मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
२०७९ चैत ३ शुक्रबार ०६:५१:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भित्र र बाहिर दर्शक खचाखच

Read Time : > 1 मिनेट
२०७९ चैत ३ शुक्रबार ०६:५१:००

अनुमान गरेको जस्तै त्रिवि क्रिकेट मैदानमा नेपाल र युएईबीचको निर्णायक खेल हेर्न हजारौँ दर्शक ओइरिए । युएईलाई हराउँदै विश्वकप ग्लोबल छनोट पुग्ने नेपाली खेलाडीलाई बधाई दिन र हौस्याउन काठमाडौं उपत्यकाबाहिरबाट पनि आएका दर्शक त्रिवि मैदान पुगे । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार त्रिवि मैदानभित्र १२ हजार दर्शकले रोमाञ्चक खेलको आनन्द उठाए । क्यानले दिएको डाटाभन्दा त्यत्तिकै संख्यामा दर्शक बाहिर थिए । भित्र प्रवेश गर्न नपाएका दर्शक बाहिर उभिँदै खेल हेर्न बाध्य भए । 

क्यानले एक दिनअघि नै नेपाल र युएईबीचको खेल टिकट सोल्डआउट भइसकेको जानकारी दिएको थियो । दर्शकलाई संयमित भएर मैदानमा आउन क्यानले अनुरोध गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत प्रतिस्पर्धा हेर्न आउने भनेपछि त्रिवि मैदानको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । 

सुरक्षाको कारण देखाउँदै सुरक्षाकर्मीले रोकेपछि टिकट किनेका दर्शकसमेत भित्र प्रवेश गर्न पाएनन् । दर्शकको भिड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई समेत हम्मेहम्मे परेको थियो । टिकट हातमा भए पनि भित्र जान नपाउँदा दर्शक रिसले चुर थिए । सुरक्षाकर्मीलाई छिचोल्दै दर्शक पटक–पटक भित्र प्रवेश गर्न कोसिस गरिरहेका थिए । 

टिकट नपाएका दर्शक रूखको कमजोर हाँगामा ज्यान जोखिममा राख्दै नेपाली खेलाडीको समर्थन गरिरहेका देखिन्थे । नौ घन्टा रूखमा बसेर सयौँ दर्शकले खेलको आनन्द उठाएका थिए । नेपालले लिएको प्रत्येक विकेट तथा रनमा हजारौँ दर्शक एकै स्वरमा ‘नेपाल, नेपाल’ भनिरहेका थिए । हजारौँ दर्शकको उपस्थितिमा नेपाल र युएईका खेलाडीसमेत दबाबमा देखिन्थे ।

 खेलाडीलाई हौसला प्रदान गर्न पञ्चेबाजा, नेपाली राष्ट्रिय झन्डा, विकेट, चार र ६ रन लेखिएको प्लेकार्डसहित मैदान परिसरमा दर्शक थिए । युएईविरुद्ध नेपालले लिएको प्रत्येक विकेट र नो रनमा दर्शक खुसीले उफ्रिरहेका थिए । ब्याटिङका क्रममा नेपाललाई दर्शकले चौका र छक्काभन्दै हौस्याइरहे । डकवर्थ लेविस नियमअनुसार नेपाल नौ विकेटले विजयी भएपछि दर्शकको खुसीको सिमाना नै रहेन । लगातार नौ घन्टासम्म स्वरै सुक्ने गरी चिच्याइरहेका दर्शक अन्तिममा नेपाल विजयी भएको सुखद नतिजासँगै घर फर्के । 

राष्ट्रपतिदेखि प्रधानमन्त्रीले दिए बधाई
राष्ट्रपति रामचन्द्र पौडेलले एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुगेका नेपाली टोलीलाई बधाई दिएका छन् । राष्ट्रपति पौडेलले एकदिवसीय विश्वकप छनोट खेल खेल्न पाउने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार राष्ट्रपति पौडेलले राम्रो खेल प्रदर्शन गरेकोमा युएईको क्रिकेट टोलीको पनि उनले प्रशंसा गरेका छन् । यसैबीच, नेपाली क्रिकेट टोलीलाई हौस्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार बिहानै मैदानमा पुगेका थिए । क्यानले व्यवस्था गरेको भिभिआइपी बक्समा बस्दै दाहालले नेपाल र युएईबीच खेल हेरेका थिए । युएईको पहिलो ब्याटिङपछि उनी फर्किए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार नेपाल र युएईबीचको खेल हेर्दै

नेपालले जित हात पारेपछि प्रधानमन्त्री दाहालले बधाई दिएका छन् । ‘आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकामा हार्दिक खुसी व्यक्त गर्दछु, लिगका खेलहरूमा उच्च कौशल प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकामा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई हार्दिक बधाई !’ उनले भने । 

त्यस्तै, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि युएईलाई हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेकोमा बधाई दिएका छन् । यसैगरी, पूर्वप्रधानमन्त्री केपी ओलीले पनि नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।