१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
श्रवण थापा सर्लाही
Invalid date format १८:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिदाको अवज्ञा गरेको भन्दै आदिवासी जनजाति युवा महासंघद्वारा स्कुल बस तोडफोड

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format १८:५६:oo

सार्वजनिक बिदा अवज्ञा गरेको भन्दै आदिवासी जनजाति युवा महासंघ नेपालका कार्यकर्ताले सर्लाहीको हरिवनमा स्कुल बस तोडफोड गरेका छन्। 

मंगलबार हरिवन नगरपालिका–४ स्थित गणेश चोकमा सार्वजनिक बिदाको अवज्ञा गरेको भन्दै महासंघका कार्यकर्ताले स्कुल बस तोडफोड गरेका हुन्। महायानी बौद्ध धर्मावलम्बीको २१५०औँ ग्याल्पो ल्होसारको अवसरमा नेपाल सरकारले दिएको सार्वजनिक बिदालाई अटेर गरी स्कुल सञ्चालन गरेकाले स्कुल बस तोडफोड गरेको महासंघले जनाएको हो।

तोडफोडबाट लालबन्दी नगरपालिका–१ नवलपुरमा रहेको पिस जोन इंग्लिस बोर्डिङ स्कुलको ना १ क ८८३४ नम्बरको बसमा क्षति पुगेको छ। स्कुलका बालबालिकालाई घर पुर्याएर फर्कँदै गर्दा केही युवाको समूहले स्कुल बसमा ढुंगामुढा गरेकाे विद्यालयले जनाएको छ। तोडफोडबाट बसको सिसा फुटेको छ। बालबालिका पुर्याएर फर्कँदै गरेको स्कुल बसमा योजनाबद्ध ढंगले आक्रमण भएको प्रधानाध्यापक दिलीप न्यौपानेले बताए।

निजी विद्यालय संगठन प्याब्सन लालबन्दी नगर कमिटी अध्यक्षसमेत रहेका न्याैपानेले घटना निन्दनीय रहेको भन्दै अराजक गतिविधि गर्नेमाथि कारबाहीको माग गरेका छन्। 

यता आदिवासी जनजाति युवा महासंघ प्रदेश इन्चार्ज सञ्जीव मोक्तानले कार्यकर्ताले भौतिक कारबाही गरेको प्रतिक्रिया दिएका छन्। सार्वजनिक बिदाको समयमा स्कुल सञ्चालन नगर्न विद्यालय परिवारलाई पूर्वजानकारी गराउँदा पनि अटेर गरेपछि भौतिक कारबाही गर्नुपरेको उनले बताए। घटनाको सम्पूर्ण जिम्मेवारी महासंघले लिने उनले बताए।

विद्यालयले घटनाको विषयमा निवेदन दर्ता गराएको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।