मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
कमलराज भट्ट काठमाडाैं
२०७९ फाल्गुण २६ शुक्रबार ०६:१७:००
Read Time : > 7 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सर्वोच्च पदमा रामचन्द्र

Read Time : > 7 मिनेट
२०७९ फाल्गुण २६ शुक्रबार ०६:१७:००

पटक–पटक विवादमा पर्दै आएको शीतलनिवासको साख र गरिमा जोगाएर काम गर्ने नवनिर्वाचित राष्ट्रपतिको प्रतिबद्धता

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा पूर्वसभामुख एवं कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई दोब्बर मतले पराजित गर्दै पौडेल मुलुकको सर्वाेच्च पदमा पुगेका हुन् । गणतन्त्र स्थापना भएसँगै मुलुकमा संवैधानिक राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको थियो । 

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका अनुसार पौडेलले ३३ हजार आठ सय दुई मतभार प्राप्त गरे भने नेम्वाङले १५ हजार पाँच सय १८ मतभार पाएका छन् । कुल आठ सय ८२ मतमध्ये संघतर्फ तीन सय १३ र प्रदेश सभातर्फ पाँच सय १८ मत गरी आठ सय ३१ मत खसेको थियो । संघको मतभार ७९ रहेको छ भने प्रदेशको ४८ मतभार रहेको छ । 

पौडेलले संघतर्फ दुई सय १४ मत अर्थात् १६ हजार नौ सय ६ मतभार र प्रदेशतर्फ तीन सय ५२ मत अर्थात् १६ हजार आठ सय ९६ गरी कुल ३३ हजार आठ सय दुई मत प्राप्त गरेका हुन् । यो कुल मतभार ५२ हजार ६ सय २८ को ६४.२२ प्रतिशत हो । राष्ट्रपति निर्वाचित हुन तत्काल कायम रहेको मतभारको बहुमत अर्थात् २६ हजार तीन सय १५ मत आवश्यक थियो ।

आवश्यकताभन्दा सात हजार चार सय ८७ बढी मत प्राप्त गरेर पौडेलले दुईतिहाईनजिकको विजय हासिल गरेका हुन् । पौडेललाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति, जनमोर्चा र रास्वपाले मत दिएका थिए । 

नेम्वाङले संघतर्फ ९८ मत अर्थात् सात हजार सात सय ४२ मतभार र प्रदेश सभातर्फ एक सय ६२ मत अर्थात् सात हजार सात सय ७६ मतभार गरी कुल १५ हजार पाँच सय १८ मत प्राप्त गरे । संघमा ९७ र प्रदेशमा एक सय ६१ मत भएको एमालेका तर्फबाट उम्मेदवार नेम्वाङले संघ र प्रदेश एक–एक अतिरिक्त मत प्राप्त गरेका छन् । नेम्वाङले २९.४८ प्रतिशत मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जितका लागि नेम्वाङलाई झन्डै २१ प्रतिशत मत पुगेन । 

संघमा १४ र प्रदेश सभामा २८ मत अर्थात् दुई हजार चार सय ५० मतभार भएको राप्रपा निर्वाचनमा सहभागी भएन । संघमा एक र प्रदेश सभामा तीन मत अर्थात् दुई सय २३ मतभार भएको नेमकिपा तटस्थ बसेर मतदानमा सहभागी भएन । 

दुई सय ७३ मतदाता कायम भएको प्रतिनिधिसभातर्फ राप्रपाका १४ र नेमकिपाको एक मतबाहेक कांग्रेसका चन्द्र भण्डारी र माओवादी केन्द्रका वर्षमान पुन बिरामी भएकाले मतदानमा उपस्थित हुन सकेनन् । कर्तव्य ज्यान मुद्दामा फरार एमाले सांसद लक्ष्मी कोइरी महतो पनि अनुपस्थित थिए । जसपाकी समानुपातिक सांसद शहनाज रहमानको हृदयाघातबाट निधन भएकाले उनको मत पनि परेन । 

पाँच सय ५० मत कायम भएको प्रदेश सभातर्फ राप्रपाका २८, नेमकिपाका तीनबाहेक जसपाका एकजना गरी ३२ मतदाता अनुपस्थित रहे । जसमा कोसीबाट ६, मधेसबाट दुई, बागमतीबाट १६, गण्डकीबाट दुई, लुम्बिनीबाट चार, कर्णाली र सुदूरपश्चिमबाट एक–एकजना रहेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानमा संघतर्फ एक र प्रदेशतर्फ चार मत बदर भएको छ । 

नवनिर्वाचित राष्ट्रपति पौडेललाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको लोत्से हलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । निर्वाचित राष्ट्रपति पौडेललाई सरकारले कारगेडसहित सुरक्षा दस्ता उपलब्ध गराएको छ । बोहोराटारस्थित निवासमा सुरक्षासमेत बढाएको छ । 

प्रमाणपत्र प्रदान गर्ने समारोहमा प्रतिद्वन्द्वी नेम्वाङ अनुपस्थित रहे । नेम्वाङका निर्वाचन प्रतिनिधि महेश बर्ताैलाले पौडेललाई माला लगाएर बधाई ज्ञापन गरेका थिए । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अंकमाल गरेर पौडेलसँग बधाई साटासाट गरेका थिए । 

निर्वाचन आयोगले शुक्रबार वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई सम्पन्न निर्वाचनको प्रतिवेदन बुझाएपछि पौडेलले शपथ खाने बाटो खुल्नेछ । प्रमुख निर्वाचन आयुक्त थपलियाले शुक्रबार दिउँसो ३ बजे राष्ट्रपति भण्डारीलाई निर्वाचन प्रतिवेदन बुझाइने बताए । ‘प्रतिवेदन बुझाएपछि शपथग्रहणको प्रक्रिया अगाडि बढ्छ,’ उनले भने, ‘हामीसँग सल्लाह भएअनुसार २९ गते सोमबार नयाँ राष्ट्रपतिको शपथग्रहण र निवर्तमान राष्ट्रपतिको बिदाइ हुन्छ ।’ वर्तमान राष्ट्रपति भण्डारीको पाँचवर्षे कार्यकाल आइतबार सकिँदै छ ।

संविधानमा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने, संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने उल्लेख छ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने संविधानमा उल्लेख छ ।

त्यस्तै, निर्वाचित भएलगत्तै पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास पुगेर धन्यवाद दिएका छन् । 

प्रतिस्पर्धी नेम्वाङले पौडेललाई बधाई दिँदै संविधान र कानुनबमोजिम राष्ट्रपतिको भूमिका सफलतापूर्वक सम्हाल्न सुझाव दिए । यो कार्यमा आफ्नो तर्फबाट पूर्ण साथ सहयोग र समर्थन रहने उनको प्रतिबद्धता थियो । ‘राष्ट्रपतिजस्तो सम्मानित पदमा मेरा मित्र रामचन्द्र पौडेलजी निर्वाचित हुनुभएको छ, उहाँलाई कार्यकाल सफलताका लागि बधाई र शुभकामना छ । संविधान र कानुनबमोजिम राष्ट्रपतिको भूमिका सफलतापूर्वक निर्वाह गर्नुहोस् । मेरोतर्फबाट उहाँलाई पूरै साथ, सहयोग र समर्थन रहनेछ भन्ने विश्वास दिलाउन चाहन्छु,’ निर्वाचन परिणाम सार्वजनिक भएपछि उनले पत्रकारसँग भने । 

सशस्त्र विद्रोहदेखि शीतलनिवाससम्म

६२ वर्षको अनवरत राजनीतिक जीवनमा पार्टी र सरकारको नेतृत्व गर्ने अवसर नपाएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई जीवनको उत्तरार्धमा मुलुकको सर्वोच्च पदमा पुग्ने संयोग जुरेको छ । कांग्रेसको शक्ति सन्तुलनका कारण मुलुक र पार्टीको कार्यकारी प्रमुख भएर राजनीतिबाट विश्राम लिने उनको चाहना सम्भव नभए पनि ७८ वर्षको उमेरमा राष्ट्राध्यक्ष बन्ने सौभाग्य जुरेको छ ।

लोकतन्त्रप्रति असीम निष्ठा, सरल जीवनशैली र आदर्शका प्रतीकजस्तै मानिने पौडेल अहिलेसम्म कांग्रेसका अभिभावक थिए । तर, राष्ट्रपतिमा निर्वाचित भएसँगै कांग्रेसभन्दा दुई वर्ष पाका पौडेल संविधानको संरक्षक र राष्ट्रकै अभिभावकको जिम्मेवारीमा पुगेका छन् । यद्यपि, उनको शपथ सोमबार मात्रै हुनेछ । 

सादगी, चिन्तनशील र अध्ययनशील व्यक्तित्वका रूपमा परिचय बनाएका पौडेलको शून्यदेखि शिखरसम्मको यात्रा आरोह–अवरोधपूर्ण छ । लोकतन्त्रका लागि कठोर संघर्ष र जेलजीवनको विरासत बोकेका पौडेललाई ०४६ पछि लाभका पद पनि मिलिरहेका छन् । प्रजातन्त्रप्रतिको उनको निष्ठा र संविधानसभाले बनाएको संविधानको संरक्षणप्रति उनको बलियो प्रतिबद्धता छ ।

पौडेलका लागि राष्ट्रपति रोजाइको भन्दा परिस्थिति र उमेरका कारण आइलागेको अवसर हो । उनको सपना एकपटक कांग्रेसको सभापति बन्ने र एकपटक प्रधानमन्त्री भएर सिंहदरबारको बागडोर सम्हाल्ने नै थियो । तर, समकक्षी उदार नहुँदा पौडेललाई पार्टी र सरकारको नेतृत्व लिने अवसर कहिल्यै मिलेन । 

कांग्रेसको १४औँ महाधिवेशनमा पौडेल सभापतिका आकांक्षी थिए । तर, इतर समूहबाट आफू सभापतिमा अगाडि सर्ने अवस्था नभएपछि उनी मौन बसे, मत पनि हालेनन् । उनको मौनताले उनैले नेतृत्व गरेको इतर समूहको भविष्य र उनलाई विश्वास गरेर राजनीतिमा लागेकाको भविष्यमाथि प्रश्न उठ्ने अवस्था बन्यो । 

तर, महाधिवेशनपछि पौडेलले संस्थापननिकट रहेर सभापति शेरबहादुर देउवालाई सघाए । तीनै तहको निर्वाचनमा गठबन्धनको पक्षमा वकालत गरे । निर्वाचन परिणामसँगै कांग्रेस पहिलो पार्टी बन्न पुग्यो । निर्वाचनमा जाँदा पौडेलले राज्यको कार्यकारी भूमिकामा हस्तक्षेप गर्ने भन्दै प्रधानमन्त्रीको आकांक्षा राखेका थिए । 

निर्वाचनपछि गठबन्धनमा शक्ति बाँडफाँटबारे छलफल हुँदा कांग्रेसले राष्ट्रपतिमा दाबी गरेको थियो । माओवादी अध्यक्ष प्रचण्ड र सभापति देउवाबीच पौडेललाई नै राष्ट्रपति बनाउने सहमतिसमेत बनेको थियो । तर, कांग्रेसले प्रधानमन्त्रीमा दाबी नछाडेपछि गठबन्धन टुट्न पुग्यो । एमालेसँग सहकार्य गरेर प्रचण्ड प्रधानमन्त्री भए । गठबन्धन तोडिएकोमा पौडेल धेरै निराश भए । 

गठबन्धन टुटेपछि कांग्रेसले पुरानै गठबन्धनको आवश्यकता रहेको भन्दै सरकारलाई विश्वासको मत दिएर ‘कोर्स करेक्सन’ सुरु गर्‍यो । उम्मेदवार दर्ताको दिनसम्म आउँदा एमाले र माओवादीसहितको गठबन्धन भत्कियो । अन्ततः पौडेलले वकालत गरेको गठबन्धन उनलाई राष्ट्रपति बनाउन एक ठाउँमा उभियो । राजनीतिक यात्राको उदारचढावमा पछिल्लो समय सबै परिस्थिति अनुकूल बन्न पुग्यो र पौडेल अत्यधिक बहुमतले राष्ट्रपतिमा निर्वाचित भए । 

प्रधानमन्त्री बन्न पौडेलले कति महत्वाकांक्षा राखेका थिए भन्ने उनको १७ पटक पराजयको विगतले बताउँछ । प्रधानमन्त्रीमा १७ पटक पराजयको विगत पौडेलको जीवनमा धेरै चर्चा हुने विषयमा पर्छ । ०६७ मा भएको प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेसबाट पौडेल, एमालेबाट झलनाथ खनाल र माओवादीबाट प्रचण्डबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचनबाट संवैधानिक व्यवस्थाअनुसार मत आउने अवस्था नभएपछि त्यसवेला १७औँ पटकसम्म प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा भएको थियो । 

प्रतिस्पर्धाबाट परिणाम आउने अवस्था नआएपछि आठौँ प्रतिस्पर्धाबाट प्रचण्ड बाहिरिए । त्यसपछि पौेडेल र खनालबीच नौपटकसम्म प्रतिस्पर्धा भएको थियो । संवैधानिक व्यवस्थाअनुसार मत आउने अवस्था नभएपछि त्यसवेला निर्वाचन कानुन नै परिवर्तन गर्नुपरेको थियो । तर, १७ पटकसम्मको प्रतिस्पर्धाबाट पनि पौडेलले बाजी मार्न सकेनन् । अन्त्यमा खनालले जित हासिल गरेका थिए ।

१६ वर्षको उमेर छँदा पञ्चायतविरोधी आन्दोलनसँगै पौडेलको राजनीतिक यात्रा सुरु भएको थियो । १ पुस ०१७ मा जननिर्वाचित संसद् भंग गरी प्रधानमन्त्री बिपी कोइरालालगायतलाई जेल हालिएसँगै सुरु भएको प्रजातान्त्रिक आन्दोलनमा पौेडेल सहभागी बनेका थिए । राजनीतिक आन्दोलनका क्रममा पटकपटक गरी उनले १५ वर्ष जेलजीवन बिताएका छन् । 

०१८ मा कांग्रेसले सुरु गरेको सशस्त्र क्रान्तिमा पनि उनी सहभागी बनेका थिए । ०२३ मा उनी लैनचौरस्थित सरस्वती बहुमुखी क्याम्पसमा स्ववियु सभापति बनेका थिए । ०२४ मा प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिव निर्वाचित भए । ०२७ मा नेविसंघको संस्थापक केन्द्रीय सदस्य बने । ०४० मा कांग्रेसको केन्द्रीय प्रचार समितिको संयोजकको भूमिका पाएका थिए । ०४३ मा उनी कांग्रेस केन्द्रीय सदस्य बनेका थिए । त्यसयता उनले निरन्तर कांग्रेसको केन्द्रीय समितिमा विभिन्न भूमिका निभाएका छन् ।

उनी ०६२/६४ मा कांग्रेस महामन्त्री, ०६४/७२ मा उपसभापति, ०६४/७० मा कांग्रेस संसदीय दलको नेता, ०७२ मा तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको निधनपछि कार्यवाहक सभापति बनेका थिए । ०७२ मा कांग्रेसको १३औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित बनेका थिए । त्यसयता उनी कांग्रेस वरिष्ठ नेताको हैसियतमा रहँदै आएका थिए । 

प्रजातान्त्रिक आन्दोलनअघि पौडेल कम्युनिस्ट विचारधारामा झुकाव राख्थे भन्ने चर्चा पनि हुने गर्छ । तर, प्रारम्भिक अवस्थाको त्यो झुकाव स्पष्ट रूपमा यही थियो भन्न नसकिने कांग्रेस नेताहरू बताउँछन् । कांग्रेस नेता नरहरि आचार्य विद्यार्थीकालमा प्रारम्भिक रूपमा संलग्नता रहेको सूचना रहे पनि त्यो प्रस्ट रूपमा संलग्नताको आधार नभएको बताउँछन् । ‘उहाँको कतैकतै सूचना पाइएको छ । तर, कहाँ कहिले भन्ने प्रस्ट छैन । विद्यार्थीकालमा भएको संलग्नताको विषयमा प्रारम्भिक रूपमा त्यस्तो थियो भन्ने पाइन्छ । तर, स्पष्ट रूपमा त उहाँ कांग्रेसमा नै हो,’ उनी भन्छन् । 

पौडेल पार्टीबाहेक सभामुख र राज्यको कार्यकारी भूमिकामा समेत रहे । ०४८ जेठ १५ देखि ०५१ स्थानीय विकास तथा कृषिमन्त्री, २ पुस ०५१ मा सभामुख, ०५६/५८ उपप्रधान तथा गृहमन्त्री, ०६१/६२ माओवादी शान्ति प्रक्रियामा आएपछि बनेको शान्ति सचिवालयको संयोजक, ०६४ मा शान्ति तथा पुनर्निर्माणमन्त्री बनेका थिए । 

पौडेलले विभिन्न भूमिकामा रहेर पनि कुनै अनियमितता र भ्रष्टाचारको आरोप खेप्नुपरेन । निष्कलंक नेताको छवि बनाएका छन् । जसलाई पौडेलको सबैभन्दा सबल पाटो मानिन्छ । तर, केही विषयमा भने पारिवारिक सदस्यलाई लाभका पदमा लैजान खोजेको भन्दै उनको आलोचना हुने गरेको थियो ।

कांग्रेस विभाजित भएर कांग्रेस प्रजातान्त्रिक बन्ने क्रममा पौडेल देउवा समूहमा लाग्न खोजेको आरोप लाग्ने गरेको छ । त्यसवेला देउवा समूहमा जान लागेका पौडेललाई तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले मूल पार्टीमा नै बस्न आश्वस्त पारेपछि उनी रोकिएको चर्चा कांग्रेस वृत्तमा चल्ने गर्छ । 

पौडेलले ०४८ बाट संसदीय यात्रा थालेका थिए । ०४८ मा उनी तनहुँ १ बाट निर्वाचित बनेका थिए । ०५१, ०५६, ०६४ र ०७० मा उनी तनहुँ २ बाट निर्वाचित बनेका थिए । ०७४ मा भने उनी पराजित बन्न पुगे । गत निर्वाचनमा भने उनी तनहुँ २ बाट निर्वाचित बनेका थिए । ०७४ को निर्वाचनमा उनी तनहुँ १ मा पराजित बनेका थिए । गत निर्वाचनमा पौडेल तनहुँ १ बाटै निर्वाचित बनेका हुन् ।

नेपालको शान्ति प्रक्रियामा समेत पौडेलको भूमिकालाई महत्वपूर्ण मान्ने गरिन्छ । एमाले अध्यक्ष केपी ओलीले दुई–दुईपटकसम्म संसद् विघटन गर्दा कांग्रेसबाट डटेर सामना गर्नेमा पौडेल अग्रपंक्तिमा थिए । संसद् विघटनसँगै पाँचदलीय गठबन्धन निर्माण, निर्वाचनमा गठबन्धन कायम गर्न र गठबन्धन ब्युँताउन पनि पौडेलले महत्वपूर्ण भूमिका खेलेका थिए ।

पौडेलमाथि ०५१ सालमा संसद्मै थप्पड हानेको घटना पनि चर्चामा रहनेमा पर्दछ । तत्कालीन एमालेको तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका गोल्छे सार्कीले त्यसवेला स्थानीय विकासमन्त्री रहेका पौडेलमाथि संसद्मै थप्पड हानेका थिए । तत्कालीन सांसदहरूका अनुसार मन्त्रीको भूमिकामा संसद्मा उठेका प्रश्नको जवाफ दिएर फर्केका पौडेललाई उनी बसेकै ठाउँमा गएर सार्कीले थप्पड हानेका थिए ।

तत्कालीन कांग्रेस सांसद नरहरि आचार्य सार्कीले मन्त्रीको जवाफ चित्त नबुझेर प्रतिरोध गरेको स्मरण गर्छन् । ‘मन्त्रीको रोमा रहेका पौडेललाई मन्त्रीको रूपमा उत्तर दिएर बस्न आएपछि चित्त नबुझेर प्रतिरोध गरेका थिए,’ आचार्य भन्छन् । 

पौेडेलको जन्म २९ असोज २००१ मा बाबु दुर्गाप्रसाद र आमा ऋषिमायाको कोखबाट भएको थियो । मध्यमवर्गीय किसान परिवारमा जन्मिएका पौडेलको जन्मस्थान हालको तनहुँको व्यास नगरपालिका– ८ बेलथुम्की (साबिकको मिर्लुङ, बाहुनपोखरा)मा पर्छ । पौडेल पछिल्लो समय काठमाडौं बोहोराटारमा बस्दै आएका छन् । पौडेलका श्रीमती (सविता पौडेल), चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा र अवज्ञा र छोरा (चिन्तन) छन् । 

पौडेलले संस्कृत साहित्यमा शास्त्री र नेपाली साहित्यमा स्नातकोत्तर गरेका छन् । पौडेलका नेपाली कांग्रेसको संक्षिप्त इतिहास, प्रजातान्त्रिक समाजवाद : एक अध्ययन, नेपाली कांग्रेस र नेपालको आधुनिकीकरण, आस्थाको यात्रा, नेपाली कांग्रेस अबको बाटो, प्रजातान्त्रिक समाजवाद, कृषिक्रान्ति र समाजवाद, राजनीतिको राजमार्ग, नेपाली कांग्रेस रूपान्तरणको मार्गचित्र, अभिशप्त इतिहासलगायत दर्जनौँ पुस्तक र विभिन्न विषयमा लेख–रचना प्रकाशित छन् । 

पौडेलले मानव अधिकारसम्बन्धी विभिन्न पुरस्कार र महेन्द्रविक्रम शाह पुरस्कार पाएका छन् । पछिल्लो समय जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’को सम्मान (सन् २०२०)बाट समेत उनी सम्मानित बनेका थिए ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आभार व्यक्त गर्दै भने–संविधानको पालना र संरक्षण गर्ने जिम्मेवारी नै मेरा मार्गनिर्देशक

‘राष्ट्रपति–संस्था’ले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने प्रण गर्दछु । नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन् । राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी बहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात् गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहनेछु ।