१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ फाल्गुण १२ शुक्रबार ०९:०५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

महानगरको कल सेन्टरमा आठ महिनामा २५ हजार फोन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ फाल्गुण १२ शुक्रबार ०९:०५:००

काठमाडौं महानगरपालिकाको कल सेन्टरमा हालसम्म २५ हजार आठ सय ९२ कल (सोधपुछ तथा गुनासो) आएको छ ।  महानगरका अनुसार सेन्टर स्थापनाको आठ महिनामा दुई हजार दुई सय ७९ गुनासोसहित उक्त कल आएको हो । कल सेन्टरमा आएका सबै गुनासो सम्बन्धित निकायमा पठाएको महानगरले जनाएको छ ।

तीमध्ये १३ सय ५९ गुनासो सम्बोधन पनि भइसकेको छ । नौ सय २० गुनासो सम्बोधनको चरणमा छन् । कल सेन्टरमा पछिल्लो तीन महिनामध्ये मंसिरमा सबैभन्दा धेरै १५ सय ९२ कल आएका थिए । पुसमा १२ सय ४७ र माघमा सबैभन्दा कम ११ सय कल आएका छन् । 

नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि १६ जेठमा बसेको पहिलो कार्यपालिका बैठकले सात दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्दै २४ जेठदेखि राष्ट्रिय सभागृहमा केन्द्र सञ्चालन गरिएको थियो । महानगरसँग कुनै गुनासो वा सोधपुछ गर्नुपरे टेलिफोन नम्बर १६६००१०५५११ मा निःशुल्क गर्न सकिने व्यवस्था छ । अब टोल फ्री नम्बरसहित इमेल, वेबसाइटबाट पनि गुनासो, सुझाव, समस्या पठाउन सकिने व्यवस्था गरेको छ ।

 नगर प्रहरीसँग सम्बन्धित गुनासो धेरै
५ फागुनसम्मको विवरणअनुसार गुनासोमध्ये सबैभन्दा धेरै नगर प्रहरीसँग सम्बन्धित छन् । सेन्टरमा आएको आठ सय ३४ मध्ये १७ गुनासो मात्रै समाधान हुन बाँकी छ । यस्तै, मेयरसँग सम्बन्धित पाँच सय १४ गुनासो आएका थिए । त्यसमध्ये दुई सय ५६ समाधान भइसकेको र दुई सय ५८ गुनासो सम्बोधन हुन बाँकी छ । वातावरणसँग सम्बन्धित चार सय ४८ गुनासोमध्ये दुई सय २९ समाधान भइसकेका छन् ।

दुई सय १९ गुनासो समाधान हुन बाँकी छ । सार्वजनिक निर्माणसम्बन्धी चार सय ३७ गुनासो आएका छन् । एक सय ७८ गुनासो सम्बोधन हुँदा दुई सय ५९ गुनासो सम्बोधन हुन बाँकी छ । जुन स्वास्थ्य, शिक्षा, प्रशासनसम्बन्धी गुनासो कम आएका छन् ।

कल सेन्टर स्थापनाको सुरुमा मेयर बालेन्द्र साहलाई बधाई, शुभकामना दिन देशभरिबाट फोन आएको थियो । त्यसपछि क्युआर कोड कहाँ बन्छ ? राष्ट्रिय परिचयपत्र कहाँबाट जारी हुन्छ ? राजस्व कहाँबाट तिर्ने ? फोहोर कहिलेबाट उठ्छ ? एसइईको नतिजा आउन लाग्यो ? मिठाई पसलमा भिडभाड लाग्छ, अनुगमन गर्नुपर्‍यो, सडक कुकुरहरूले दुःख दिए, जेब्रा क्रसिङ मेटियो, खानेपानीमा ढल मिसिएर पानी आयो । पानीपुरी बेच्नेलाई नियन्त्रण गर्नुपर्‍यो । सडकबत्तीको तार चुँडियो ।

निःशुल्क शववाहन चाहियो भन्ने प्रश्न, सुझाव, गुनासोहरू आएको महानगरले जनाएको छ । ‘सुरु–सुरुमा मेयरसाबलाई बधाई, शुभकामना धेरै आयो । कतिपयले त मेयरसाबलाई सघाउनुस् है भनेर सुझाव दिन्थे । पछिपछि पूर्वाधार, फोहोरमैला र ट्राफिक व्यवस्थापनका विषय धेरै आए,’ महानगरअन्तर्गत सूचना प्रविधि विभाग प्रमुख नमराज ढकालले भने, ‘हामीलाई पोखरादेखि फोन आए । किसानले मल पाएनन् भन्ने गुनासो आए । त्यस्ता गुनासो हाम्रो क्षेत्रमा नभए पनि यहाँ सम्पर्क गर्ने ठाउँ भनी देखाइदिन्छौँ ।’

 सेन्टरका कर्मचारीलाई सुविधा थप
महानगरले कल सेन्टरमा काम गर्ने कर्मचारीका लागि निर्देशिका नै बनाएर सुविधाको व्यवस्था गरेको छ । सेन्टरमा काम गर्ने कर्मचारीका लागि यातायात सुविधा, मोबाइल फोन र अतिरिक्त सुविधाको समेत व्यवस्था गरेको हो ।कल सेन्टर सञ्चालन निर्देशिका ०७९ को दफा १३ मा सेन्टर तथा सेन्टरको सम्पर्कमा रही कार्यसम्पादन गर्नेसम्बन्धी कर्मचारीलाई सुविधा हुने व्यवस्था गरिएको छ ।

निर्देशिकाको दफा १३ (क)मा सेन्टरमा काम गर्ने कर्मचारीलाई इन्धनको सुविधा उपलब्ध हुने व्यवस्था गरिएको छ । १३ (ख)मा सेन्टरमा काम गर्ने कार्यालय सहयोगीबाहेक सबै र विभागको सम्पर्क व्यक्ति बढीमा दुईजना कर्मचारीका लागि पाँच सय रुपैयाँको सेवा उपलब्ध हुनेछ ।