१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रमेश सुवेदी काठमाडाैं
२०७९ चैत ३ शुक्रबार ०६:२३:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विश्वकप यात्रामा नेपाल

Read Time : > 4 मिनेट
रमेश सुवेदी, काठमाडाैं
२०७९ चैत ३ शुक्रबार ०६:२३:००

एकदिवसीय क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, अब १८ जुनदेखि जिम्बावेमा हुने विश्वकप छनोटमा टेस्ट राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्ने 

एकदिवसीय क्रिकेटमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको छ । आइसिसी विश्वकप क्रिकेट लिग– २ को अन्तिम खेलमा बिहीबार युएईलाई ९ रनले पराजित गर्दै नेपाल विश्वकप छनोट चरणमा प्रवेश गरेको हो ।

४४ ओभरको खेल सकिँदा ‘ब्याड लाइट’का कारण खेल रोकिएपछि डिएलएस मेथडअनुसार नेपालले युएईमाथि नौ रनले जित हात पारेको हो । यो जितसँगै नेपाल नामिबियालाई पछि पार्दै लिग– २ को तेस्रो स्थानमा उक्लिएको छ । नेपालले लिगका ३६ खेलबाट ४० अंक जोडेको छ । सन् २०१९ देखि सुरु भएको लिग– २ मा ५० अंकसहित स्कटल्यान्ड पहिलो र ४४ अंकसहित ओमान दोस्रो स्थानमा छन् । अब नेपालले आगामी १८ जुनदेखि ९ जुलाईसम्म जिम्बावेमा हुने विश्वकप क्वालिफायर  खेल्नेछ । 

आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा बिहीबार सम्पन्न अन्तिम खेलमा युएईलाई पराजित गरेसँगै एकदिवसीय विश्वकप क्वालिफायरमा पुगेपछि खुसियाली मनाउँदै नेपाली टोली । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

पछिल्ला तीन सिरिजमा नेपालको उत्कृष्ट प्रदर्शन रह्यो । नेपालले घरेलु मैदानमा लगातार दोस्रोपटक सिरिज ‘क्लिनस्विप’ गर्‍यो । यसअघि गत फागुनमा नेपालले स्कटल्यान्ड र नामिबियाविरुद्धको सिरिज ‘क्लिनस्विप’ गरेको थियो । पछिल्ला तीन सिरिजमा खेलिएका १२ खेलमध्ये नेपालले ११ मा जित निकाल्यो ।

जितपछि नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले सबै खेलाडीले आआफ्नो भूमिका निभाउँदा यो नतिजा आएको प्रतिक्रिया दिए । ‘सबै खेलाडीले आ–आफ्नो भूमिका निर्वाह गरेकाले हामी बलियो भयौँ र ठूलो जित निकाल्न सफल भयौँ,’ उनले भने । 

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले चुनौतीपूर्ण उपलब्धि हासिल गरेको बताए । ‘विश्वकप छनोट खेल्ने सपना थियो । चुनौतीपूर्ण त्यो सपना पूरा भएको छ । यसका लागि सबै खेलाडीले मिहिनेत गरेका छौँ,’ उनले भने, ‘सुरुमा हाम्रो लक्ष्य एकदिवसीय मान्यता जोगाउने थियो । त्यसलाई पूर गर्दै विश्वकप क्वालिफायरमा स्थान सुरक्षित गरेका छौँ । यो सबैको विश्वासको कारण सम्भव भएको हो ।’

हामीसँग विश्वकप खेल्ने योजना छ  : मोन्टी देसाई, प्रशिक्षक, नेपाल
टोलीमा सबैको एउटै सोचाइ भएको छ । पछिल्लो समय सबै खेलाडीले आफ्नो भूमिका उत्कृष्ट रूपमा निर्वाह गर्दै आएका छन् । त्यसैले हामी बलियो हुँदै आएका छौँ । युएई बलियो टिम हो । त्यति ठूलो लक्ष्य पूरा गरेर खेलाडीले क्षमता प्रदर्शन गरेका छन् । त्यसो त जितका लागि हामी मानसिक रूपमा पहिल्यै तयार थियौँ । खेलाडीमा विश्वास गर्नुपर्ने हुन्छ । हामीसँग विश्वकप खेल्ने योजना छ । त्यसअघि केही छिमेकी देशले सहयोग गरे हामीलाई सहज हुनेछ । 

विश्वकप छनोट खेल्ने सपना पूरा भएको छ  : रोहितकुमार पौडेल, कप्तान, नेपाल
विश्वकप छनोट खेल्ने सपना थियो । आजको जितले त्यो सम्भव भएको छ । यो नतिजा सबै खेलाडीको मिहिनेत हो । सुरुमा हामीलाई एकदिवसीय मान्यता जोगाउने चुनौती थियो । त्यसलाई पूरा गर्‍यौँ, एक दिवसीय मान्यता कायम राख्यौँ । लिग–२ का सबै खेलमा टिमको उत्कृष्ट प्रदर्शन रह्यो । पछिल्ला १२ मध्ये ११ खेलमा जित हात पार्‍यौँ । टिमको विश्वासले यो सम्भव भयो । अब जिम्बावेमा हुने विश्वकप क्वालिफायरमा सहभागी हुन्छौँ, त्यहाँ पनि हामीले राम्रो खेल्नुपर्छ । त्यहाँ टेस्ट मान्यता प्राप्त बलिया राष्ट्रसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

नेपालको उपलब्धि

  • सन् २०१० विश्व डिभिजन–५ विजेता
  • सन् २०१२ आइसिसी विश्व डिभिजन–४ विजेता
  • सन् २०१२ एसिसी ट्रफी च्याम्पियन 
  • सन् २०१३ आइसिसी विश्व डिभिजन–३ विजेता 
  • सन् २०१३ विश्वकप छनोट (डिभिजन २ बाट) 
  • सन् २०१३ टी–२० विश्वकप छनोट
  • सन् २०१४ टी–२० विश्वकपमा सहभागी
  • सन् २०१४ विश्वकप छनोटमा नवौँ स्थान
  • सन् २०१५ एसिसी टी–२० कपमा सहभागी 
  • सन् २०१८ एकदिवसीय मान्यता प्राप्त
  • सन् २०१८ आइसिसी विश्वकप छनोटमा आठौँ स्थान
  • सन् २०२३ एकदिवसीय मान्यता पुनः प्राप्त
  • सन् २०२३ आइसिसी विश्वकप छनोटमा स्थान

डिएलएस मेथड के हो ? कसरी नेपालले जित्यो ?
डिएलएस अर्थात् डकवर्थ–लुइस–स्टर्न यस्तो गणितीय सूत्र हो, जसमा वर्षा वा ब्याड लाइटले रोकिएको खेलको ओभर र लक्ष्य घटाएर नयाँ लक्ष्य तय गरिन्छ । लक्ष्य पछ्छाइरहेको टिमलाई नियमअनुसार तय भएको नयाँ लक्ष्य दिइन्छ, जसमा मुख्यतः बचेको ओभर र विकेट दुवैलाई ध्यान दिइन्छ ।

थोरै ओभरमा कसरी नयाँ लक्ष्य तय गरिन्छ भन्ने गणितीय सूत्रमा काम हुन्छ, जुन सूत्र इंग्ल्यान्डका गणितज्ञ फ्र्यांक डकवर्थ र टोनी लुइसले तयार पारेका थिए, यसलाई सन् १९९९ देखि आइसिसीले प्रयोगमा ल्याएको हो । यसपछि अस्टे«लियाको स्टिव स्टर्नले सन २०१५ मा विश्वकपभन्दा अगाडि यसलाई अपडेट गरे, त्यसपछि यो सूत्रमा उनको पनि नाम जोडियो र डिएलएस अर्थात् डकवर्थ–लुइस–स्टर्न भयो । 

यस नियमअनुसार विकेट र ओभर दुवैलाई रिसोर्स मानिन्छ । इनिङको सुरुवातमा दुवै टिमसँग रहेको १० विकेट र ५० ओभरलाई १०० प्रतिशत रिसोर्स मानिन्छ । यो सूत्रअनुसार बाधा भएको खेल अवधिमा कुन टिमले कति रिसोर्स खर्च गर्‍यो भन्ने तय गरिन्छ । एक विकेट वा एक ओभरलाई रिसोर्स प्रतिशतमा बदल्न लिमिटेड ओभर क्रिकेटको स्कोरिङ ढाँचालाई प्रयोग गरिन्छ । अन्तर्राष्ट्रिय क्रिकेटमा रिसोर्स भेल्यु एक कम्प्युटर प्रोगामको माध्यमबाट तय गरिन्छ, जो सार्वजनिक छैन । 

यो नियममा पहिले खेल्ने टिमले खेल रोकिने वेलासम्म कति रिसोर्स प्रयोग गरेको थियो भन्ने पत्ता लगाउने सूत्र हुन्छ । बिहीबारको खेलमा नियमअनुसार खेल रोकिने वेलासम्म नेपालसँग ६ ओभर र चार विकेट बाँकी थियो, अर्थात् नेपालको १६ दशमलव ४ प्रतिशत रिसोर्स बच्यो । यही सूत्रअनुसार ८३ दशमलव ६ प्रतिशत रिसोर्स खर्च गर्दा युएईले २५९ दशमलव १६ रन बनायो । यही अवधिमा नेपालले भने २६९ रन बनाइसकेको थियो । त्यसैले नेपाल ९ रनले विजयी भयो । 

अब खेलको नतिजा कसरी तय हुन्छ भन्ने प्रश्न आयो । यसमा सूत्र छ– टिम २ ( नेपाल) को नयाँ लक्ष्य = टिम १ (युएई) को स्कोर (३१०) x (टिम २ (नेपाल) को रिसोर्स (८३.६)÷टिम १ (युएई)को रिसोर्स (१००) । यो सूत्रअनुसार नेपालको लक्ष्य २६०.१६ भयो । जुन युएईको भन्दा ९ रन बढी थियो । यही आधारमा नेपालको जितको घोषणा भएको हो । यदि नेपालले विकेट नगुमाई ४५ ओभर खेलेको भए पनि नेपालको रिसोर्स ८५.७ प्रतिशत हुन्थ्यो । यसो हुँदा पनि नेपालले ३ रनले जित्ने अंक आउँथ्यो । 

विश्वकपको ढोका कति कठिन ?
आइसिसी पुरुष विश्वकप प्रतियोगिता आगामी अक्टोबरदेखि नोभेम्बरसम्म भारतमा आयोजना हुँदै छ । त्यसमा १० राष्ट्र सहभागी हुनेछन् । सात राष्ट्र छनोट भइसकेका छन् । विश्वकपमा सहभागिताका लागि तीनवटा बाटो छन् । पहिलो, सुपर लिग । सुपर लिगमा शीर्ष वरीयताका १३ टिम छन्, जसबाट उत्कृष्ट सात राष्ट्र सीधै विश्वकप प्रतियोगिताका लागि छानिन्छन् । पछिल्ला तीन वर्षमा खेलिएका खेलको आधारमा सुपर लिगबाट भारत, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अस्ट्रेलिया, बंगलादेश, पाकिस्तान र अफगानिस्तान छनोट भइसकेका छन् । सुपर लिगको आठौँ स्थानमा रहने राष्ट्र पनि सीधै विश्वकपमा पुग्नेछ । आठौँ राष्ट्रको चयन हुन भने बाँकी छ । सुपर लिगका केही खेल बाँकी रहेकाले श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रिका र आयरल्यान्ड आठौँ स्थानको प्रतिस्पर्धामा छन् । 

बाँकी दुई राष्ट्र क्वालिफायरबाट विश्वकपमा पुग्नेछन् । क्वालिफायरमा दश राष्ट्र सहभागी हुन्छन् । सुपर लिगमा रहेका १३ मध्ये पुछारमा रहेका पाँच राष्ट्र सीधै विश्वकप क्वालिफायर पुग्छन् । यस्तै, डिभिजन लिग २ मा रहेका सातमध्ये शीर्ष तीन राष्ट्र पनि सीधै क्वालिफायरमा पुग्छन् । बाँकी दुई राष्ट्र प्लेअफबाट छानिन्छन् । प्लेअफमा भने १२ एसोसिएट राष्ट्रहरू रहेको च्यालेन्ज लिगको शीर्ष दुई र डिभिजन लिग २ को चौथोदेखि सातौँ स्थानमा रहेका चार गरी ६ राष्ट्रबीच प्रतिस्पर्धा हुन्छ । त्यहाँबाट शीर्ष दुई टोली विश्वकप क्वालिफायर पुग्छन् । यसरी आएका दश राष्ट्रबीच हुने प्रतिस्पर्धामा शीर्ष दुई स्थान प्राप्त टोली विश्वकपमा सहभागी हुन्छन् । 

बिहीबार युएईलाई पराजित गरेपछि डिभिजन लिग २ को तेस्रो स्थानमा रहँदै नेपालले विश्वकप क्वालिफायरमा स्थान सुरक्षित गरेको हो । अहिलेसम्म नेपालसँगै जिम्बावे, नेदरल्यान्ड, स्कटल्यान्ड र ओमानले क्वालिफायरमा स्थान सुरक्षित गरिसकेका छन् । स्कटल्यान्ड र ओमान डिभिजन लिग २ को पहिलो र दोस्रो स्थानमा रहँदै पुगेका हुन् । जिम्बावे र नेदरल्यान्ड भने सुपर लिगको १२औँ र १३औँ स्थानमा रहँदै पुगेका हुन् । यही लिगमा रहेका श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रिका र आयरल्यान्डमध्ये एक सीधै विश्वकपमा पुग्नेछ भने बाँकी तीन राष्ट्र क्वालिफायरमा पुग्नेछन् । विश्वकप क्वालिफायर दुईवटा समूहमा बाँडेर खेलाइन्छ । दुवै समूहका शीर्ष तीन–तीन राष्ट्र सुपर सिक्समा पुग्छन् । सुपर सिक्समध्ये उत्कृष्ट दुई राष्ट्रले विश्वकप खेल्न पाउनेछन् ।