मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत १३ सोमबार ०६:२२:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्री प्रचण्ड वैशाख पहिलो साता भारत जाँदै

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल भन्छिन् –प्रधानमन्त्रीको भारत भ्रमणका लागि आन्तरिक गृहकार्य भइरहेको छ

Read Time : > 2 मिनेट
२०७९ चैत १३ सोमबार ०६:२२:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख पहिलो साता भारतको राजकीय भ्रमण गर्ने गरी तयारी सुरु भएको छ । भारतीय विदेशसचिव विनयमोहन क्वात्राको नेपाल भ्रमणका वेला राष्ट्रपतिको निर्वाचनलगत्तै प्रधानमन्त्रीको भारत भ्रमण हुनेबारे छलफल भएको थियो । भ्रमणबारे परराष्ट्र मन्त्रालयले सरोकारवाला मन्त्रालयहरूसँग राय मागेको छ । 

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्रीको भारत भ्रमणका लागि आन्तरिक गृहकार्य भइरहेको बताइन् । प्रधानमन्त्रीले भारतमा उठाउनुपर्ने एजेन्डाबारे सरोकारवाला मन्त्रालयहरूसँग परराष्ट्रले समन्वय थालेको छ । बालुवाटार स्रोतले पनि भ्रमणको तयारी भइरहेको जनाएको छ । ‘मन्त्रिपरिषद् विस्तारपछि भारतबाट निमन्त्रणाको औपचारिकता आउँछ भन्ने छ । भ्रमणका लागि तयारी सुरु भइसकेको छ,’ स्रोतले भन्यो, ‘वैशाख पहिलो साता भारत भ्रमण गर्ने गरी तयारी भइरहेको छ । दुवैतिर समन्वय गरेर मिति तय गर्ने र भारतबाट त्यहीअनुसार निमन्त्रणापत्र पठाउने भन्ने छ ।’ 

प्रधानमन्त्री प्रचण्डले पनि भारत भ्रमणमा जाने सार्वजनिक गरिसकेका छन् । प्रधानमन्त्री भएलगत्तै प्रचण्डलाई भारतीय विदेशसचिव क्वात्राले टेलिफोन गरेर बधाई दिँदै भारत भ्रमणका लागि भारत सरकारका तर्फबाट प्रस्ताव गरेका थिए । त्यसपछि प्रचण्डले एउटा भारतीय टेलिभिजनमा र बालुवाटारमा सम्पादकहरूसँगको भेटमा पहिलो विदेश भ्रमण भारतमा हुने बताएका थिए । 

प्रधानमन्त्री प्रचण्डलाई भारतीय समकक्षी मोदीले पठाएको बधाई सन्देश १५ पुसमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बालुवाटार पुगेर हस्तान्तरण गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ जेठ ०७९ मा लुम्बिनी भ्रमणमा आउँदा उनले निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणको निमन्त्रणा दिएका थिए । त्यसअनुसार कूटनीतिक भाषामा भारतबाट प्रधानमन्त्रीको भ्रमणका लागि निमन्त्रणा भइसकेको छ । ‘वास्तवमा दुई पक्षको आपसी अनुकूलता हुने गरी मिति तोक्ने मात्रै काम बाँकी हो । नेपालका प्रधानमन्त्रीलाई भारतका प्रधानमन्त्रीका तर्फबाट निमन्त्रणा त्यसवेलै आएको हो । तर, औपचारिकताका लागि फेरि पनि निमन्त्रणा आउँछ, गृहकार्य गर्न त्यसले बाधा पुग्दैन भन्ने हाम्रो बुझाइ हो,’ स्रोतले भन्यो । 

प्रचण्डले ३१ असारमा माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीको हैसियतमा भारतको औपचारिक भ्रमण गरेका थिए । भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा गएका उनले नड्डासँगै भारतीय विदेशमन्त्री डा. एस. जयशंकर, भारतीय विदेशसचिव विनयमोहन क्वात्रालगायतका अधिकारीसँग भेटवार्ता गरेका थिए । 

बोआओ फोरममा राजदूत जाने
अर्को छिमेकी चीनले बोआओ फोरम फर एसिया सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा पठाएको थियो । तर, प्रचण्डको आन्तरिक राजनीतिक व्यस्तता तथा सम्मेलनपछि बेइजिङमा चिनियाँ शीर्ष नेताहरूसँग औपचारिक वार्ता गर्ने अनुकूलता नभएपछि भ्रमण नै तय भएन । सरकारले प्रधानमन्त्रीको भ्रमण हुन नसक्ने जानकारी चीनलाई दिइसकेको छ । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्रीको चीन भ्रमण तय नै नभएको बताए । ‘प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा थियो । तर, भ्रमण तय भएन । कार्यक्रममा म सहभागी हुन जाँदै छु,’ श्रेष्ठले बेइजिङबाट टेलिफोनमा भने ।

वर्ल्ड डेमोक्रेसी समिटमा सहभागी हुने
अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा लोकतन्त्रका लागि विश्व सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने भएका छन् । १५ र १६ चैतमा भर्चुअल माध्यमबाट हुने सम्मेलनलाई प्रचण्डले १६ चैतमा सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा अमेरिकाको नजरमा लोकतान्त्रिक देखिएका विभिन्न मुलुकका कार्यकारी प्रमुख सहभागी हुने ह्वाइटहाउसको वेबसाइटमा उल्लेख छ । 

यसपटक सम्मेलनको आयोजक अमेरिका तथा कोस्टारिका, नेदरल्यान्ड, दक्षिण कोरिया र जाम्बिया रहेका छन् । अमेरिकाले तीन मुलुकलाई सहआयोजक बनाएर सम्मेलन आयोजना गर्न लागेको हो । युएसएडकी प्रशासक समान्था 
पावरले नेपालमा लोकतन्त्र सुदृढ हुँदै गएको बताएकी थिइन् । अघिल्लोपटक २३ मंसिर ०७८ मा बाइडेनले पहिलोपटक आयोजना गरेको सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए । कूटनीतिक स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा सहभागी हुने प्रतिबद्धता जनाएका छन् । गत नोभेम्बरमा अमेरिकासहित चार मुलुकले चैतमा सम्मेलन गर्ने घोषणा गरेका थिए । 

‘लोकतन्त्रका लागि दोस्रो शिखर 
सम्मेलनले विश्व नेताहरूलाई भर्चुअल रूपमा भेला गर्नेछ,’ ह्वाइटहाउसको प्रेस विज्ञप्तिमा छ, ‘सम्मेलनको आयोजनाले लोकतान्त्रिक मूल्यहरूमा आधारित सुरक्षित र निष्पक्ष संसार साझा आकांक्षा र साझा जिम्मेवारी दुवै हो भन्ने सत्यलाई अझ बलियो बनाउनेछ ।’