मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत ३ शुक्रबार ११:२४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मन-मस्तिष्कको उपचारका लागि साइकोथेरापी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत ३ शुक्रबार ११:२४:००

चिन्ता र डर मानिसको भावनासँग जोडिएको सामान्य प्रक्रिया हो । मनोवैज्ञानिक पक्षको विकासमा प्रभाव पार्ने आन्तरिक वा बाह्य पक्षले सधैँ सकारात्मक प्रभाव मात्रै पार्दैनन्, कहिलेकाहीँ नकारात्मक प्रभाव पनि पार्दछन् । जागिर छुट्दा, परिवारको खराब स्वास्थ्य अवस्था र अन्य कारणले मानिस चिन्तामा पर्ने गर्छ । नकारात्मक प्रभावलाई हामी मनोवैज्ञानिक समस्या अथवा मनोरोग भनेर पहिचान गर्ने गर्दछौँ । तर, चिन्ताको विषयलाई आफूमा हावी हुन पनि दिनुहुँदैन । नत्र यसले गम्भीर समस्या निम्त्याउन सक्छ । मनोरोगमा विभिन्न प्रकारको उपचार विधिको प्रयोग गरिन्छ । यसका लागि साइकोथेरापी एक प्रभावकारी विधि हो । 

कुन अवस्थामा साइकोथेरापी गर्ने ?
विशेषगरी, एन्जाइटी, डिप्रेसनलगायत विभिन्न किसिमको कुलतमा फसेकाहरूका लागि साइकोथेरापी प्रयोग हुन्छ । गम्भीर मानसिक रोगमा पनि प्रयोग गर्न सकिन्छ । यसबाहेक अरू मनोसामाजिक समस्यामा जस्तै सम्बन्ध बिग्रेको, नकारात्मक सोच, निरन्तर असफलताले निम्त्याउने परिस्थिति, दाम्पत्य जीवनका समस्या, महिला र पुरुषमा देखिने मनोभावनासँग सम्बन्धित समस्यामा पनि साइकोथेरापी उपयुक्त हुन्छ ।

के हुन्छ फाइदा ?
साइकोथेरापी एक व्यक्ति र मनोपरामर्शदाताबीचको सम्बन्धमा आधारित एक सहयोगी उपचार हो । संवादमा आधारित चिकित्सा भए तापनि यसमा परामर्शदाताले सधैँ तटस्थ रहेर सुन्ने गर्नुपर्छ । यो सल्लाह दिने विधि मात्र नभएर यसमा बिरामीको विचार र व्यवहार ढाँचा पहिचान गर्ने र परिवर्तन गर्न विभिन्न विधिमार्फत सिकाउने गरिन्छ । 

साइकोथेरापी सबै उमेरसमूहका लागि उपयुक्त हुन्छ । यो मानसिक रोगमा मात्र नभएर हाम्रो जीवनको गुणस्तर अभिवृद्धि गर्न पनि प्रयोग हुन्छ । साइकोथेरापीले व्यक्तिको जीवनको गुणस्तरमा धेरै सुधार गर्न सक्छ । मानिसहरू आफ्नो दैनिक गतिविधिमा राम्रोसँग काम गर्न सक्षम हुन्छन् । यो विधिले विभिन्न मानसिक आघात कम गर्न, विभिन्न मनोसामाजिक समस्याको निराकरण गर्ने सीप बढाउन सहयोग गर्छ । 

यसरी उपचार सम्भव 
संसारभर विभिन्न किसिमका साइकोथेरापीका विधि प्रचलित छन् । नेपालमा पनि संज्ञानात्मक व्यवहार थेरापी, फेमेली थेरापी, आर्ट थेरापीजस्ता विधिको प्रयोग हुन्छ । रोगअनुसार कुन थेरापी उपयुक्त हुन्छ भन्ने कुरा मनोचिकित्सकसँग सल्लाह लिएर छनोट गर्न पनि सकिन्छ । साइकोथेरापीलाई औषधिसँगै एकीकृत रूपमा प्रयोग गर्दा यसको प्रभावकारिता अझ बढ्ने गर्छ । यसलाई आयुर्वेद, अकुपंचरजस्ता वैकल्पिक विधिसँग पनि प्रयोग गर्न सकिन्छ । 

यसले हाम्रो मनोविज्ञानको निर्माण र विकासमा ठूलो भूमिका खेल्छ । पश्चिमी देशमा हुर्किएको कुनै व्यक्ति र पूर्वीय देशमा हुर्किएको व्यक्तिका सोच, धारणा र ग्रहण क्षमता नितान्त फरक हुन सक्छन् । कहिलेकाहीँ पश्चिमी देशका निम्ति उपयुक्त साइकोथेरापी हाम्रा लागि उपयुक्त नहुन सक्छ । तसर्थ, हाम्रो परिवेशसुहाउँदा साइकोथेरापीको उपयुक्त प्रयोगले धेरै मनोरोगीको उपचारमा सहयोग गर्छ । साइकोथेरापीका माध्यमबाट रोग नियन्त्रण गर्न सकिन्छ । 

कसरी गरिन्छ साइकोथेरापी ?
साइकोथेरापीमा सुरुमा परामर्शदाताले तपाईंको समस्यालाई गहिराइसम्ममा बुझ्ने गर्छन् । त्यसका आधारमा तपाईंको विचार, भावना, व्यवहारमा आएका परिवर्तनसम्बन्धी उपयुक्त परीक्षण गर्छन् । त्यसपश्चात् तपाईंलाई उपयुक्त हुने विधिको छनोट हुन्छ । आवश्यकताअनुसार मनोपरमर्शदाताले गृहकार्य पनि दिन सक्छन् । साइकोथेरापीको एउटा सेसन सामान्यतः ४० देखि ६० मिनेटको हुने गर्छ ।