
भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रलाई नोक्सान हुने गरी निर्माण व्यवसायीले गरेका कामको उपेक्षालाई टुलुटुलु हेरेर नबस्ने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४औँ साधारणसभा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निर्माण व्यवसायीले जिम्मा लिएको काम समयमै सम्पन्न नगर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
उनले निर्माण व्यवसायीले सम्झौताअनुरूपको काम नगरेर उपेक्षा गरेका छन् भने आफू टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए।
उनले काममा उपेक्षा भएमा आवश्यक कारबाही गरिने बताए। मन्त्री श्रेष्ठले समयमै निर्माण सम्पन्न नगर्ने कम्पनीसँग ठेक्का रद्द गर्न सक्नेतर्फ पनि सचेत गराए।
निर्माण व्यवसायीलाई परेको समस्या समाधानका लागि आफू जुनकुनै मन्त्रालयसँग समन्वय गर्ने भन्दै निर्माण व्यवसायीले पनि जिम्मा लिएको काम सम्झौताअनुरूप समयमै पूरा गर्ने संकल्प गर्नुपर्ने बताए।
‘दश वर्ष अगाडि बिड गर्ने एउटा पुलको एउटा पिल्लर खडा गरेर बस्न मिल्छ ? राजधानीकै अगाडि यही टेकुमा एउटा पुल छ, जो क्राइटिसमा मेल खाँदैनन् त्यसलाई बुझाउन खोज्नु मिल्छ ? सरकारले लिन मिल्छ ? बाटाघाटा बुझाउन नपाईकन पर्सिदेखि टाल्नुपर्ने स्थिति पैदा हुन्छ । त्यो मिल्छ ? मैले भनेको हामी सबै मिलेर गरौँ न । मलाई त अहिले निद्रा लाग्दैन । तपाईंहरूलाई भुक्तानी पनि दिन नसक्दा, फाइल पेन्डिङ भयो, न्यायोचित छ भने किन समय लगाइदिने ? किन तुरुन्तै नगर्ने ? जसरी मलाई निद्रा लाग्दैन तपाईंहरूलाई पनि निद्रा नलागोस् न।’
भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु, पुँजीगत खर्चको वृद्धि र व्यापार घाटा न्यूनीकरण गर्नु सरकारको कार्यभार रहेको उनले बताए।