साबिक दुईपटकको विजेता मच्छिन्द्र फुटबल क्लबले चौथो खेलमा जित निकालेको छ । दरशथ रंंगशालामा मच्छिन्द्रले पूर्वविजेता नेपाल पुलिस क्लबलाई२–१ ले पाखा लगायो । पुलिसले चालू ए डिभिजन लिगमा खराब प्रदर्शन गरिरहेको छ । पुलिसले लगातार चारै खेलमा हारको सामना गरेको छ ।
पुलिस अंकविहीन हुँदै पुछारमा छ । यसअघि मच्छिन्द्रले तेस्रो खेलमा बराबरी खेल्दै एक अंक जोडेको थियो । चौथो खेलमा मच्छिन्द्रले निकै मिहिनेत गरी स्पष्ट दुई अंक जोड्यो । मच्छिन्द्रको जितमा विदेशी खेलाडी ओलावालेले दुई निर्णायक गोल गरेका थिए ।
पुलिसले आफ्नो चौथो खेलमा सुरुवात भने राम्रो गर्यो । खेलको नवौँ मिनेटमा पुलिसले मच्छिन्द्रलाई स्तब्ध पार्दै अग्रता लियो । अञ्जन राईले निकै चलाखीपूर्ण तरिकाले पुलिसलाई १–० को अग्रता दिलाए । उनले रवि पासवानको सटिक पासमा डिबक्सभित्रबाट गोल गरेका हुन् । पुलिसले आफ्नो अग्रता २० मिनेटसम्म मात्र रक्षा गर्न सक्यो ।
खेलको २९अौँ मिनेटमा आफिजले मच्छिन्द्रलाई १–१ को बराबरीमा ल्याए । डिबक्सभित्र उनले रिबाउन्डमा गोल गरेका हुन् । बराबरी गोलसँगै मच्छिन्द्रले खेलमा पकड बनायो । खेलको ४१अौँ मिनेटमा आफिजले मच्छिन्द्रलाई २–१ को अग्रता दिलाए । मध्यान्तरपछि कुनै गोल भएन । आफिजको दुई गोलको सहयोगमा मच्छिन्द्रले पुलिसलाई हरायो ।
संकटा र चर्च ब्वाइजबीच बराबरी
लिगअन्तर्गत नै संकटा र चर्च ब्वाइज युनाइटेड क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यसै सिजन संकटामा अनुबन्धित भएका स्ट्राइकर मनीष डाँगीले खेलको अन्तिम इन्जुरी समयमा पेनाल्टी गोल गर्न सकेनन् । डिबक्सभित्र चर्च ब्वाइजका खेलाडीले विपक्षीलाई फल गरेपछि संकटाले पेनाल्टी प्राप्त गरेको थियो ।
राष्ट्रिय टोलीका समेत स्ट्राइकर रहेका मनीषले प्रहारगरेको पेनाल्टीलाई चर्च ब्वाइजका गोलरक्षक एभ्स प्रिसोले बचाए । खेलको १६औँ मिनेटमा चर्च ब्वाइजका प्रशान्त लक्षमले प्रहार गरेको बल बारमा लागेको थियो ।
फ्रेन्ड्सको पहिलो जित
दशरथ रंगशालामा फ्रेन्ड्स क्लबले जावलाखेललाई २–१ ले पराजित गरेको छ । फ्रेन्ड्सको जितमा रफिक एमिन र कप्तान प्रकाश बुढाथोकीले एक–एक गोल गरेका थिए । जावलाखेलका लागि फाडे फाफानाले एक गोल फर्काएका थिए ।प्रतिस्पर्धामा फ्रेन्ड्सका कप्तान बुढाथोकीले एक असिस्ट गरेका थिए । फ्रेन्ड्सको यो लिगमा पहिलो जित हो । खेलको १९औँ मिनेटमा रफिकले फ्रेन्ड्सलाई १–० को अग्रता दिलाए । रफिकले जावलाखेलका गोलरक्षक अनिश देउलाले बललाई सहज नियन्त्रणमा लिन नसकेको फाइदामा गोल गरेका हुन् ।