मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण ९ बुधबार
  • Wednesday, 21 February, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ फाल्गुण २४ बुधबार ०९:३२:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकामा छाडा कुकुरको आतंक : रेबिजविरुद्धको खोप लगाउन दैनिक २५० जना पुग्छन् अस्पताल

Read Time : > 4 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ फाल्गुण २४ बुधबार ०९:३२:००

सवारीसाधनको भिडभाड र साँघुरा सडकका कारण काठमाडौं उपत्यकाका सडक सर्वसाधारणका लागि यसै पनि जोखिमपूर्ण छन् । फुटपाथविहीन सडकका कारण कतिवेला सवारीसाधनले ठक्कर दिने हो भन्ने पिर गन्तव्य नपुगुन्जेल रहिरहन्छ । यसैमाथि सडक र फुटपाथमा लमतन्न परेर बसेका छाडा कुकुरको त्रास जतासुकै छ । यस्ता कुकुरको टोकाइबाट दैनिक दुई सय ५० भन्दा बढी सर्वसाधारण अस्पताल पुग्ने गरेको तथ्यांक छ । 

काठमाडौं उपत्यकामा यस्ता छाडा कुकुरको संख्या २२ हजारभन्दा बढी रहेको महानगरको तथ्यांक छ । सहरी क्षेत्र नै कुरूप बनाइरहेका यस्ता कुकुर व्यवस्थापन गर्न सम्बन्धित निकाय भने चुकिरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्यांकअनुसार विश्वमा वार्षिक ६० हजार मानिसको मृत्यु रेबिज रोगबाट हुने गरेको छ । नेपालमा पनि वार्षिक करिब एक सयजनाले ज्यान गुमाउने गरेको तथ्यांक छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा. मनीषा रावलका अनुसार सरकारले यस्ता कुकुर व्यवस्थापन गर्न चलाएको बन्ध्याकरण अभियान अपुग छ । नागरिकस्तरमा कुकुरले टोकेपछि खोप लगाउनुपर्छ भन्ने चेतनासमेत नहुँदा रेबिजबाट मृत्यु हुने बर्सेनि बढिरहेका छन् । विश्व स्वास्थ्य संगठनको गाइडलाइनअनुसार कुकुरले टोकेपछि सामान्यतया दुई प्रकारका भ्याक्सिन लगाइन्छ । एउटा एआरबी (एन्टी रेबिज भ्याक्सिन) र अर्को आरआइजी (रेबिज इम्युनो ग्लोब्युलिन) ।  

‘कुकुरले टोकेपछि रेबिजविरुद्धको भ्याक्सिन लगाउने, कुकुर व्यवस्थापन गर्ने र जनचेतना प्रवाह गर्नेबारे सरकारी नीति र काम–कारबाही कमजोर छ । तीन तहका सरकारबीच रेबिज रोकथाममा समन्वय नै छैन, एक्लै–एक्लै काम गरेर रेबिज उन्मूलन हुँदैन,’ उनले भनिन् । उनका अनुसार मर्निङ र इभिनिङ वाकमा जाँदा धेरैलाई कुकुरले टोक्ने गरेको छ । कुकुरले टोकेपछि तीनपटकसम्म रेबिजविरुद्धको भ्याक्सिन लगाउनुपर्छ । सरकारले रेबिजविरुद्धको भ्याक्सिन ०७४ देखि निःशुल्क लगाउन थालेको हो । हाल टेकु अस्पतालमा २४सै घन्टा यो भ्याक्सिन लगाउन सकिन्छ । यसबाहेक प्रादेशिक अस्पताल, निजी अस्पतालहरू र केही स्थानीय स्वास्थ्य संस्थाहरूले पनि भ्याक्सिन उपलब्ध गराउँदै आएका छन् । भ्याक्सिन लगाएको ९–१० दिनमा मात्रै शरीरले एन्टिबडी बनाउँछ । 

छाडा कुकुर नियन्त्रणमा काठमाडौं महानगरले तीन वर्षअघि ‘मनुमित्र’ कार्यक्रम तय गरेको थियो । तत्कालीन मेयर विद्यासुन्दर शाक्यले सडकमा छाडिएका कुकुर व्यवस्थापन तथा अन्य बेवारिसे पशुचौपाया व्यवस्थापनका लागि पशुसेवा महाशाखा स्थापना गरेका थिए । तर, उक्त शाखाले केही कुकुरको बन्ध्याकरण गर्नेबाहेक अरू काम गर्न सकेन । शाखाले १७ हजार दुई सय कुकुरको बन्ध्याकरण गरेको तथ्यांक छ । महानगरले ०४८ देखि नै सहरी छाडा कुकुर व्यवस्थापन गर्दै आइरहेको थियो । ०५६ सालमा पशुरोग विशेषज्ञसहितको टोली राखेको थियो । त्यस्तै, ०७२ सालमा पनि निजी संस्थाको समन्वयमा कुकुर व्यवस्थापन गरेको थियो । ०७६ सालसम्म सहरी कुकुरको केही व्यवस्थापन भए पनि त्यसयता भने महानगर कुकुर व्यवस्थापनमा चुकेको छ । 

रेबिजविरुद्धको खोप लगाउन पनि भिडभाड
तथ्यांकअनुसार काठमाडौं उपत्यकामा दैनिक दुई सय ५० जना कुकुरले टोकेर टेकु अस्पतालमा खोप लगाउन पुग्छन् । यसबाहेक देशभरका स्वास्थ्य संस्थामा रेबिजविरुद्धको सुई लगाउन पुग्ने र रेबिजबाट वार्षिक मृत्यु हुनेको तथ्यांक इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग छैन । तर, छाडा कुकुरको टोकाइबाट रेबिज भई मृत्यु हुनेको संख्या भने बढिरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । रेबिज संक्रमित कुकुरले टोकेपछि तत्काल रेबिज एआरबी र रेबिज इम्युनो ग्लोब्युलिन लगाउनुपर्छ । अस्पतालका अनुसार पछिल्लो एक वर्षमा रेबिजविरुद्धको भ्याक्सिन लगाउनेको संख्या एक लाख एक हजार छ ।

कुकुर व्यवस्थापन गर्न खोज्दा मुद्दा पर्‍यो : वडाध्यक्ष 
नौ महिनाअघि काठमाडौं महानगरपालिका–३० का वडाध्यक्ष दलबहादुर कार्कीलाई रातोपुलस्थित सडकमा छाडा कुकुरले टोक्यो । उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एन्टिरेबिज सुई लगाउन पुगे । त्यहाँ उनले तीन वर्षको बच्चादेखि ७० वर्षसम्मका वृद्धवृद्धा सुई लगाउन आएको देखे । महानगरमा भुस्याहा कुकुरको बिगबिगी कति रहेछ भन्ने उनले बल्ल थाहा पाए । गत १ साउनमा बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा उनले यो विषय उठाए । छाडा कुकुरले आतंक मच्चाएको र यसको व्यवस्थापन गर्नुपर्ने विषयलाई महानगरले प्राथमिकतामा राख्नुपर्ने उनले माग गरे । तर, त्यही विषयलाई लिएर केही दिनपछि पशु कल्याण कोषले उनीविरुद्ध अदालतमा मुद्दा हाल्यो । ‘मेरो वडामा दैनिक तीनदेखि चारजनालाई कुकुरले टोक्छ, कुकुर व्यवस्थापन गर्न भनेर सबैले माग गर्छन्,’ उनले भने, ‘तर, कुकुर व्यवस्थापनको विषयलाई उठाउँदा मविरुद्ध मुद्दा हालियो ।’

वार्षिक सयजनाको मृत्यु 
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार ०७५/७६ मा १८ र आव ०७४/७५ मा ३२ जनाको रेबिजबाट ज्यान गएको छ  । ०७६/७७ मा भने मृत्यु भएको संख्या यकिन छैन । त्यस्तै, ०७७/७८ मा ६० जनाभन्दा बढीको ज्यान गएको छ  । ०७८/७९ को माघसम्ममा १८ जनाको रेबिज संक्रमणबाट मृत्यु भएको छ । तर, अस्पतालको पहुँचमा नआउने र रेबिज लागेर मृत्यु हुनेको संख्या धेरै हुन सक्ने टेकु अस्पतालकी निर्देशक मनीषा रावलको भनाइ छ । उनका अनुसार अस्पतालमा आउने र नआउनेसहितको तथ्यांक हेर्दा वार्षिक सरदर एक सयजनाले रेबिजबाट ज्याज गुमाउँछन् ।

सडक दुर्घटनाको जोखिम उच्च
सहरी सामुदायिक कुकुर व्यवस्थापन नगर्दा यसले निम्त्याएको अर्को समस्या हो, सडक दुर्घटना । देशका मुख्य राजमार्ग तथा भित्री सडकमा कुकुरले अवरोध गर्दा दैनिक ५० भन्दा बढी दुर्घटना हुने गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । दुर्घटनाबाट मासिक सरदर चारजनाको मृत्युसमेत हुने गरेको छ । प्रहरी प्रधान कार्यालयले यसलाई छुट्टै तथ्यांकका रूपमा अद्यावधिक भने गरेको छैन । उपत्यकामा मात्रै महिनामा २० वटा सडक दुर्घटना हुने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । कार्यालयका सूचना अधिकारी एसएसपी राजेन्द्रप्रसाद भट्टले कुकुरका कारण सहरी क्षेत्रमा दुर्घटना बढेको जानकारी दिए । ‘कुकुरले सवारीसाधनलाई बाटो छेक्ने, लखेट्ने तथा टोक्ने मात्रै होइन, कुकुरलाई जोगाउँदा धेरै दुर्घटना भएका छन्,’ उनले भने, ‘कुकुरलाई छल्न अचानक ब्रेक हान्दा सवारीसाधन हुत्तिने, पोल तथा सडकपेटीमा ठोक्किने, पछाडिको गाडी ठोक्किनेलगायत डर हुन्छ ।’ उनले यसबारे महानगरलाई जानकारी गराएको बताए । 

हेलचेक्र्याइँले संक्रमण बढ्दै, मृत्युदर पनि उच्च
कुकुरले टोके पनि सबैजना खोप लगाउन नआउने चिकित्सकको भनाइ छ । यति हुँदा पनि खोप लगाउन आउनेको संख्या अस्पतालमा थेग्न हम्मेहम्मे हुने गरेको उनीहरू बताउँछन् । ‘अहिले टेकुमा सरुवा रोग तथा रेबिजविरुद्धको खोप लगाउन आउनेको संख्या धेरै छ,’ सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनले भने, ‘सम्बन्धित निकायले कुकुर व्यवस्थापन नगर्दा सर्वसाधारण पीडित बन्नुपरेको छ ।’ रेबिजका बिरामी बढ्न थालेपछि अस्पतालले यसबारे अध्ययन गरेको थियो । अध्ययनबाट पनि हेलचेक्र्याइँकै कारण धेरैको मृत्यु भएको पाइएको पुनले जानकारी दिए । उनका अनुसार टोकेको कुकुर सानो छ र घाउ सानो छ भनेर सुई लगाउन नजाने, औषधि विक्रेताले गलत सूचना दिने, साना बच्चाले घरमा नभन्ने, धामीझाँक्री कहाँ जाने, खोप लगाउनेबारे चेतना नै नहुने, बुढाबुढीले वास्ता नगर्नेजस्ता कारणले रेबिजबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । ‘पहिले–पहिले खोप थिएन र रेबिज लागेका धेरैजसोको मृत्यु हुन्थ्यो, तर अहिले खोप छ । कुन वेला लगाउने भन्नेबारे चेतना छैन,’ पुनले भने, ‘जान्ने–बुझ्नेहरूले नै यसमा हेलचेक्र्याइँ गरेका छन् ।’ नेपालले सन् २०३० सम्ममा रेबिज भाइरसबाट हुने मृत्युलाई शून्यमा झार्ने प्रतिबद्धता जनाएको थियो । तर, उक्त प्रतिबद्धता पूरा गर्न कठिन देखिएको छ । 

कुकुर व्यवस्थापनमा सात वर्षमा १५ करोड ४५ लाख खर्च
काठमाडौं महानगरले सहरी छाडा कुकुर व्यवस्थापनमा सात वर्षमा १५ करोड ४५ लाख रुपैयाँ खर्च गरेको छ । यसमध्ये तीन करोड ४५ लाख महानगरको हो भने १२ करोड अनुदानमा आएको थियो । खुराकी खर्च, कर्मचारी व्यवस्थापन खर्च, एन्टिरेबिज भ्याक्सिन, बन्ध्याकरण भ्याक्सिन, कुकुर गणना, खोर व्यवस्थापनलगायतमा उक्त रकम खर्च भएको महानगरले जनाएको छ । 

महानगरले सहरी छाडा कुकुर व्यवस्थापनका लागि ०७२ देखि ०७६ सालसम्म ‘द जेन गुडल इन्स्टिच्युट अफ नेपाल’ भन्ने गैरसरकारी संस्थासँग सहकार्य गरेको थियो । ०७६ देखि उक्त संस्थाले महानगरलाई कुकुर व्यवस्थापनमा दिँदै आएको अनुदान कटौती गरेको थियो । त्यसयता महानगरले आफ्नै खर्चमा कुकुर व्यवस्थापन गर्दै आएको महानगरका पशुसेवा महाशाखाका प्रमुख डा. अवदेश झाले बताए । उनका अनुसार कुकुर तथा सहरी पशु चौपाया व्यवस्थापनका लागि महानगरले तीन वर्षअघि छुट्टै शाखा खोलेको थियो । हाल यो शाखामा १३ जना करार कर्मचारी छन् । यसबाहेक कुकुर व्यवस्थापनका लागि महानगर पशु कल्याण कोष, ‘मनुमित्र’लगायत संस्थासँग सहकार्य गरेको महाशाखा प्रमुख झाको भनाइ छ । ‘अहिले काठमाडौंमा करिब २२ हजार छाडा कुकुर छन्, महानगरले यिनलाई हेरचाह गर्ने हो भने एउटा कुकुरलाई दिनको सय रुपैयाँ खर्च लाग्छ,’ उनले भने, ‘२२ हजार कुकुर पाल्दा दैनिक २२ लाख खर्च हुन्छ, त्यसैले यो भार महानगरले लिन सक्दैन ।’ 

उनले भएभरका कुकुर व्यवस्थापनका लागि कर्मचारी र खानेकुरा व्यवस्थापनमा ठूलो लगानी गर्नुपर्ने भएकाले महानगरले छुट्टै योजनामा काम गरेको बताए । महानगरले सबै कुकुरको गणना र बन्ध्याकरण गर्ने उनले बताए । १६ हजार कुकुर बन्ध्याकरण भएका छन् । अब ६ हजार कुकुरलाई मात्रै बन्ध्याकरणको भ्याक्सिन दिइने महानगरले जनाएको छ । यसो गर्दा कुकुरले नयाँ बच्चा जन्माउन नसक्ने र कुकुरको संख्या आफैँ घट्ने महाशाखा प्रमुख झाले बताए । उनका अनुसार यसो गर्दा १० वर्षपछि कुकुर निकै कम हुने आकलन गरिएको छ ।