मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ चैत ९ बिहीबार १३:४१:००
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

हाेनहार खेलाडी जन्माएकाे कञ्चनपुरमा अलपत्र ‘रंगशाला’

बनेका केही संरचना प्रयोगविहीन 

Read Time : > 2 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ चैत ९ बिहीबार १३:४१:००

२ चैत त्रिवि क्रिकेट मैदानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीका तर्फबाट कञ्चनपुरका स्थानीय दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा र भीम सार्की विश्वकप किक्रेट प्रतियोगितामा पुग्न सफल भए। 

आगामी वर्ष जिम्बावेमा हुने विश्वकप क्रिकेट प्रतियोगितामा पुग्न सफल भएका कञ्चनपुरका तीन खेलाडीसहित अन्य खेलाडी जन्माउने कञ्चनपुरमा क्रिकेट विकास कार्य अघि बढ्न नसकेको छैन। क्रिकेटको उर्वरभूमि कञ्चनपुरमा रंगशाला निर्माण कार्य अलपत्र परेको छ।

भीमदत्त नगरपालिका– ४ कञ्चनपुर कभर्डहलमा क्रिकेट रंगशाला निर्माणकार्य अलपत्र परेको हो। तीन वर्षअघि राष्ट्रिय खेलकुद परिषदले क्रिकेट रंगशाला निर्माणका लागि एक करोड बजेट दिएको थियो। 

आर्थिक वर्ष ०७७-७८ मा संघ सरकारबाट आएको एक करोड बजेटमा क्रिकेट मैदान निर्माणका लागि माटो भरान र दुईकोठे भवन निर्माण गरिएको थियो। माटो भरान गरिएको मैदानसमेत उचित व्यवस्थापन भएको छैन भने निर्माण भएको भवन भुतबंगलाजस्तै भएको छ। भएका झ्याल, ढोकासमेत केही छैनन्। पानीट्यांकीसमेत छैन। 

त्यसअघि नै खेलकुदको जमिनमा ६ वटा पोखरी निर्माण गरिएका थिए। तत्कालीन खेलकुद विकास समितिले खेल प्रयोजनभन्दा बाहिर व्यवसायीलाई माछापालनका लागि जमिन ठेक्का दिएको थियो। झन्डै चार बिघा क्षेत्रफलमा निर्माण भएका ६ पोखरीको सम्झौता ०६८ मा सुरु भई ०७१ मा खारेजी गरिएको कार्यालय प्रमुख गोपालदत्त भट्टले बताए। 

खेलकुद मैदान बन्नुपर्नेमा पोखरी निर्माण भएपछि सर्वत्र विरोध भएको थियो । आर्थिक वर्ष ०६५-६६ सालतिर ६ पोखरी निर्माण भएका थिए। १५ बिघा, ६ कट्ठा ६ धुर रहेको खेलकुदको जमिनमा केही खेलकुदका संरचना निर्माण र एक ग्राउन्डसहित बाँकी खाली जमिन छ। 

तत्कालीन खेलकुद विकास समितिले खेलकुदको जमिनमा माछा पाल्नका लागि व्यवसायीलाई जमिन भाडामा दिएको थियो। उक्त जमिन खाडल भएकाले क्रिकेट मैदान निर्माणका लागि माटो भरान गरिएको थियो। 

महरा निर्माण सेवा कम्पनीले एक करोडमध्ये केही भवन र माटो भरान गरेको कञ्चनपुर जिल्ला खेलकुद समितिले जनाएको छ। 

कञ्चनपुर जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख भट्टले आर्थिक वर्ष ०७७–७८मा एक करोड बजेटमा माटो भरान र चेन्जिङ भवन निर्माण गरिएको बताउँदै त्यसपछि बजेट नआएकाले क्रिकेट मैदान निर्माण कार्य अघि नबढेको बताए। 

‘अन्तर्राष्ट्रिय मापदण्डअनुरूप क्रिकेट मैदान निर्माण हुन्छ,’ उनले भने, ‘त्यसपछिका दुई वर्षमा बजेट नै आएन।’

तत्कालीन अवस्थामा राष्ट्रिय खेलकुद परिष्दले सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समितिमार्फत अघि सारेको योजनालाई अगाडि बढाउन नसकेको उनले बताए। 

‘चालू आर्थिक वर्ष ०७९–८०मा प्यारापिट निर्माणका लागि एक करोड बजेट केन्द्रले विनियोजन गरेको छ,’ उनले भने, ‘उता सरकार गठन नहुँदा कार्यान्वयनमा ढिलाइ भइरहेको छ।’ 

कञ्चनपुरमा झन्डै १८ खेलकुदका विधा रहेको बताउँदै कार्यालय प्रमुखले कतिपयमा प्रशिक्षकसमेत नभएको बताए।सुदूरपश्चिम प्रदेश सरकारले समेत कञ्चनपुरमा बहुउद्देश्यीय कभर्डहल निर्माणको योजना अघि सारेको छ। सामाजिक विकास मन्त्रालयमार्फत चालू आर्थिक वर्षमा आठ करोड बजेट विनियोजन गरिएको छ। 

‘बहुउद्देश्यीय कभर्डहल निर्माणलाई गुरुयोजनामार्फत अघि बढाउने प्रदेश सरकारको तयारी छ,’ उनले भने, ‘झन्डै २३ करोड लागतमा निर्माण हुने बहुउद्देश्यीय कभर्डहल निर्माण कार्य चालू वर्षदेखि सुरु होला जस्तो छ।’ 

उनले कञ्चनपुरका क्रिकेट खेलाडीले अभावबीच अभ्यास गरिरहेको बताए। किक्रेट खेलाडी आयु चन्दले कोच, चेन्जिङ भवन, शौचालाय, खानेपानी, नेट, तार र जालीकाे अभावबीच अभ्यास गरिरहेको दुःखेसो पोखे। 

अर्का खेलाडी सचिन मल्लले स्रोतसाधन अभावबीच अभ्यास गरिरहेको बताए। क्रिकेट संघका अध्यक्ष वीरेन्द्र चन्दले क्रिकेट खेलाडीकाे क्षमता विकासका लागि तत्काल रंगशाला निर्माणको काम अघि पढ्न जरुरी रहेको औँल्याए।