१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ फाल्गुण २१ आइतबार १३:५०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ठेक्का लागेको १२ वर्षपछि दैलेख र अछाम जोड्ने पक्की पुल बन्दै 

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण २१ आइतबार १३:५०:००

दैलेख र अछाम जोड्ने पक्की पुल ठेक्का लागेको १२ वर्षपछि निर्माण थालिएको छ । ०६७ सालमा ठेक्का सम्झौता भएको पुल निर्माण कार्य १२ वर्षपछि मात्र सुरु भएको हो ।

१३ करोड लागतमा निर्माण सम्पन्न गर्नुपर्ने उक्त पुलको ठेक्का कुमार निर्माण सेवा काठमाडौंले पाएको थियो । जिम्मेवारी पाएलगत्तै डिजाइन स्टिमेटमा समस्या देखिएको भन्दै ठेकेदारले काम रोकेको थियो । पुल निर्माण हुने क्षेत्रमै पुगेर प्रभावकारी डिजाइन गर्नुपर्नेमा डिजाइन गर्ने इन्जिनियरले समेत वास्तविक डिजाइन नगरेपछि समस्यामा परेको उक्त पुलको अहिले डिजाइन परिवर्तन गरिएको छ ।

सुरुमा  वेल डिजाइन रहेको पुल अहिले पाइल डिजाइनमा काम सुरु गरिएको छ । नयाँ डिजाइनअनुसार दैलेख खण्डको पुलको दुई भाग पक्की हुनेछ भने अछाम सिमानाको भागमा बेलिब्रिज राखिनेछ । निर्माण कम्पनीका प्रभु गिरीले आगामी एक वर्षभित्र पुल निर्माण कार्य सम्पन्न गर्ने दाबी गरे ।

कर्णाली प्रदेशअन्तर्गत दैलेखको पश्चिम क्षेत्र र सुदूरपश्चिम प्रदेशको अछामसँग आवागमन सहज गर्ने उद्देश्यले दैलेखको आठबीस नगरपालिकास्थित कर्णाली नदीमा १२ वर्षअघि निर्माण थालिएको पक्की पुल बन्न थालेपछि स्थानीय खुसी भएका छन् । ‘हामीले बारम्बार निर्माण कम्पनी, जिल्ला प्रशासन कार्यालय, स्थानीय पालिका, सुर्खेत सडक डिभिजनलगायतका स्थानमा कुरा राख्यौँ । १२ वर्षपछि खोलो फर्कन्छ भनेझैँ भएको छ । अब बन्छ भन्ने आशा छ,’ स्थानीय जैसरा माझीले भनिन् ।

यसअघि पुलको दैलेख क्षेत्रमा पर्ने खम्बा मात्र उठाएर निर्माण कम्पनी बेपत्ता भएको थियो । मुख्य ठेकेदारले पेटीमा अर्को ठेकेदारलाई कामको जिम्मेवारी दिने र कमिसनमा ठेक्का बिक्री गर्ने प्रचलनका कारण ठेक्का रोकिएको स्थानीयले गुनासो गर्दै आएका थिए । पहिलोपटकको ठेकेदारले स्थानीयलाई काम लगाउने, पसलबाट उधारो कारोबार गर्ने र भागेर जाँदा धेरैले काम गरेको पैसासमेत पाएका थएनन् । मुख्य ठेकेदारको योजनामै जनता ठग्ने काम भए पनि अहिले काम सुरु भएपछि स्थानीयले चित्त बुझाएका छन् ।

पुल निर्माण सम्पन्न भए दैलेखको पश्चिम क्षेत्र राकम कर्णालीको मुख्य बजारबाट सुदूरपश्चिम प्रदेशको अछामको उत्तरी क्षेत्रलगायतका विभिन्न जिल्लामा यातायात सहज हुनेछ । यसअघि राकम कर्णालीमै मध्य पहाडी सडकअन्तर्गत राकमको बेलखेतमा पक्की पुल निर्माण भएपछि सुदूरपश्चिम र कर्णाली प्रदेशको सम्बन्ध विस्तारमा निकै सहज भएको छ ।

कर्णाली राजमार्गको जाक्सी खोला पुलको हालत पनि उस्तै
कर्णाली राजमार्गको जाक्सी खोलामा निर्माण सुरु गरिएको पक्की पुलको हालत पनि अहिलेसम्म उस्तै छ । १२ वर्षदेखि निर्माण थालिएको उक्त पुल अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।

अहिलेसम्म नाै पेटी ठेकेदारहरू काममा आएको र सबैले स्थानीयको श्रम र सामान खाएको स्थानीयको आरोप छ । ‘हामीले देउता पुकारेका छौँ । हाम्रो श्रमको ज्याला पनि पाइएन्,’ स्थानीय देउकला माझीले भनिन् ।