
गुल्मीको तम्घास बजारसहितका छिमेकी गाउँमा एकै दिन आठ–दशजना व्यक्तिलाई टोक्ने कुकुरमा रेबिज पुष्टि भएको छ।
एउटै कुकुरले पछिल्लो साता तम्घाससहित अर्खलेका नागरिकलाई टोकेपछि नेपाल प्रहरी र डिभिजन वन कार्यालयको सहयोगमा नियन्त्रणमा लिएर भेटेरेनरी अपताल तथा पशु विज्ञ केन्द्रमा राखिएको थियो।
केन्द्रका प्रमुख डाक्टर भरत काफ्लेका अनुसार सोमबार राति कुकुर मरेपछि बिहान परीक्षण गर्दा रेबिज पुष्टि भएको हो। कुकुरले टोकेका सबैलाई खोपको पहुँचमा ल्याउने र शंकास्पद कुकुरबाट जोगिन सबैलाई काफ्लेले आग्रह गरे।
उनले कुकुर नियन्त्रणको विषय लामो समयदेखि महसुस भए पनि स्थानीय तह र निकायबीच समन्वय नहुँदा समस्या भएको बताए। ‘सबै विषय केन्द्रको अधिकार क्षेत्रभित्र पर्दैनन्। समस्या पर्नेबित्तिकै केन्द्रलाई चौतर्फी फोन र दबाब आउँछ,’ उनले भने, ‘सबैको सहयोग र समन्वय भएन भने सधैँ जोखिम मोल्न सकिँदैन।’
मंगलबार बिहान रेसुंगा नगरपालिका– १ का काशीराम विकलाई कुकुरले टोकेर घाइते बनायो। गत २० र २१ फागुनमा रेसुंगा नगरपालिकाका विभिन्न ठाउँका ६ जनालाई कुकुरले टोकेर घाइते बनाएको थियो।
गुल्मी अस्पतालको तथ्यांकअनुसार रेसुंगा नगरपालिका– ४ का नवराज कुँवर र वडा नम्बर ६ की कोपिला नेपालीलाई कुकुरले टोकेको हो। रेसुंगाकै सीता विक, तुल्साकुमारी श्रेष्ठ र कमल गौतमलाई पनि कुकुरले टोकेको छ।
पछिल्लो तीन दिनमा इस्माका ओमप्रसाद थापा, मदानेका अंकित नेपाली र धुर्कोटकी रमा हमाल पनि कुकुरले टोकेर घाइते भएका छन्।
जिल्लामा दैनिक आठ–जनालाई कुकुरले टोक्ने गरेको छ। गुल्मी अस्पताल तम्घासका इमर्जेन्सी इन्चार्ज रमेश पन्थीका अनुसार फागुनको २३ दिनमा मात्रै एक सय २४ जनालाई कुकुरले टोकेको छ।
गुल्मी अस्पतालमा आउनेहरूको तथ्यांकका आधारमा समस्या विकराल बन्दै गएको छ । गुल्मी अस्पतालबाहिर खोप नपाइने भएकाले शारीरिक पीडासहित पटक–पटक खोप लगाउन सदरमुकाम आउनुपर्ने भएकाले व्यक्तिलाई आर्थिक रूपमा पनि समस्या छ।
४० वर्षीया रजुनले गुमाइन् ज्यान
गुल्मीदरबार गाउँपालिका– ६ की ४० वर्षीया रजुन शाहले रेबिजको कारण १२ पुस ज्यान गुमाइन्। उनलाई ११ मंसिरमा बेँसी गएको वेला कुकुरले टोक्यो। हातको हत्केलामा ठूलो चोट भएकाले स्थानीय बिएनसिसी मेडिकलमा उपचार गरिन्।
मेडिकल सञ्चालक बकरत मियाँले शाहको घाउको उपचार गरे । शाहले बल्कोट स्वास्थ्यचौकीबाट एन्टिटिटानस खोप लगाइन् । तर, रेबिजविरुद्धको खोप लगाइनन् । बीचमा घाउ केही निको भएपछि शाह घरमै बसिन्। तर, उनलाई २७ दिनपछि रेबिजको लक्षण देखिन थाले।
उपचारका लागि तम्घासको शुभलक्ष्मी क्लिनिक हुँदै काठमाडाैंको टेकु अस्पताल त पुगिन्। तर, समस्या निकै धेरै बल्झिएको थियो। उपचार सम्भव नभएपछि शाहको मृत्यु भयो।
किसान र गरिब देख्दैन सरकार
छत्रकोट– ५ का ५२ वर्षीय डालप्रसाद पन्थीलाई दुईवटा उन्नत जातका भैँसी रेबिजले मरेपछि अचेल शोकसँगै भोक छैन। मलिन बनेर गोठ पुग्छन्। तीन लाखभन्दा बढीका भैँसी मरे। गाउँभर रेबिजको त्रास थियो। त्यसवेला छिमेकामा दूध बिक्न छोड्यो । आफन्त टाढिएर छिमेकीले कोभिडको वेलामा जस्तै गराउन थालेकाले पन्थीका ओठ सुक्थे।
उनीसँग कृषिमा कत्रो ऊर्जा थियो । गोठ गाईभैँसीले भरे। कुखुरा तथा माछापालन गरे । उनी कृषि कर्मका उदाहरणीय पात्र हुन् । जब गत २७ पुसमा भैँसी मर्याे । उनले मृत्युको कारण खोजेनन्।
केही समयपछि गाउँमा अरूका पनि पशुचौपाय मरेको पत्तो पाए । त्यसपछि पन्थीले पशु प्राविधिक र कार्यालयहरूसँग समन्वय गरे । गुल्मीदरबार– ६ मा कुकुरले टोकेपछि रेबिजका कारण मान्छेको मृत्यु भएकाले शंका उब्जियो। केही दिनअघि पन्थीकै फर्ममा रहेको अर्को ब्याउने भैँसी पनि मर्याे। त्यो भैँसीको लक्षणका आधारमा भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले रेबिज जाँच गर्दा पजिटिभ आयो । त्यस्तै गुल्मीदरबार गाउँपालिका– ४ वीरबासका बाबुराम कँडेलको भैँसी पनि रेबिज कारण मरेको थियो ।
जब कृषि थालेँ : आँखा, कुखुरा र भैँसी गुमाएँ
व्यावसायिक पशुपालक डालप्रसाद पन्थीले ०७६ सालबाट सिद्धिविनायक कृषि तथा पशुपक्षी फर्म सञ्चालन गरेका छन् । फर्ममा अहिले पाँच भैँसी, एक गाई तथा पाडापाडी गरेर १० वटा छन्। एक हजार बढी लेयर्स कुखुरा छन्। ४० हजारभन्दा बढी माछा पोखरीमा पालेका छन्।
गुल्मी छत्रकोट गाउँपालिका–५ खर्ज्याङका व्यावसायिक पशुपालक किसान डालप्रसाद पन्थी।
पन्थीले कृषि कर्ममै घाइते भएर दुई वर्ष अघि आँखा गुमाए। गत भदौमा अज्ञात रोगका कारण करिब एक हजार कुखुरा र रेबिजका कारण दुई भैँसी मरे। अहिले दैनिक ४० लिटरभन्दा बढी दूध उत्पादन हुन्छ । त्यसमध्ये २०–२२ लिटर गाउँमा बिक्थ्यो। तर, भैँसी रेबिजले मरेपछि स्थानीयले दूध किन्न छोडे। घरमा आएर पानी पनि पिएनन्।
जसका कारण जीवनमा सबैभन्दा बढी हीनताबोध भएकाे पन्थीले बताए । ‘कृषि कर्मकै कारण आँखा, कुखुरा र भैँसी त गुमाएँ नै । म पीडामा हुँदा नजिकका छिमेकी र आफन्तले पनि घर बारेकाले त्यसवेला अत्यन्तै पीडा महसुस गरेँ,’ गहभरि आँसु पार्दै पन्थीले भने, ‘राम्रो गर्नेका भगवान् पनि हुँदो रहेनछन्।’
सान्त्वनासमेत दिँदैनन् स्थानीय तह
डालप्रसाद पन्थीका दुई भैँसी मरे। एउटा गरिब किसानलाई तीन लाखभन्दा बढीको खाल्डो पर्नु सानो कुरा होइन । त्यसवेला भैँसी मरेको पीडासँगै दूध नबिकेको पीडा पन्थीसँग थियो । तर, स्थानीय तहले फोनमा समेत सान्त्वना नदिएको डालप्रसादले गुनासो गरे। उनले गत भदौमा कुखुरा मरेपछि मुचुल्का उठाएर पालिकामा बुझाए।
अहिलेसम्म रुप्पे पाएनन्। अहिले फेरि भैँसी मरेर थप क्षति पुग्यो। तर, पालिकाको तर्फबाट कुनै सदभाव र सान्त्वना नपाएको पन्थीले बताए। उनले आफैँले पशु प्राविधिक र विज्ञ केन्द्रबाट डाक्टर बोलाएर भैँसीको चेकजाँच, शल्यक्रिया र व्यवस्थापनको काम गरेको बताए।
खोपमा केन्द्रित छौँ : स्थानीय सरकार
रेबिजका कारण रजुन शाहले ज्यान गुमाइन् । रजुनको पीडाले परिवारमा कसैका आँखा ओभाएका छैनन् । गाउँ–गाउँमा पशुचौपाय रेबिजका कारण मर्न मरे । तर, पीडित परिवारका पीडा कम गर्न स्थानीय सरकारको चासो देखिएन।
गुल्मीदरबार गाउँपालिका प्रमुख सरोजकुमार थापाले रेबिजको कारण मान्छेकै ज्यान गएकाले थप मानवीय क्षति नहोस् भनेर गाउँ–गाउँमा रेबिजविरुद्धको खोप लगाउन केन्द्रित भएको बताए । उनले मृतकको विषयमा पनि छानबिन गरेर प्रतिवेदन बनाएको बताउँदै पीडित परिवारको राहतका लागि योजना बनाउने बताए।