१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
प्रेम गौतम काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o६:४४:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

डिलमा सत्तागठबन्धन

Read Time : > 2 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:४४:oo

भावी राष्ट्रपति निर्वाचनको पेचिलो राजनीतिले सातदलीय सत्तागठबन्धन विघटनको डिलमा पुगेको छ । कुनै ठूलो राजनीतिक बदलाव नआए पाँचदलीय गठबन्धन ब्युँताउने कांग्रेसको प्रयासले राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्नुअघि नै ठोस आकार लिने नेताहरूको दाबी छ । 

संसद्को सबैभन्दा ठूलो दल कांग्रेस राष्ट्रपति निर्वाचनबाट पुरानै गठबन्धन ब्युँताएर ‘कोर्स करेक्सन’ गर्ने योजनामा छ । यसका लागि उसले बुधबार माओवादी, एकीकृत समाजवादी, जसपा र लोसपाका शीर्ष नेताहरूसँग रणनीतिक छलफल गरेको छ । कांग्रेस नेताहरू छलफलबाट उत्साही छन् । 

गत मंसिरको निर्वाचनमा कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धनले बहुमत हाराहारीमा सिट जितेको थियो । तर, पूर्वसहमतिविपरीत कांग्रेसले पहिलो कार्यकालका लागि प्रधानमन्त्री र राष्ट्रपतिमा दाबी गरेपछि गठबन्धन भत्किएको थियो । कांग्रेसले ‘आत्मघाती’ अडान नछाडेपछि माओवादी अध्यक्ष प्रचण्ड एमालेसहित सात दलको समर्थनमा गत १० पुसमा प्रधानमन्त्री बनेका थिए । तर, दुई महिनामै गठबन्धन भत्किने अवस्थामा पुगेको छ ।

तर, गत २६ पुसमा प्रमुख प्रतिपक्षी कांग्रेससहितका विपक्षी दलहरूले पनि प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएपछि माओवादीले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने अडान लिँदै आएको छ । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग निरन्तर छलफल गरे पनि सहमति जुट्न सकेको छैन । ओली राष्ट्रपतिमा माधव नेपाललाई अघि सारेर भएपनि यही गठबन्धन जोगाएर अघि बढ्ने रणनीतिमा छन् । 

तर, बुधबार दिनभरीका राजनीतिक भेटघाटले परिस्थिति फेरिन देखिन्छ । बिहान लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूसँग छलफल गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसपछि क्रमशः जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादीका अध्यक्ष प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका छन् । छलफलमा दोस्रो तहका नेताहरू पनि सहभागी थिए । कांग्रेस र माओवादीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा र अन्य भेट कांग्रेस सभापतिको निवास धुम्बाराहीमा भएका हुन् । 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार तत्कालीन पाँचदलीय गठबन्धन ब्युँताएर जानेबारे सकारात्मक कुरा भएको छ । बिहीबार अरू दलसँग छलफल गरेर निष्कर्ष निकाल्ने प्रयास गरिने उनले बताए । ‘हामीले पुरानो गठबन्धनलाई कायम गरेर जानेबारे प्रधानमन्त्रीसहित अन्य दलहरूसँग छलफल ग¥यौँ । बुधबारको छलफल सकारात्मक नै छ । लोसपा, जसपा, जनमोर्चालगायतका दलहरूसँग फेरि पनि छलफल गरेर बिहीबार निष्कर्षमा पुग्ने प्रयास हुन्छ,’ महतले भने, ‘पुरानै गठबन्धनका तर्फबाट अघि बढाइने उम्मेदवार राष्ट्रपति बन्छ ।’ राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उम्मुक्ति पार्टीलाई समेत गठबन्धनमा अटाउनेबारे पनि छलफल भइरहेको स्रोतको भनाई छ । 

बालुवाटार स्रोतले पनि दलीय समीकरण बदलिने सम्भावना बढ्दै गएको बताएको छ । ‘राष्ट्रपतिको निर्वाचनले दलीय समीकरण बदलिने बलियो सम्भावना देखिएको छ,’ प्रधानमन्त्री र कांग्रेस नेताहरूसँगको छलफलबारे जानकार एक माओवादी नेताले भने । ती नेताका अनुसार बिहीबार पनि छलफल जारी रहनेछ, प्रधानमन्त्री प्रचण्ड छलफलका लागि देउवानिवास धुम्बाराही जाँदै छन् । 

छलफलमा कांग्रेस सभापति देउवाले पुरानो पाँचदलीय गठबन्धन ब्युँताएर राष्ट्रपति निर्वाचनमा जान प्रधानमन्त्री प्रचण्डसँग प्रस्ताव गरेका थिए । राष्ट्रपतिमा आफ्नो पार्टीलाई सघाउन पनि उनको आग्रह थियो । प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टी र अन्य सत्तासाझेदार दलहरूसँग छलफल गरेर मात्रै निर्णयमा पुग्ने जवाफ दिएको स्रोतको भनाइ छ । 

छलफलमा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको बताए । ‘हामीले संसद्को पहिलो पार्टी भएकाले कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्नुहोस् भनेर दलहरूसँग छलफल ग¥यौँ । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई पनि हामीले त्यही प्रस्ताव राखेर भेटेका हौँ । हामीले यसअघि पनि प्रधानमन्त्रीसँग यो प्रस्ताव गरिसकेका हौँ । उहाँ (प्रधानमन्त्री)ले राष्ट्रपतिका विषयमा निर्णयको अधिकार पार्टीले आफूलाई दिएको र उपयुक्त समयमा निर्णयमा पुग्ने जवाफ दिनुभएको छ,’ खड्काले भने ।

एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले संविधान र लोकतन्त्र रक्षाका लागि प्रतिबद्ध दलहरूबीच सहकार्य गर्नेबारे कांग्रेससँग छलफल भएको बताए । ‘सचिवालयको निर्णयअनुसार नै संविधान र लोकतन्त्र रक्षाका लागि प्रतिबद्ध दलहरूबीच सहकार्य गर्ने कुरा भएको छ । राष्ट्रपति निर्वाचनमा त्यही आधारमा जाने र सहमतिमै राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने कुरा भएको छ,’ कांग्रेससँगको छलफलमा सहभागी भुसालले भने ।

माओवादीले संस्थागत रूपमा नै निर्णय गरेर अन्तिम निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ । महासचिव देव गुरुङ माओवादी अन्तिमसम्म राष्ट्रिय सहमतिकै पक्षमा उभिने बताए । ‘हामी अन्तिमसम्म पनि राष्ट्रिय सहमतिकै पक्षमा उभिन्छौँ । बहुमतकै आधारमा राष्ट्रपति छान्ने भए त सांसदहरूले गोप्य मतदानबाट छानिहाल्छन् नि !,’ गुरुङले भने । 

कांग्रेस र एमालेको नाममा राष्ट्रिय सहमति नजुट्ने अवस्थामा अन्य विकल्पमा समेत जान सकिने गुरुङको तर्क छ । माओवादी सचिव गणेश शाहले सरकार सञ्चालनमा एउटा र राष्ट्रपति निर्वाचनमा अर्को गठबन्धन बन्न सक्ने बताए । तत्कालीन पाँचदलीय गठबन्धनबाटै राष्ट्रपति चयन हुने उनको संकेत छ । ‘राष्ट्रपति निर्वाचन र सरकार सञ्चालनमा अलग–अलग गठबन्धन हुने सम्भावना देखिन्छ । राष्ट्रपति फरक गठबन्धनबाट भए पनि एमालेले सत्ता छाड्लाजस्तो लाग्दैन,’ उनले भने । 

कांग्रेस भन्छ– राष्ट्रपति उम्मेदवारको टुंगो उपयुक्त समयमा
कांग्रेसमा केन्द्रीय संसदीय बोर्ड बैठकले उम्मेदवारको टुंगो लगाउने व्यवस्था छ । उम्मेदवारी मनोनयनका लागि दुई दिन बाँकी छ । तर, अहिलेसम्म बोर्डको बैठक बोलाएको छैन । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले परिस्थिति हेरेर बैठक बोलाइने र निर्णय लिइने बताए । ‘बैठक कहिले बोलाउने भन्ने टुंगो लागेको छैन । परिस्थितिका आधारमा आवश्यकताअनुसार उचित समयमा उचित निर्णय गर्नेछौँ,’ उनले भने ।

 

ad
ad