
एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको मधेस प्रदेश कार्यालयले त्यस प्रदेशअन्तर्गतका शाखामा कार्यरत सम्पूर्ण फिल्ड कर्मचारीका लागि ‘प्रभावकारी फिल्ड व्यवस्थापन’सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । कार्यालयले चरणबद्ध रूपमा जितपुर, लालबन्दी, बर्दिवास, चोहर्वा, तथा रूपनीलगायतका स्थानमा उक्त तालिम सञ्चालन गरेको हो ।
संस्थाको शाखा कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीलाई लघुवित्त र यसको महत्व, संस्थाले समुदायस्तरमा प्रदान गर्दै आइरहेका वित्तीय तथा गैरवित्तीय कार्यक्रम, संस्थाको नीतिबमोजिम कसरी कार्यक्रम सञ्चालन तथा सेवा प्रवाह गर्ने, सरल, सुलभ र ग्राहक सदस्यमुखी सेवा प्रवाहका बारेमा तालिम दिइएको जनाइएको छ ।
त्यस्तै, ग्राहक सदस्यलाई उनीहरूको वित्तीय कारोवार गर्न सक्ने क्षमता तथा व्यवसायको विश्लेषण गरी सोहीअनुरूपको कर्जा प्रवाह गरी कसरी उनीहरूलाई आयआर्जनमुखी तथा व्यवसायमुखी बनाउने, वित्तीय सेवाका अलावा सदस्यलाई प्रदान गरिने क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमका बारेमा पनि तालिम दिइएको जनाइएको छ ।
यसका साथै हाल लघुवित्तमा देखिएका समस्या तथा त्यसको समाधान कसरी गर्ने भन्ने विषयमा समेत क्षमता अभिवृद्धिसम्बन्धी तालिम सञ्चालन गरिएको संस्थाका मधेस प्रदेश प्रमुख विजय यादवले बताए ।
तालिममा संस्थाको चिफ अपरेसन एन्ड सपोर्ट इकोसिस्टम राजेन्द्र न्यौपाने, मधेस प्रादेशिक कार्यालयका प्रमुख विजय यादव, उपप्रादेशिक कार्यालयका प्रमुखहरू चन्दनकुमार शाह तथा ढालप्रसाद तिमिल्सिनाले सहजीकरण गरेको जनाइएको छ । उक्त तालिममा प्रादेशिक कार्यालयअन्तर्गतका एक सय चारजना फिल्ड कर्मचारीको उपस्थिति रहेको उल्लेख छ ।
कम्पनीले सातै प्रदेशका ७४ जिल्लामा दुई सय ८७ शाखामार्फत लघुवित्तसम्बन्धी सेवा प्रदान गर्दै आएको जनाएको छ ।