मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ फाल्गुण २१ आइतबार १०:०९:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चिनियाँ अर्थतन्त्रका चार सारथि

Read Time : > 3 मिनेट
२०७९ फाल्गुण २१ आइतबार १०:०९:००

चिनियाँ कम्युनिस्ट पार्टीले विश्वको दोस्रो ठूलो अर्थतन्त्रलाई हाँक्न चारजनालाई चुनेको छ, तर सी जिनपिङ सरकारमा कुनै पनि महिलालाई अर्थतन्त्रसँग सम्बन्धित पद छैन 

चिनियाँ कम्युनिस्ट पार्टीले विश्वको दोस्रो ठूलो अर्थतन्त्रलाई हाँक्न चारजना व्यक्तिलाई चुनेको छ । प्रधानमन्त्रीका रूपमा ली कियाङ, कार्यकारी उपप्रधानमन्त्री डिङ जुक्सिआङ, उपप्रधानमन्त्री ही लिफेङ र नयाँ केन्द्रीय बैंक प्रमुखमा झु हेक्सिन रहनेछन् । चीनको अर्थतन्त्र सञ्चालन गर्ने कम्युनिस्ट पार्टीका पदाधिकारीमा ठूलो फेरबदल हुने भएको छ । आइतबारदेखि सुरु हुने चीनको वार्षिक नेसनल पिपुल्स कंग्रेसको पूर्वसन्ध्यामा पार्टीका उच्च नेताहरूले प्रमुख सरकारी पदका लागि नाम छनोट प्रक्रियालाई अन्तिम रूप दिएका छन् । यी नाम अब नेसनल कंग्रेसले अनुमोदन गर्नेछ । 

चिनियाँ कम्युनिस्ट पार्टीले विश्वको यस दोस्रो ठूलो अर्थतन्त्रलाई हाँक्न चारजना व्यक्तिलाई चुनेको छ । प्रधानमन्त्रीका रूपमा ली कियाङ, कार्यकारी उपप्रधानमन्त्री डिङ जुक्सिआङ, उपप्रधानमन्त्री ही लिफेङ र नयाँ केन्द्रीय बैंक प्रमुखमा झु हेक्सिन रहनेछन् । यी सबै पुरुष हुन् । सी जिनपिङ सरकारमा कुनै पनि महिलालाई अर्थतन्त्रसँग सम्बन्धित पद दिइएको छैन । 

उल्लिखित चारै व्यक्तिलाई नेसनल कंग्रेसले अनुमोदन गरेर औपचारिकता दिनेछ । अहिलेसम्म अर्थतन्त्रको जिम्मेवारीमा पश्चिममा शिक्षा हासिल गरेकाहरूलाई स्थान दिने गरिएको थियो । तर, हालको नियुक्ति देशका आर्थिक संस्थानमा पार्टीको नियन्त्रण बलियो बनाइराख्ने सीको प्रयासका रूपमा हेरिएको छ । आफ्ना पूर्ववर्तीविपरीत उल्लिखित चारैजना कि त सीका नजिकका सहयोगी हुन्, कि उनका विश्वासयोग्य पात्रसँग जोडिएका छन् । यस्तै, उनीहरू पश्चिममा शिक्षित–दीक्षित पनि होइनन् । उनीहरूसँग न अन्तर्राष्ट्रिय आर्थिक संगठनमा काम गरेको अनुभव नै छ । 

सुस्त उपभोग, उच्च बेरोजगारी दर, ओरालो लागेको घरजग्गा कारोबार, व्यवसायहरूको आत्मविश्वासमा कमी, स्थानीय सरकारको ऋण समस्या तथा अमेरिकाले थोपरेको प्रविधि–प्रतिबन्धका कारण बढ्दो तनावलाई कसरी उनीहरूले सम्बोधन गर्छन्, त्यो भने हेर्न बाँकी छ । 

नेसनल पिपुल्स कंग्रेसले यो वर्षका लागि आर्थिक विकासका लक्ष्यहरू निर्धारण गर्नेछ । गत वर्षको तुलनामा यो वर्षको वृद्धि लक्ष्य ३ प्रतिशतले सुधार हुनेछ । गत वर्षको वृद्धि दशककै सर्वाधिक कमजोर प्रदर्शनमध्ये एक हो । तर, चीनले महामारीअघि पछ्याइरहेको वृद्धिलाई भेटाउन भने अब सायदै सम्भव देखिन्छ । अबको नयाँ टिमले कोभिड महामारीपछिको स्थितिलाई पहिलेकै लयमा फर्काउनुपर्नेछ । 

ली कियाङ : ली कियाङ सांघाईका पूर्वपार्टी प्रमुख हुन् । गत अक्टोबरको जिम्मेवारी फेरबदलमा सीपछि उनको नाम पार्टीको दोस्रो नम्बरमा राखिएको थियो । आगामी महाधिवेशनमा राजीनामाको पालो पर्खिरहेका वर्तमान प्रधानमन्त्री लि खछियाङलाई यी ६३ वर्षीय कियाङले प्रतिस्थापन गर्नेछन् । चीनको राजनीतिक नियमअनुसार परम्परागत रूपमै अर्थतन्त्र व्यवस्थापनमा प्रधानमन्त्री जवाफदेही हुन्छ । यसमा थुप्रै उपप्रधामन्त्रीले विभिन्न खालका सहयोग गर्छन् । चीनको पूर्वी झेजियाङ प्रान्तमा जन्मेका कियाङले आफ्नो करिअरको सुरुवात सिचाइँ पम्पिङ स्टेसनबाट गरेका थिए । 

कृषि यान्त्रिकीकरणमा स्नातक उनले पछि प्रान्तीय कर्मचारी भएर सेवा गरे । सन् २००२–०७ सम्म सी झेजियाङ प्रान्तको पार्टी प्रमुख हुँदा कियाङले डि–फ्याक्टोका रूपमा काम सुरु गरेपछि उनको करिअर सुरु भयो । माओ युगपछि कियाङ पहिलो यस्तो प्रधानमन्त्री हुनेछन्, जसले चीनको मन्त्रिपरिषद्मा उपप्रधानमन्त्रीका रूपमा काम गरेका छैनन् । सीसँगको व्यक्तिगत सम्बन्धका कारण कियाङले बढुवामा आफूभन्दा योग्य उम्मेदवारलाई पनि पछाडि पार्न सफल भएका हुन् । गत वर्ष पनि उनको बढुवा भएको थियो । केही विश्लेषकका अनुसार सांघाईको उनको कार्यकाल विशेषगरी गत वर्षको कोभिडपूर्वको व्यावहारिक शैलीले उनलाई स्थापित हुन सहज बनायो । 

उनकै कार्यकालमा टेस्लाले अमेरिकाभन्दा बाहिर पहिलोपटक गिगाफ्याक्ट्री सुरु गरेको थियो । चीनमा एकल विदेशी स्वामित्वको कम्पनी हुने टेस्ला एक्लो कम्पनी बनेको थियो । विश्लेषकका अनुसार चीनको व्यावसायिक वातावरण दुई वर्षभित्र अझै खुकुलो हुनुपर्छ । कियाङको नेतृत्वमा निजी क्षेत्र तथा वैदेशिक लगानीकर्तालाई प्रोत्साहन गर्ने सम्भावना पनि उत्तिकै देखिन्छ । कतिसम्म भने सन् २०१९ मा उनले सांघाईस्थित नस्दाक स्टाइल स्टक मार्केटको निरीक्षणसमेत गरेका थिए । 

डिङ जुक्सिआङ : हाल राष्ट्रपति सीका चिफ अफ स्टाफ रहेका जुक्सिआङ सम्भवतः अर्का कार्यकारी उपप्रधानमन्त्री बन्नेछन् । नयाँ पोलिटब्युरो स्थायी कमिटीको क्रमका आधारमा उनी उपप्रधानमन्त्री बन्न सक्ने विश्लेषकहरूको अनुमान छ । ६० वर्षीय जुक्सिआङसँग न प्रान्तीय नेतृत्वको अनुभव छ, न चीनको आर्थिक नीति निर्माणको लामो अनुभव नै । तर, उनले अब घरेलु अर्थतन्त्र, विशेषगरी देशको राज्यकोषीय नीति निर्माताको भूमिका निभाउनेछन् । 

पूर्वी प्रान्तको जियान्सुमा जन्मिएका जुक्सिआङले धातुविज्ञान अध्ययन गरेका छन् । सांघाई रिसर्च इन्स्टिच्युट अफ मेटेरियल्समार्फत करिअर सुरु गरेका उनले त्यहाँ १७ वर्ष बिताए । शोधकर्ताबाट उदाएका उनी पार्टीको उपप्रमुख बने । 

पछि सांघाईमै कम्युनिस्ट पार्टी कमिटीसँग जोडिएका उनले सीको प्रमुख सहयोगीका रूपमा सेवा गरे । चीनको मुख्य कार्यमा सीको बढुवा भएसँगै सन् २०१३ मा जुक्सिआङ सीको मुख्य सचिवका रूपमा बेइजिङ गए । 

ही लिफेङ : चीनको शक्तिशाली राष्ट्रिय विकास तथा सुधार आयोग हाँकिरहेका लिफेङ आर्थिक, वित्तीय तथा औद्योगिक मामिला हेर्ने गरी उपप्रधानमन्त्री नियुक्त हुने विश्लेषकको आकलन छ । 

लिफेङ हालका उपप्रधानमन्त्री लिउ हीका उत्तराधिकारीमा रूपमा आउनेछन् । सन् २०१८–१९ मा अमेरिकासँगको व्यापार–वार्ताका वेला लिउले प्रभावकारी भूमिका निभाएका थिए । उनी हार्वर्डदीक्षित अर्थशास्त्रीसमेत हुन्, जसलाई पूर्व–पश्चिमबीचको सेतुसमेत भनिन्छ । तर, चीनकै साइमेन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्तानक तह उत्तीर्ण गरेका लिफेङले भने विदेशी डिग्री लिएका छैनन् । उनले वैश्विक आर्थिक संकटपछि सहरको वरिष्ठ अधिकारीका रूपमा सेवा गरेका थिए । लिफेङ टियान्जिनमा चीनको म्यानहटनका रूपमा चिनिएको व्यापक सरकारी लगानीको विशाल निर्माण परियोजनाको सफल नेतृत्वकर्ताका रूपमा चिनिन्छन् । 

झु हेक्सिन : पार्टीको कंग्रेसमा अनुमोदन हुने अर्को पद भनेको पिपुल्स बैंक अफ चीनको गभर्नर हो । यो पद चीनको मौद्रिक एवं विदेशी आर्थिक नीतिका लागि जिम्मेवार हुन्छ । चीनको सरकारी स्वामित्वको वित्तीय संस्था सिटिक ग्रुपका प्रमुख हेक्सिनले अमेरिकामा दीक्षित केन्द्रीय बैंकका गभर्नर तथा अर्थशास्त्री यी ग्याङलाई प्रतिस्थापन गर्नेछन् । 

हेक्सिनले अधिकांश समय पूर्वी प्रान्तको जिआंसुस्थित बैंक अफ कम्युनिकेसनमा बिताएका छन् । यस्तै, सिचुवान प्रान्तमा सन् २०१६–१८ बीच डेपुटी गभर्नर भएर काम गरेको अनुभव पनि उनीसँग छ । त्यसपछि उनले सिटिक ग्रुपमा स्थानान्तरण हुनुअघि पिपुल्स बैंक अफ चाइनामा दुई वर्ष डेपुटी गभर्नरकै रूपमा काम गरे । तर, इलिनोइस विश्वविद्यालयबाट अर्थशास्त्रमा पिएचडी गरेका यीको तुलनामा हेक्सिनसँग विदेशी अनुभव भने कम छ । यसैबीच, लिफेङले पार्टीसचिवका रूपमा समवर्ती भूमिका निभाउन सक्नेछन् । यसले उनलाई केन्द्रीय बैंकमा राजनीतिक समर्थन बढाउन त सहयोग गर्नेछ, तर विश्वसनीयता र प्राधिकार भने घटाउन सक्छ ।

– सिएनएन