१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format o८:२१:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कांग्रेसका सांसद अनुपस्थित भएपछि बागमती प्रदेश सभा बैठक स्थगित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:२१:oo

मुख्यमन्त्री जम्कट्टेलले शुक्रबार विश्वासको मत लिने, प्रदेश सभामा आफ्ना धारणा राखेर एमाले मन्त्रीले राजीनामा दिने

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार बोलाइएको प्रदेश सभा बैठक स्थगित भएको छ । कांग्रेसका सांसदहरू अनुपस्थित भएपछि बुधबार ३ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक स्थगित भएको हो । बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची थियो ।

प्रदेश सभा बैठक सञ्चालनका विषयमा प्रमुख दलहरूबीच नै सहमति हुन नसकेपछि मुख्यमन्त्री जम्कट्टेलले १० चैतमा विश्वासको मत लिने व्यहोराको पत्र प्रदेश सभा सचिवालयमा पठाएका छन् । त्यसपछि सूचना टाँस गरेर प्रदेश सभा बैठक स्थगित भएको थियो । प्रदेश सभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री जम्कट्टेलले १३ चैतसम्म विश्वासको मत लिनुपर्नेछ ।

कांग्रेसका सांसदहरू उपस्थित नहुँदा बुधबारको प्रदेश सभा बैठक प्रभावित भयो । बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गर्ने र छलफल अघि बढाउने कार्यसूची थियो । तर, कांग्रेसले त्यसअघि गठबन्धन दलहरूबीच सरकार सञ्चालनका विषयमा न्यूनतम समझदारी बन्नुपर्ने प्रस्ताव गरेको थियो । कांग्रेसले विश्वासको मतअघि नै गठबन्धन दलहरूबीच सरकार सञ्चालनका विषयमा प्याकेजमा सहमति हुनुपर्ने अडान लिएको छ । तर, मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतपछि पनि भागबन्डाका विषयमा छलफल गर्न सकिने बताउँदै आएका छन् ।

काठमाडौंमै रहेका कांग्रेसका सांसदहरूले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेका छन् । कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले मुख्यमन्त्रीलाई विश्वासका मत दिए पनि सरकार सञ्चालनबारे गठबन्धन दलहरूबीच सहमति हुनुपर्ने बताए । ‘कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छ, यसमा कुनै समस्या छैन । आन्तरिक छलफल गर्नुपर्ने भएकाले बुधबारको बैठकमा उपस्थित हुन सकेनौँ । हामीले मुख्यमन्त्रीलाई विश्वासको मत लिने कार्यक्रम केही पर सारौँ भनेर पहिल्यै भनेका थियौँ,’ उनले भने । सरकारबारे गठबन्धन दलको सहमतिअनुसार अघि बढ्नुपर्ने लामाले बताए ।

माओवादीसँगको गठबन्धनबाट बाहिरिसकेको एमाले अझै पनि प्रदेश सरकारमै सहभागी छ । एमालेले प्रदेश सभा बैठकमा आफ्नो कुरा राखेर मात्रै सरकारबाट बाहिरिने जनाएको छ । एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको बैठकले सरकार छोड्नुअघि आफ्ना धारणा संसद् बैठकमा राखेर मात्रै बाहिरिने निर्णय गरेको छ । बागमती प्रदेश एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आफूहरूले बनाएको सरकारबाट त्यतिकै नबाहिरिने बताए । ‘प्रदेश सभा बैठक जहिले बोलाउँछन्, त्यही वेला हामी आफ्ना कुरा राखेर राजीनामा दिन्छौँ । जम्कट्टेलजीलाई हामीले मुख्यमन्त्री बनाएका हौँ । उहाँको सरकारबाट बाहिरिनुअघि हामीले आफ्ना कुरा राख्न पाउनुपर्छ,’ उनले भने । एमाले बागमती प्रदेशका प्रमुख सचेतक मधुसूदन पौडेलले एमालेले सरकार छोड्नुअघि आफ्ना धारणा संसद् बैठकमा राख्न चाहेको बताए । त्यसपछि विश्वासको मतको विपक्षमा मतदान गर्ने उनको भनाइ छ ।