
गण्डकी प्रदेशस्तरीय दोस्राे खुला आर्चरी प्रतियोगिता २०७९ अन्तर्गत रिकर्ब खुला महिलातर्फ कास्कीकी केशरीमाया आलेमगर र पुरुषतर्फ बागलुङका दुर्गा घर्तीमगरले उपाधि हात पारेका छन् ।
महिलातर्फ मगरले कास्कीकै अनुस्का शेरचनलाई ७–३ को अंकमा पराजित गर्दै उपाधि हात पारेकी हुन् । कास्कीकी रोजिना थापाले ६–४ अंकसहित विष्णुमाया लिम्बूलाई पराजित गर्दै तेस्रो स्थान हात पारिन् ।
पुरुषतर्फ बागलुङका दुर्गाले बागलुङकै खड्गबहादुर घर्तीमगरलाई ६–० अंकले पराजित गर्दै उपाधि जितेका हुन् । कास्कीका सुमन गुरुङले कास्कीकै अशिम शेरचनलाई ६–४ अंकले पराजित गर्दै तेस्रो स्थान हात पारे ।
पुरुष स्ट्यान्डर्ड विधातर्फ बागलुङका हिकमत पुरीले कास्कीका कुमार पुर्जालाई ६–२ अंकले पराजित गर्दै प्रथम हुँदा बागलुङका मुकेश रोकामगर रेशम पुर्जा पुनलाई ७–५ अंकले पराजित गर्दै तेस्रो भए ।
विजेता खेलाडीहरूमध्ये रिकर्ब ओपन पुरुषतर्फको उपाधिसँगै विजेताले ३०, दोस्रोले २० र तेस्रोले १५ हजार प्राप्त गरेका कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए । महिलातर्फ विजेताले १५, दोस्रोले १० र तेस्रोले पाँच हजार तथा स्ट्यान्डर्ड पुरुषतर्फ विजेताले २०, दोस्रोले १५ र तेस्रोले १० हजार नगद पुरस्कार पाए ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना, प्रदेश आर्चरी संघको संयोजन, नेपाल आर्चरी संघको समन्वय, कास्की जिल्ला आर्चरी संघको सहआयोजना र अन्नपूर्ण आर्चरी क्लबको व्यवस्थापनमा भएको प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाका ८९ खेलाडी सहभागी थिए ।