
पशुुपालक किसानलाई पानी संकलन गर्न सहजता होस् भन्ने उद्देश्यले मन्थली नगरपालिका १ नं वडा कार्यालयले १५ किसानलाई खानेपानी ट्यांकी वितरण गरेको छ।
चालू आर्थिक वर्षको बजेटबाट खरिद गरिएका एक हजार लिटरका १६ वटा खानेपानी ट्यांकी वडा कार्यालयमा दर्ता भई सञ्चालन भएका १५ वटा गाई फार्म र एउटा शिव मन्दिरलाई वितरण गरिएको वडा कार्यालयले जनाएको छ। किसानले खानेपानीको समस्या हुँदा पशुुचौपाया पाल्न समस्या भएको भन्दै वडा कार्यालयमा माग गरेअनुसार उक्त ट्यांकी वितरण गरिएको हो।
किसानहरूलाई उक्त ट्यांकी मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र वडा नं १ का अध्यक्ष रामहरी पौडेलले एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन्। ट्यांकी वितरण गर्दै प्रमुख श्रेष्ठले वडा कार्यालयले किसानको मागलाई सम्बोधन हुने गरी सह्रानीय काम गरेको बताए।
यसैगरी, मन्थली नगरपालिकाले चालू आर्थिक वर्षमा वडाभित्रका १० महिला स्वास्थ्य स्वयंसेविकालाई झोला वितरण गरेको छ। त्यस्तै, बाख्रा फार्म सञ्चालन गर्दै आएका किसानलाई बोका खसी पार्न सहज होस् भन्ने उद्देश्यले एक थान क्यास्टो मेसिन वितरण गरेको छ।