
मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंले धर्म र राष्ट्रियता बचाउने भन्दै अभियान सुरु गरेका छन्।
उनले सोमबार पूर्वीनाकास्थित काँकडभिट्टाबाट अभियानको सुरुवात गरेका हुन्। उनले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ सुरु गरेका हुन्।
प्रसाईंको यो अभियान मेचीदेखि महाकाली पुगेर टुंगिनेछ। अभियानको उद्घाटन पूर्वराजा ज्ञानेन्द्र शाहले गरे। पूर्वराजपरिवारका सदस्यसहित सहभागी भएका शाहले दीप प्रज्ज्वलन गरेर र परेवा उडाएर उद्घाटन गरे।
सार्वजनिक कार्यक्रममा कमै देखिने शाह प्रसाईंले गरेको यो अभियानमा भने सार्वजनिक रूपमै देखिए। तर, उनले कार्यक्रममा बोलेनन्। पछिल्लो समय प्रसाईं राजतन्त्र र हिन्दु राष्ट्रको वकालत गर्दै आएका छन्।
उक्त कार्यक्रममा पनि प्रसाईंले गणतन्त्रविरोधी तर्क गरे। अहिलेको अवस्थामा गणतन्त्र काम छैन भन्ने अवस्थामा पुगेको उनले बताए। प्रसाईंले यो अभियान बैंक र वित्तीय संस्थाको आतंकविरुद्ध भएको बताउँदै आएका छन्।
उनले बैंक र वित्तीय संस्थाका कारण नागरिकले आत्मदाह गर्नुपर्ने अवस्था आएकोले अभियान चलाएको बताए।