मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ फाल्गुण २१ आइतबार ०९:१३:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रशिक्षक तयार पार्दै  पटिहानी क्लब

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण २१ आइतबार ०९:१३:००

माध्यमिक तहका नेपाली शिक्षक गुणराज महतो ५४ वर्षका भएका छन् । खेलकुदमा अत्यधिक रुचि भएका उनी आफू कार्यरत विद्यालयका खेल शिक्षक पनि हुन् । पढाइसँगै विद्यालयका विद्यार्थीलाई भलिबल र फुटबल खेल सिकाउन उनी व्यस्त हुन्छन् । शिक्षकको भूमिकासँगै प्रशिक्षक बनेर पनि महतो विद्यालयका विद्यार्थीलाई प्रतियोगितामा सहभागी गराउँछन् । 

अहिले उनी आफूलाई प्रशिक्षकमा समेत अब्बल बनाउन पटिहानी फुटबल क्लबले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण तालिममा व्यस्त भइरहेका छन् । भरतपुर २२ पदमपोखरीको अमर उच्च माध्यमिक विद्यालयको खेलमैदानमा प्रशिक्षक प्रशिक्षण भइरहेको छ । प्रशिक्षणमा सहभागी भएपछि महतोले सामान्य ज्ञानको भरमै प्रशिक्षण दिइरहेको अनुभव गरेका छन् । ‘हामी अवसर नै नपाएका रहेछौँ, हचुवाको भरमा विद्यार्थीलाई सिकाएका रहेछौँ,’ उनले भने, ‘आफूले जे देखेँ र गरेँ, त्यही पराम्परागत शैली नै विद्यार्थीलाई खेलसम्बन्धी ज्ञान दिँदै आएको रहेछु ।’ 

उनका अनुसार फुटबल भनेपछि विपक्षी खेलाडीलाई छलाएर गोल गर्ने हो । यसअघि खुट्टाले बल हान्ने भन्ने मात्र उनको बुझाइ थियो । खेलाडी र प्रशिक्षकक लागि शारीरिक अभ्यास मात्र नभई मनोविज्ञान, संस्कृति, मौसमलगायतका धेरै विषयमा बुझ्नुपर्ने उनले बताए । ‘एक खेल शिक्षक भए पनि विगतमा मसँग यसबारे शून्य ज्ञान रहेछ,’ प्रशिक्षणमा आबद्ध रहँदा आफूभित्रका धेरै पक्षको कमी रहेको उनले बताए, ‘अहिले बल्ल थाहा भयो, वास्तवमा प्रशिक्षक बन्न के–के गर्नुपर्ने रहेछ, अब साधारण तालिम दिन सक्ने प्रशिक्षक बनेको छु ।’ 

चारदिने प्रशिक्षण
पटिहानी फुटबल क्लबले ‘शिक्षासँगै खेलकुद’ भन्ने नारासहित ६ देखि ९ फागुनसम्म चारदिने प्रशिक्षण आयोजना गरेको हो । प्रशिक्षणमा १२ विद्यालयका खेलकुद शिक्षकसहित २९ जनाले प्रशिक्षण लिएका थिए । उनीहरू सबैको अनुभव महतोको जस्तै छ । भरतपुर १३ उज्ज्वलनगरका रविन अधिकारी स्थानीय क्षेत्रमा टोली बनाएर चितवनसहित छिमेकी जिल्लाका विभिन्न फुटबल प्रतियोगितामा सहभागी हुँदै आएका छन् । २७ वर्षका अधिकारीले भने ‘सानै उमेरदेखि हामीले सक्षम प्रशिक्षकबाट प्रशिक्षण पाएको भए खेललाई थप सुधार गर्न सकिन्थो होला ।’ 

अधिकारीको लक्ष्य प्रशिक्षणपछि गाउँमा रहेका बालबालिकालाई फुटबल सिकाउने र राष्ट्रिय टोलीमा सहभागी गराउने लक्ष्य राखेका छन् । विद्यालय तहको खेलकुद सुधार्न र समुदायमा खेल प्रशिक्षक तयार पार्न खेल प्रशिक्षक प्रशिक्षण आयोजना गरिएको क्लबका अध्यक्ष पोष्टराज तिमल्सिनाले बताए । ‘खेलको जगका रूपमा विद्यालय खेलकुद भएकाले त्यही तहबाट अब्बल खेलाडीको छनोट र उचित प्रशिक्षण दिन तालिम सफल हुने क्लबको विश्वास छ,’ तिमल्सिनाले भने, ‘नेपालमा नै पहिलोपटक खेल प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरेका छौँ । यसको रिजल्ट तत्काल नआए पनि दीर्घकालीन रूपमा धेरै अर्थ राख्छ ।’

एएफसी ए लाइसेन्सप्राप्तद्वारा प्रशिक्षण
नेपाली फुटसलका मुख्य प्रशिक्षक एवं एएफसी ‘ए’ लाइसेन्सप्राप्त राष्ट्रिय टिमका पूर्वसहायक प्रशिक्षक विष्णु गुरुङसँगै चितवन जिल्ला फुटबल संघका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले प्रयोगात्मक प्रशिक्षण दिएका थिए । भरतपुर महानगरपलिका–२२ का वडा सदस्य सूर्यबहादुर गुरुङले चार दिनको तालिमले आफ्नो विकासको परिभाषा नै बदलेको बताए । उनले भने, ‘खेलकुदको विकास पनि देश विकासको मुख्य आधार रहेछ,’ उनले भने, ‘राज्यले गर्नुपर्ने काम क्लबले गरेको छ । हामी वडा कार्यालयले पनि खेलकुदको विकासका लागि योजना बनाएर अघि बढ्नेछौँ ।’