Skip This
वनको डढेलो बस्तीमा फैलिँदा तेह्रथुममा १४ घर जले
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १३ शनिबार
  • Saturday, 27 July, 2024
२o७९ फाल्गुण १३ शनिबार o६:१८:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

वनको डढेलो बस्तीमा फैलिँदा तेह्रथुममा १४ घर जले

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण १३ शनिबार o६:१८:oo

तेह्रथुमको वनमा लागेको डढेलो बस्तीमा सल्किएको छ । आठराई गाउँपालिका– ६ चुहानडाँडाको हात्तीखर्कमा आगलागी हुँदा १४ घर जलेका छन् भने एकजना घाइते भएका छन् ।

हात्तीखर्क गाउँको पुछारमा रहेको फक्चुवाखोला दोभानको जंगलबाट शुक्रबार दिउँसो सल्किएको डढेलो माझीटार सामुदायिक वनमा पुगेको थियो । आगो फैलिँदै साँझ हात्तीखर्क गाउँको बस्तीमा पुगेको इलाका प्रहरी कार्यालय आठराईका सइ जुलुम चौधरीले बताए । उनका अनुसार आगलागीबाट फुसका १४ वटा घर जलेका छन् । 

नौवटा घरमा स्थानीय बसोवास गर्दै आएका थिए भने पाँच घरका बासिन्दा बसाइँ सरेर अन्यत्र गएको अवस्थामा आगलागी भएको आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम लिम्बूले बताए । आगलागीमा परी घाइते भएकी स्थानीय ६० वर्षीया वृद्धा याङ्दोल्मा योञ्जनलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर पठाइएको छ ।

आगलागी शुक्रबार रातिसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण पनि प्राप्त हुन सकेको छैन । 

जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष हिउँदयाम सुक्खामै बितेको छ । हिउँदका तीन महिना (१५ मंसिरदेखि १५ फागुनसम्म) औसतमा ६०.१ मिलिमिटर वर्षा हुनुपर्ने हो । तर, यो वर्ष हिउँद सकिनै लाग्दा पनि आठ मिलिमिटर नाघेको छैन । पश्चिम नेपालका केही क्षेत्रमा हल्का वर्षा भए पनि काठमाडौंसहित मध्य र पूर्वी क्षेत्रमा वर्षा नै हुन सकेको छैन । जसकारण आगलागी र डढेलोका घटना पनि बढेका हुन् ।

 आगलागीमा परी पाँचथरमा दुई बालकको ज्यान गयो
आगलागीमा परी पाँचथरमा दुई बालकको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका– ७ भारपास्थित प्रेम पन्थाकको भान्साकोठामा आगलागी भएको हो । आगलागीमा शरण पन्थाकका पाँच वर्षीय छोरा सेसेहाङ र सन्तोष खातीका चार वर्षीय छोरा निशानको ज्यान गएको प्रहरीले जनाएको छ । बालक खाती सोही घरमा बस्दै आएका थिए भने छिमेकी शरणका छोरा सेसेहाङ उनीसँग खेल्न त्यहाँ पुगेका थिए । आगलागीबाट घर पनि ध्वस्त भएको छ । दिउँसो अभिभावक दाउरा खोज्न जंगल गएका वेला आगलागी भएको हो । आगो के कारणले लाग्यो भनेर अहिलेसम्म खुल्न नसकेको पाँचथरका सिडिओ गणेश गैरेले बताए ।