Skip This
संकटा सहज जित निकाल्दै सेमिफाइनलमा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २ मंगलबार
  • Saturday, 27 July, 2024
श्रवण थापा सर्लाही
२o७९ फाल्गुण २ मंगलबार २२:o५:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

संकटा सहज जित निकाल्दै सेमिफाइनलमा 

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o७९ फाल्गुण २ मंगलबार २२:o५:oo

सिएमजी संकटा क्लब जारी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। 

मंगलबार बागमती–११ स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा सम्पन्न खेलमा नव जनजागृति युवा क्लब सिमरालाई ३–० गोल अन्तरले पराजित गर्दै संकटा अन्तिम चारमा प्रवेश गरेको हो। 

संकटाको जितमा खेलको ३५औँ मिनेटमा आयुष घलानले पहिलो गोल गरेका थिए। घलानको गोलमा संकटा खेलको पहिलो हाफमा १–० को अवस्थामा पुगेको थियो।

सुरुदेखि नै लयमा खेलेको संकटाका लागि खेलको ४२ औँ मिनेटमा गणेश हमालले दोस्रो गोल गरेका थिए। मनीष डाँगीको पासमा हमालले सहज गोल गरेका हुन्।  उनकाे गोलसँगै संकटा २–० को अवस्थामा पुगेको थियो। 

खेल अवधिभर अधिक समय बल संकटाको आफ्नो नियन्त्रणमा राखेको थियो। लगातार आफूलाई खेलमा फर्काउन खोजेको नव जनजागृति फुटबल क्लब सिमरा हार बेहोर्न बाध्य भयो।

खेलको ५८औँ मिनेटमा सुनील बलको पासलाई मनिस डाँगीले आकर्षक गोलमा परिणत गरिदिएपछि खेल ३–० को अवस्थामा पुगेको हो। 

खेल अवधिभर कुशल प्रदर्शन गरेका डाँगी खेलको म्यान अफ दी म्याच घोषित हुँदै ट्रफी र १० हजार नगद पुरस्कारसमेत प्राप्त गर्न सफल भए। 

संकटासामु नव जनजागृति सिमरा केही निरीह प्रस्तुत भएको थियो। खेलमा केही आकर्षक अवसर सिर्जना गरे पनि नव जनजागृतिका खेलाडीले सशक्त प्रहार गर्न सकेनन्।

जितसँगै संकटाले सेमिफाइनल यात्रा तय गरेको छ। सेमिफाइनलमा सिएमजी संकटाले जावलाखेलसँग प्रतिस्पर्धा गर्नेछ। 

जावलाखेल प्री क्वार्टरफाइनलमा सशस्त्र प्रहरी र क्वार्टरफाइनलमा साबिक विजेता पिप्ले युवा क्लबलाई पराजित गर्दै अन्तिम चारमा उक्लिएको हो। 

यस्तै, प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा बुधबार मच्छिन्द्र फुटबल क्लब र आयोजक बागमती युवा क्लब सर्लाहीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। फागुन ७ गते फाइनल हुने खेलको विजेताले १० लाख सिल्ड र उपविजेताले ५ लाख पुरस्कार प्राप्त गर्नेछन्। 

रणनीतिअनुसारकै परिणाम आयो : सल्यान खड्गी, प्रशिक्षक संकटा

केटाहरूले राम्रो मेहनत गरेर खेलेका थिए। टिमको रणनीति बुझेर खेल्दा केही सहज जित निकाल्न सकियो। उनीहरूको मेहनतको नतिजा मान्छु। 

खेलको पहिलो हाफमा पहिलो गोल नहुँदासम्म खेलाडीमा केही दबाब देखिएको थियो। पहिलो गोल भएपछि भने उनीहरूको मनोबल पनि उच्च हुँदा थप गोल गर्न सके।

मोफसलको क्लब प्रतिस्पर्धा नै ठुलो रह्यो : सोनु क्षेत्री, प्रशिक्षक नव जनजागृति सिमरा

हामी स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले सञ्चालन भएको क्लब हो । हामीसँग पूरै स्थानीय खेलाडी मात्र छन्। 

हाम्रो टिम सेटका तीनजना खेलाडीहरू ए डिभिजन क्लबमा समेत आबद्ध छन्। उनीहरू आउन पाएनन्। त्यसले गर्दा फिनिसिङमा हामी कमजाेर रह्यौँ। 

तैपनि खेलाडीहरूले ए डिभिजन क्लबका खेलाडीको उचाइमा प्रतिस्पर्धा गर्नु नै ठूलो कुरा भयो। सेट पनि अपुरो रहेको थियो । ए डिभिजनमा गएका खेलाडीहरूको समेत अभाव महसुस भयो। खेल अन्तिमसम्म प्रतिस्पर्धात्मक बनाउन सक्यौँ। हारजित त खेलको नियम नै हो।