम नेपाल एपिएफ क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइज यूनाइटेड जगदम्बा १३औँ जितपुर–सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा एपिएफले बनाएको सुरुवाती अग्रता उल्टाउँदै चर्च ब्वाइजले प्रतियोगिताको पहिलो सहभागितामै सेमिफाइनल यात्रा तय गर्यो । रोमाञ्चक जितसँगै उसले न्युरोड टिम एनआरटीसँगको सेमिफाइनल भेट पक्का गर्यो । फाइनल प्रवेशका लागि चर्च ब्वाइजले बिहीबार एनआरटीको सामना गर्नेछ ।

एपिएफका मिडफिल्डर सन्तोष श्रेष्ठले खेलको २३औँ मिनटमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए पनि एपिएफ सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरियो । श्याम नेपालीले डिबक्सभित्र उपलब्ध गराएको बल नियन्त्रणमा लिँदै सन्तोषले टिमलाई अग्रता दिलाएका थिए । सन्तोषको एयर बलले जाली चुम्दा चर्च ब्वाइजका अफ्रिकी गोलरक्षक प्रिसोले बचाउको प्रयाससम्म गर्न पाएनन् ।

चर्च ब्वाइजको जितमा मिडफिल्डरद्वय सन्तोष न्यौपाने र रञ्जित पाण्डेले एक–एक गोल गरे । खेलको ३१औँ मिनटमा चर्च ब्वाइजका सन्तोष न्यौपानेले टिमलाई खेलमा फर्काए । रञ्जित पाण्डेको क्रसबलमा हेडर एटेम्प गरेका सन्तोषको प्रहार एपिएफका डिफेन्डरको खुट्टामा डिफ्लेक्ट हुँदै गोलमा परिणत भयो । 

एपिएफसँगको बराबरीपछि आक्रामक बनेको चर्च ब्वाइज पहिलो हाफमै अग्रता बनाउन सफल भयो । खेलको ४३औं मिनटमा रञ्जित पाण्डेको उत्कृष्ट डाइविङ हेडरमार्फत चर्च ब्वाइजले अग्रता लिएको थियो । 

सुवास गुरुङको क्रसबलमा रञ्जितको स्मरणीय गोलपछि चर्च ब्वाइजका प्रशिक्षक प्रदीप हुमागाँई दङ्ग देखिए । दोस्रो हाफ गोलरहित बने पनि दुवै टिमले आकर्षक अवसरहरू सिर्जना गर्दा सिमरा रंगशालामा उपस्थित करिब सात हजार दर्शक आ–आफ्नो टिमको समर्थनमा हुटिङ गर्दै अन्तिमसम्म प्यारापिटमै बसे ।

खेलको एभरेष्ट बैंक म्यान अफ दि म्याच चर्च ब्वाइजका अफ्रिकी मिडफिल्डर ओउसो वेम्पा घोषित भए । एभरेष्ट बैंकका रिजनल हेड विभूति न्यौपाने र जितपुर–सिमराका वडाध्यक्ष इश्वर खत्रीले म्यान अफ दि म्याचको ट्रफि र दशहजार नगद प्रदान गरे ।

प्रतियोगिता अन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा हेटौँडाको मकवानपुर ११ ले ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पाको सामना गर्नेछ ।