१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ चैत १ बुधबार ११:०७:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

दिक्तेल मेयर कप फुटबल प्रतियोगिताको उपाधि नेर्पाको पोल्टामा

Read Time : > 1 मिनेट
२०७९ चैत १ बुधबार ११:०७:००

खोटाङ फुटबल एकेडेमी (केएफए)ले दिक्तेलमा आयोजना गरेको चौथो संस्करणको ‘दिक्तेल मेयर कप अन्तरक्लब आमन्त्रित फुटबल प्रतियोगिता २०७९’को उपाधि नेर्पा स्पोर्टस् क्लब नेर्पाले उचालेको छ । 

दिक्तेलस्थित माटीकोरे खेलमैदानमा मंगलबार भएको फाइनल खेलमा माटीकोरे सामाजिक सेवा समाज दिक्तेललाई ३–१ ले हराउँदै नेर्पाले चौथो संस्करणको उपाधि चुमेको हो । 

प्रतियोगिताका उपाधि विजेता नेर्पा स्पोर्टस् क्लब नेर्पाले नगद एक लाख २५ हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेतामा चित्त बुझाउन बाध्य भएको माटीकाेरे सामाजिक सेवा समाजले नगद ६२ हजार पाँच सयको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

प्रतियोगिता अवधिभर सर्वाधिक गोलकर्ताको उपाधि नेर्पाका बिकी राई, उत्कृष्ट खेलाडीको उपाधि माटीकोरेका दीपक खत्री, उत्कृष्ट गोलरक्षकको उपाधि माटीकोरेकै नवीन पोखरेल र उदीयमान खेलाडीको उपाधि केएफएका रोहन परियारले प्राप्त गरेका छन् । 

उनीहरूलाई जनही नगद पाँच–पाँच हजारको साथमा गोल्डेन ग्लोब्स, गोल्डेन बल, गोल्डेन सुज र प्रमाणपत्र प्रदान गरिएको आयोजक केएफएका अध्यक्ष नूरकाजी सैंजूले जानकारी दिए । 

विजयी टिम र खेलाडीलाई दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईले नगद तथा पुरस्कार हस्तान्तरण गरेका थिए । यही फागुन २७ गतेबाट सञ्चालन भएको प्रतियोगितामा जिल्लाका आठवटा क्लबले सहभागिता जनाएको आयोजक केएफएका प्रशिक्षण विभाग प्रमुख एवं कोषाध्यक्ष रोषेश श्रेष्ठले जानकारी दिए ।

दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाको प्रायोजनमा आयोजित प्रतियोगितामा साकेला फुटबल क्लब रतन्छालाई ४–३ गोल अन्तरले हराउँदै नेर्पा तथा आयोजक केएफएलाई १–० ले हराउँदै माटीकोरे सामाजिक सेवा समाज फाइनल प्रवेश गरेका थिए । ‘खोटाङको पहिचान खेलकुदको अभियान’ भन्ने नाराका साथमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन नगर प्रमुख तीर्थराज भट्टराईले गरेका थिए । 

दिक्तेललाई कार्यक्षेत्र बनाएर ०७३ सालमा स्थापना गरिएको केएफएले वार्षिक कार्यतालिका तयार गरेर विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यसअघि आयोजित दिक्तेल मेयर कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि योङ ब्वाइज फुटबल क्लब दिक्तेलले उचालेको थियो । 

यसैबीच, प्रतियोगिता समापनको अवसर पारेर दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाका कर्मचारी र जिल्ला फुटबल संघ खोटाङबीच आयोजित मैत्रीपूर्ण खेलमा जिल्ला फुटबल संघ विजयी भएको छ । निक्कै रोचक प्रतिस्पर्धा भएको मैत्रीपूर्ण खेलमा १–० ले जिल्ला फुटबल संघ विजयी भएको हो ।