मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १० बिहीबार
  • Thursday, 22 February, 2024
जेनेप तुफेक्सी
२०७९ फाल्गुण २४ बुधबार ०७:५९:००
Read Time : > 5 मिनेट
विश्व प्रिन्ट संस्करण

कोभिडभन्दा घातक हुन सक्छ वर्डफ्लु

लामो समयदेखि कुखुरा फार्ममा विनाश निम्त्याइरहेको यो भाइरस पछिल्लो समय बसाइँसराइ गर्ने चरामा पनि देखिन थालेको छ । परिणामस्वरूप वर्डफ्लु पहिले नदेखिएको ठाउँमा पनि देखिन थालेको छ । हुँदाहुँदा अब स्तनधारी प्राणी पनि यसको चपेटामा पर्न थालेका छन् ।

Read Time : > 5 मिनेट
जेनेप तुफेक्सी
२०७९ फाल्गुण २४ बुधबार ०७:५९:००

विश्व कोभिड– १९ ले निम्त्याएको विनाशबाट बाहिरिने प्रयास गरिरहेको वेला थप भयानक महामारीको सम्भावना देखिएको छ । औपचारिक नाम एभियन इन्फ्लुका रूपमा चिनिने ‘वर्ड–फ्लु’ पहिलेदेखि नै वैज्ञानिकहरूलाई चिन्ताको विषय थियो । यस जीवाणुको एच५एन१ स्ट्रेनले प्रायः मानिसलाई संक्रमित बनाउँदैन, तर दुर्लभ अवस्थामा यसबाट जति संक्रमित भए तीमध्ये ५६ प्रतिशतको मृत्यु भएको छ (तुलनाका लागि जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार कोभिड संक्रमित बिरामीमध्ये १.०२% को निधन भएको छ) । हालसम्म एक मानिसबाट अर्को मानिसमा सजिलै फैलिन नसकेकै कारणले मात्र वर्ड–फ्लुलाई विश्वव्यापी महामारी हुन रोकिराखेको छ । तर, पछिल्ला केही घटनाक्रमले यसमा परिवर्तन आउन थालेको संकेत देखाएको छ । 

लामो समयदेखि कुखुरा फार्ममा विनाश निम्त्याइरहेको यस भाइरस एकपछि अर्को बसाइँसराइ गर्ने चरामा देखिन थालेको छ । परिणामस्वरूप, वर्ड–फ्लु पहिले नदेखिएको ठाउँमा पनि देखिन थालेको छ । हुँदाहुँदा अब स्तनधारी प्राणी पनि यसको चपेटामा पर्न थालेका छन् । मानिस पनि स्तनधारी प्रााणी भएको कारण वैज्ञानिकहरू एच५एन१ को नयाँ भेरिएन्टले महामारीको रूप लेला भनेर चिन्तित छन् ।

हालै एच५एन१ को एक स्ट्रेनले स्पेनमा भुवाका लागि पालिने मिन्स्कको फार्ममा महामारीको रूप लिएको थियो । भाइरसले मिन्स्कलाई संक्रमित मात्र बनाएन एक मिन्स्कबाट अर्कोमा सरेको पनि देखियो । विगतमा पक्षीबाट स्तनधारीमा यो भाइरस फैलिएको भए पनि कुनै एक स्तनधारीबाट अर्को स्तनधारीमा सरेको पाइएको थिएन । अझ डरलाग्दो के भने, मिन्स्कको माथिल्लो श्वासप्रश्वास नली मानिसको सोही अंगसँग एकदम मिल्दोजुल्दो भएकाले मानिसमा सर्ने सम्भावना उच्च रहेको भाइरस एभियन इन्फ्लुएन्जाको अध्ययन गरेका भाइरोलोजिस्ट थोमस पिकक बताउँछन् । 

एच५एन१ विनाशकारी महामारी बन्नुअघि नै विश्वले कदम चाल्न ढिलो गर्नुहुँदैन । भावी महामारीसँग जुध्नका लागि खोपलगायत धेरै औजार जरुरी हुन्छ । तर, स्थितिको गम्भीर्यताअनुरूपको तदारुकता र कदम चालिएको देखिँदैन । कुनै पनि प्राणघातक जीवाणुविरुद्धको सबैभन्दा उत्कृष्ट प्रतिरक्षात्मक हतियार प्रकोपलाई सुरुमै दबाउनुपर्छ । यसका लागि शीघ्र पहिचान आवश्यक पर्छ ।

अमेरिका, विश्व स्वास्थ्य संगठन र संसारभरका स्वास्थ्य अधिकारीहरूबीच इन्फ्लुएन्जा निगरानी गर्ने सञ्जाल तयार छ, तर कैयौँ एभियन इन्फ्लुएन्जाविज्ञहरू ती सञ्जालले खतराको स्तरअनुरूप काम गर्न नसक्ने बताउँछन् । यस्तो निगरानीमा कुखुरा फार्मका मानिसलाई पहिलो प्राथमिकतामा राख्न आवश्यक पर्छ, तर अन्य क्षेत्रलाई पनि समावेश गर्नुपर्छ । नेदरल्यान्डको इरास्मस विश्वविद्यालय मेडिकल सेन्टरका एभियन इन्फ्लुएन्जाविज्ञ थिइज्स कुइकेन सुँगुरका फार्म पनि निगरानीमा राख्नुपर्ने बताउँछन् । साथै, वन्यपक्षी र अन्य जीवको संगतमा रहने मानिस पनि उच्च जोखिममा छन् । 


रोग नियन्त्रणमा पहिचान पहिलो कदम हो, तर त्यति नै पर्याप्त भने हुँदैन । भाइरसको संक्रमण सुरुवाती अवस्थामै नियन्त्रण गर्नका लागि विश्वव्यापी सहकार्य आवश्यक पर्छ । मिन्स्क फार्महरू छिटोभन्दा छिटो पूर्ण रूपमा बन्द गर्नुपर्छ, भलै यसका लागि मिन्स्कहरूको समूल नष्ट गर्न किन नपरोस् ।

आखिरमा मिन्स्कहरू ६ महिना भएपछि भुवाका लागि मारिन्छन् नै । व्यापारिक स्वार्थका लागि हामी मानिसको जस्तै माथिल्लो श्वासप्रणाली भएको लाखौँ जीवमा भाइरस प्रसार हुनदिनु निकै घातक हुन्छ । सन् २०२० मा कोरोनाभाइरस डेनिस मिन्स्क फार्ममा प्रसार हुँदा सो भाइरसको नयाँ भेरियन्ट विकास भएको थियो, जुन पछि मानिसमा स¥यो । संक्रमण नियन्त्रणबाहिर गएपछि मिन्स्क फार्म उद्योगलाई बचाउने प्रयास असफल बन्यो र सबै मिन्स्क मारिए । यदि एउटै व्यक्तिलाई फ्लुका फरक स्ट्रेनले एकैपटक संक्रमित गरे भने ती स्ट्रेनहरूबीच जिनका केही हिस्सा साटफेर भएर एक नयाँ र थप फैलिने स्ट्रेन विकास हुन सक्छ । यदि पहिलेदेखि फ्लु लागेको मिन्स्क फार्म श्रमिकहरूलाई एच५एन१ ले संक्रमित ग¥यो भने त्यही समयबाट नयाँ भाइरस र विश्वव्यापी महामारी सुरु हुन सक्छ । 

यो स्थिति आउन नदिने हो भने विश्वभर द्रुत परीक्षण व्यापक रूपमा उपलब्ध हुनुपर्छ । विशेष गरी कुखुरापालनमा संलग्न श्रमिक र जंगली चराहरू वा अन्य वन्यजन्तुसँग उठबस गर्ने मानिसहरूलाई पनि यो व्यवस्था गर्नैपर्छ । यसका लागि सबैभन्दा पहिले अहिलेको परीक्षण क्षमता चाँडै विस्तार गर्नुपर्छ । अमेरिकामा एच५ इन्फ्लुएन्जा परीक्षण गर्ने ९१ वटा जनस्वास्थ्य प्रयोगशाला छन् । पोजेटिभ आएका नतिजा ‘सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’मा पठाइन्छ, जहाँ थप विश्लेषणपछि करिब ४८ घन्टाभित्र एच५एन१ को सटिक पहिचान हुन्छ । तर, माग बढेको अवस्थामा उल्लेखित परीक्षण र परीक्षण सुविधाको मात्रा पर्याप्त हुँदैन, तिनलाई बढाउने योजना अहिलेदेखि बनाउनुपर्छ ।

स्थिति पूरै निराशाजनक मात्र छैन । यस विषयमा सबैभन्दा सकारात्मक खबर के छ भने अमेरिकाको नयाँ औषधिहरूलाई स्वीकृति दिने संस्था ‘फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेसन(एफडिए)द्वारा स्वीकृत एच५एन१ का कैयौँ खोप अहिले नै उपलब्ध छन् । तिनको सुरक्षा र प्रतिरक्षा प्रतिक्रिया अध्ययन भइसकेको छ । अमेरिकी सरकारसँग एच५एन१ खोपको सानो भण्डार अहिले नै छ, जुन गम्भीर प्रकोप सुरु भएमा यो निकै कम हुनेछ । सरकारी योजनामा प्रकोप सुरु भएपछि खोपको उत्पादन बढाउने कुरा उल्लेख छ । तर, त्यसका आफ्नै कठिनाइ हुन्छन्, किनकि सबैभन्दा उत्कृष्ट परिदृश्यमा पनि नयाँ खोपको करोडौँ डोज उत्पादन गर्न ६ महिना वा सोभन्दा बढी समय लाग्न सक्छ । 

चिन्ताको कुरा, अनुमोदित भएका भ्याक्सिनमध्ये एउटा बाहेक सबै खोपका प्रत्येक डोज अन्डाभित्र ‘इन्कुबेट गरेर’ बनाइन्छ । भविष्यको खोपका लागि अमेरिकी सरकारले लाखौँ कुखुरालाई सुरक्षित स्थानमा अंगरक्षकको सुरक्षामा राख्ने गर्छ । (तपाई्रंले यो यथार्थ हल्लाका रूपमा सुन्नुभएको छ भने त्यो साँचो हो ।) ती अंगरक्षक कुखुरा फार्ममाथि हुने आतंककारी आक्रमण रोक्नको राखिएका हुन्छन् जसले भाइरसलाई रोक्न सक्ने कुरै हुँदैन । जुन भाइरसको संक्रमणबाट कुखुराको मृत्युदर ९० देखि शतप्रतिशत छ, त्यसविरुद्धको खोप उत्पादन गर्न कुखुरामै भर पर्दा भयानक स्थिति आउन सक्छ । एफडिएद्वारा अनुमोदित एक मात्र गैरअन्डामा आधारित एच५एन१ खोप उत्पादकले महामारी घोषणा भएको ६ महिनामा १५ करोड डोज खोप उत्पादन गर्न सक्ने प्रक्षेपण छ । तर, संसारमा सात अर्ब मानिस छन् ।

कोभिडविरुद्धका दुई खोपहरू एम–आरएनएमा आधारित थिए । ती पनि अन्डामा भर पर्दैनन् । पेन्सिल्भेनिया विश्वविद्यालयका इन्फ्लुएन्जा विशेषज्ञ स्कट हेन्स्लेले कोभिडका ती खोप तीन महिनाभित्रै छिटो रफ्तारमा उत्पादन गर्न सकिने बताए । तर, हालसम्म एम–आरएनएमा आधारित इन्फ्लुएन्जाका कुनै पनि स्वीकृत खोप उपलब्ध छैनन् । त्यसैले यसतर्फ प्रयास तीव्र हुनुपर्छ । यदि विश्वव्यापी खोप उत्पादनको विस्तारको नेतृत्व विश्व स्वास्थ्य संगठनले लिने हो भने उसलाई खोप निर्माणसम्बन्धी ज्ञान भएका धनी देश र ठूला औषधि कम्पनीको सहयोग चाहिन्छ । 

फ्लुका खोपको भण्डारण अर्को ठूलो चुनौती हो । एक त लामो समयपछि तिनको शक्ति गुम्न सक्छ भने भाइरसको नयाँ भेरियन्ट देखापर्दा तिनमा अद्यावधिक गर्न आवश्यक हुन्छ । त्यसैले गर्दा पनि अमेरिकी सरकार ठूलो भण्डारण सिर्जना गर्ने विषयमा सशंकित छ । भण्डारण गरिएका खोपहरू महामारीको सबै भेरियन्टविरूद्ध प्रभावकारी नहुन सक्छ भन्ने डर र भण्डारण गरिएका खोपको प्रभावकारिता समाप्त हुने चिन्ता सरकारमा छ । र, अर्कोतर्फ अधिकारीमा नयाँ फ्लुका खोप द्रुत रूपमा उत्पादन गर्न सकिन्छ भन्ने उच्च आत्मविश्वास पनि छ । 

विगतका जति पनि वर्डफ्लु प्रकोप देखिए, ती मानव–मानवबीच महामारीका रूपमा विकास भएनन् । तर, हामी सधैँ त्यति भाग्यमानी नहुन सक्छौँ । एच५एन१ विनाशकारी महामारी बन्नुअघि नै विश्वले कदम चाल्न ढिलो गर्नुहुँदैन
 

धेरै इन्फ्लुएन्जाविज्ञहरूका अनुसार पुरानो खोपले रोगका सबैभन्दा गम्भीर परिणाम वा मृत्युविरुद्ध केही न केही सुरक्षा प्रदान गर्न सक्छन् । इन्फ्लुएन्जा ए, बी र सी भाइरसका लागि पहिलो आनुवंशिक नक्सा तयार पार्ने माउन्ट सिनाईको आइकान स्कुल अफ मेडिसिनका माइक्रोबायोलोजीका प्राध्यापक पिटर पालेसले यस्तो भण्डारण अत्यावश्यक क्षेत्रका श्रमिकका लागि विशेष रूपमा उपयोगी हुने बताए । सन् २०१७ मा सिडिसीले सन् २००४ र २००५ मा बनाइएका एच५एन१ खोपले सन् २०१४ मा फेरेट प्रजातिमा लागेको संक्रमण रोक्न मद्दत गरेको पत्ता लगाएको थियो । सन् २०१९ मा भएको अर्को अध्ययनले १२ वर्षअघि तयार गरिएका एच५एन१ खोप त्यसवेलासम्म पनि पूर्ण रूपमा प्रभावकारी रहेको पाएको थियो । 

स्वैच्छिक खोप अभियान अहिलेदेखि नै सञ्चालन गरेमा भविष्यमा सकारात्मक नतिजा आउनेछ । विशेष गरी उच्च जोखिमयुक्त समूहजस्तै पोल्ट्री फार्ममा काम गर्ने मानिस र एच५एन१ को संक्रमणमा आउने बिरामीको सम्पर्कमा आउने स्वास्थ्यकर्मीलाई अहिले नै खोप लगाइदिन सक्छ । स्वैच्छिक खोपले भ्याक्सिनको सुरक्षा र डोजबारे महत्वपूर्ण प्रदान गर्न सक्छ ।

पोल्ट्री फार्मका श्रमिकलाई लगाइने खोपले प्रकोपलाई दबाउन ठूलो सहयोग प्रदान गर्छ । अधिकांश इन्फ्लुएन्जा विशेषज्ञले यदि सबै कुखुरालाई पहिले नै खोप लगाइएको भए, एच५एन१ भाइरस जंगली चरामा यति व्यापक रूपमा नफैलिने बताए । पहिले गरिनुपर्ने काम भए पनि अझै पनि कुखुरा र सुँगुरलाई सामूहिक खोप सुरु गर्न सकिन्छ । कुखुरा र सुँगुरपालनमा संलग्न श्रमिकलाई नियमित अन्य इन्फ्लुएन्जाविरुद्ध खोप लगाउँदा पनि एच५एन१ का थप प्राणघातक प्रजाति उत्पन्न हुने जोखिम कम हुन्छ । माथि उल्लेख गरिएझैँ अन्य रुघाखोकी लागेका व्यक्तिमा चराबाट एच५एन१ स¥यो भने त्यो मानिस–मानिसबीच सर्ने एच५एन१ स्ट्रेनमा विकास हुने जोखिम हुन्छ । 

सन् २०२० मा नयाँ एच५एन१ स्ट्रेन जंगली चराहरूमा व्यापक रूपमा फैलिनुअघि यो प्रकोप कुखुरा फार्ममा केन्द्रित थियो । हालसम्म वर्ड–फ्लुबाट झन्डै १५ करोड कुखुरा मरेको प्रक्षेपण छ । तर, अब जंगली चराहरूले यस भाइरसको वाहकको काम गर्दा यसले डल्फिन र भालुजस्ता स्तनधारी प्रजातिहरूमा पनि आफ्नो पहुँचलाई निरन्तर विस्तार गरिरहेको छ । सन् २००६ मा वैज्ञानिक अनुसन्धानले एच५एन१ ले चराका फोक्सोभित्रको गहिराइमा बस्ने भएकाले यो मानिसहरूमा सजिलै नफैलिएको पत्ता लगाएको थियो । त्यसवेला इरास्मस युनिभर्सिटी मेडिकल सेन्टरका एभियन इन्फ्लुएन्जाविज्ञ थिइज्स कुइकेनले कुनै दिन भाइरस कुनै जीवको माथिल्लो श्वासप्रश्वास नलीमा बस्न सक्ने गरी विकसित भयो भने त्यो मानवमाझ महामारीका रूपमा विकास हुने चेतावनी दिएका थिए । 

अहिले स्पेनमा मिन्क्सहरूमा एच५एन१को प्रकोपले हामी ठ्याक्कै त्यही बाटोमा अघि बढिरहेका छौँ भन्ने संकेत गरेको छ । तर, आममानिस अर्को महामारीको सम्भावनाबारे पनि सुन्न चाहँदैनन्, र सरकार अहिलेकै महामारीविरुद्ध धेरै खर्च भइसकेको तथ्यांक देखाइरहेका छन् । विगतका जति पनि वर्ड–फ्लु प्रकोप देखिए, ती मानव–मानवबीच महामारीका रूपमा विकास भएनन् । तर, हामी सधैँ त्यति भाग्यमानी नहुन सक्छौँ । प्राणघातक इन्फ्लुएन्जा महामारी मानव इतिहासमा नियमित रूपमा देखापर्छन्, र तिनीहरू पहिलेको प्रकोपबाट मानिसहरू निको हुन् अनि फैलिउँला भनेर पर्खेर बस्दिैनन्, भलै हामी अघिल्लो प्रकोपबाट धेरै नै थाकेका नै किन नहोऔँ । र, यसपटक हामीसँग खतराका अतिरिक्त खतराविरुद्ध लड्न आवश्यक पर्ने औजार पनि तयार छन् । मुख्य कुरा, हामीले धेरै ढिलोसम्म पर्खेर बस्नुहुँदैन । 
द न्युयोर्क टाइम्सबाट