मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत ४ शनिबार १३:५१:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

घलेगाउँमा १ वैशाखदेखि आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता हुने

Read Time : > 1 मिनेट
२०७९ चैत ४ शनिबार १३:५१:००

समुद्री सतहबाट दुई हजार एक सय मिटर उचाइमा रहेको लमजुङको स्मार्ट भिलेज घलेगाउँमा वैशाख १ देखि ‘स्मार्ट भिलेज आमन्त्रित छैटौँ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ ।

बेँसीसहरमा पत्रकार भेटघाटको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराइएको हो । घलेगाउँमा विगतका वर्षहरूमा खुला फुटबल प्रतियोगिता आयोजना गर्दै आएकोमा पहिलोपटक आमन्त्रित फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

उनका अनुसार घलेगाउँस्थित नाइन ‘ए’ साइडको स्वर्गभूमि रंगाशालामा हुने प्रतियोगितामा आमन्त्रण गरिएका खेलाडीलाई खाना र वासको निःशुल्क व्यवस्था गरिनेछ । प्रतियोगितामा जिल्लाभित्रका ४ वटा र जिल्लाबाहिरका ६ वटा गरी १० क्लबहरूलाई आमन्त्रण गरिएको छ । प्रतियोगितामा ‘ए’ डिभिजन खेल्ने फुटबल खेलाडीसमेत सहभागी हुनेछन् ।

क्व्होलासोंथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले ग्रामीण भेगमा आयोजना हुने फुटबल प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने बताए । उनले भने, ‘प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा घलेगाउँसँगै सिंगाे गाउँपालिकाको प्रचारप्रसारमा टेवा पुग्नेछ ।’ प्रतियोगिताको पहिलो पुरस्कारको प्रायोजन पर्यटन समिति आफैँले गर्ने र दोस्रो पुरस्कारको प्रायोजन क्व्होलासोंथर गाउँपालिका वडा नम्बर ३ ले गर्ने वडाध्यक्ष आसवीर गुरुङले बताए ।

आमन्त्रित स्मार्ट भिलेज गोल्डकप फुटबल प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ लाख ५ सय ५५ रुपैयाँ, गोल्डकप र मेडल प्रदान गरिनेछ ।  द्वितीय हुनेलाई नगद ३ लाख ३ सय ५५ रुपैयाँ, कप र मेडल तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई नगद १०-१० हजार रुपैयाँ र मेडल प्रदान गरिनेछ । प्रतियोगितामा जिल्लाबाहिरका टिममा कास्की ११, नेपाल भानु युनाइटेड तनहुँ, सशस्त्र प्रहरी क्लब (एपिएफ) काठमाडौं, समाजकल्याण खेलकुद केन्द्र काठमाडौं, गोरखा ब्वाइज बुटवल र (रड्स) रामपुर चितवन सहभागी हुनेछन् ।

यस्तै, लमजुङका क्लबमा त्रिवेणी युवा क्लब बेँसीसहर, बुद्ध युथ क्लब भोटेओडार, लालीगुराँस युवा क्लब भुजुङ र बेँसीसहर युथ सोसाइटी शेरा रहेका छन् ।