१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १ सोमबार
  • Wednesday, 23 October, 2024
२o७९ फाल्गुण १ सोमबार १२:१८:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

जयराम-हलेसी सडक : सडकभरि खाल्डाखुल्डी, जोखिमपूर्ण यात्रा 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण १ सोमबार १२:१८:oo

मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी (३० किलोमिटर) सडकखण्ड कालोपत्र गरेको करिब १२ वर्ष पूरा भयो। 

साना–ठूला गरी दैनिक सयौँको संख्यामा सवारीसाधन आवतजवत हुने उक्त जयराम–हलेसी सडकखण्ड ०६७ सालमा ओटासिल कालोपत्र गरिएको हो। 

जिल्लाको प्रमुख मार्ग जयराम–हलेसी सडकको कालोपत्र तीन वर्ष नपुग्दै ठाउँठाउँमा उप्किएर खाल्डाखुल्डी बनेपछि अहिले सवारीसाधन गुड्नै मुस्किल पर्ने अवस्था सिर्जना भएको छ। 

ठेकेदारले सिमेन्ट, बालुवा, गिटी र अलकत्रको मात्रा नमिलाई नाफा कमाउने उद्देश्यले कम गुणस्तरको ओटासिल कालोपत्र गरेकाले समस्या सिर्जना भएको स्थानीय बासिन्दाको आरोप छ। 

कम्तीमा १० वर्ष टिक्नुपर्ने ओटासिल कालोपत्र तीन वर्ष नपुग्दै उप्किएको हलेसी–तुवाचुङ नगरपालिका– ३ च्यास्मिटारका स्थानीय बासिन्दा एवं नेकपा (माओवादी केन्द्र) खोटाङका सचिव जीवन राई ‘संगीन’ले बताए। 

‘कालोपत्र उप्किएपछि जीर्ण बनेको सडकमा दैनिक हजारौँ यात्रुले जोखिमपूर्ण यात्रा गरिरहेका छन्,’ उनले भने, ‘सम्बन्धित निकायले वेलैमा ध्यान नदिने हो भने ठूलो दुर्घटना हुन सक्छ। समयमै सचेत हुन जरुरी छ। सबैभन्दा पहिले स्थानीय जनप्रतिनिधिले चासो दिनुपर्‍यो।’

ठेकेदारले फाइदाका लागि कम गुणस्तरको कालोपत्र गर्न लागेको भन्दै उसवेला सडक आसपासका स्थानीय बासिन्दाले संघर्ष समिति गठन गरेर आन्दोलनसमेत गरेका थिए। 

स्थानीय बासिन्दाको आन्दोलनबीच स्वच्छन्द–भगवती निर्माण सेवाले दुई वर्ष लगाएर जयराम–हलेसी सडक ओटासिल कालोपत्र गरेको हो।

विशेषगरी ग्रामीण क्षेत्रका सडकमा धुलो नियन्त्रणका लागि लगाइने पिच (ओटासिल कालोपत्र) उप्किएपछि गाडीभित्रै धुलो छिर्ने गरेको यात्रुहरूको गुनासो छ।

‘गाडीभित्र धुलो छिरेर सास फेर्नसमेत असहज हुन्छ। खाल्डाखुल्डीमा गाडी पस्दा टाउको ठोक्किएर टुटुल्को उठ्छ,’ भर्खरै यात्रा गरेका एक यात्रुले भने, ‘लामो समयदेखि हामी यात्रुहरूले सास्ती भोग्दै आएका छौँ। यसको विषयमा स्थानीय जनप्रतिनिधिले कुनै चासो दिएका छैनन्। यसले ठूलो दुर्घटना निम्त्याउने देखिन्छ।’ 

जयराम–हलेसी सडक ओटासिल कालोपत्र उप्किएर खाल्डाखुल्डी बनेपछि विश्वप्रसिद्ध त्रिधार्मिक स्थल हलेसी आवतजात गर्ने पर्यटक तथा दर्शनार्थी सबैभन्दा बढी मारमा परेका छन्। 

हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थल हलेसीमा नेपालका विभिन्न जिल्ला तथा छिमेकी देश भारतका स्थानीय बासिन्दासमेत व्यक्तिगत तथा रिजर्भ गाडी लिएर आउने गरेका छन्। 

जयरामदेखि हलेसीसम्मको सडकमा हजारौँ खाल्डाखुल्डी हुँदा त्यसमा परेर दर्जनौँ सवारीसाधन बिग्रिसकेको खोटाङ यातायात प्रा.लि. खोटाङका महासचिव रामकुमार हिङमाङले जानकारी दिए। 

‘जयराम–हलेसी सडक वानवे (एकतर्फी मात्र गाडी चल्ने) अवस्थाको छ,’ उनले भने, ‘वानवे सडकमा रहेको खाल्डाखुल्डी जोगाएर गुडाउँदागुडाउँदै विपरीत दिशाबाट अर्को गाडी आउँछ। त्यसलाई साइट (बाटाे) दिँदा खाल्डोमा पस्छ। खाल्डोमा पसेको गाडी निकाल्दा क्षति हुने गरेको छ।’

ओटासिल कालोपत्र उप्किएर दुर्घटनाग्रस्त बनेको जयराम–हलेसी सडकको खाल्डाखुल्डी पुर्ने जिम्मा डिएस कन्स्ट्क्सन प्रालि हेटौँडाले लिएको छ। ०८० असार–२२ गतेभित्र सक्ने गरी ०७७ जेठ २८ गते रु. ११ करोड ७८ लाख १३ हजार सात सय ७९ मा ठेक्का लिएको उक्त सडकको काम अहिले ठप्प छ। 

जयराम–हलेसी सडक मर्मतको काम सुस्त देखिएपछि दुई महिनाअघि ठेकेदार कम्पनीलाई कार्यालयमा झिकाएर तत्काल बाँकी काम पूरा गर्न निर्देशन दिइए पनि अटेर गरेको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले बताए। ‘आइतबार अनुगमन गर्दा निर्माणस्थलमा चारजना मात्रै कामदार देखियो। म प्रहरी पठाएर कारबाहीको दायरामा ल्याउँछु भनेको छु,’ उनले भने। 

ठेकेदार कम्पनीका प्रबन्ध–निर्देशक ध्रुव कार्कीले जयराम–हलेसी सडक मर्मतको काम ७० प्रतिशत सम्पन्न भइसकेकाले तोकिएको समयभन्दा अगाडि नै सम्पन्न गर्ने तयारी भइरहेको बताएका छन्। 

निर्माणस्थलको अवस्था हेर्दा जयराम–हलेसी सडक मर्मतको काम तोकिएको समयमा कुनै पनि हालतमा काम सम्पन्न हुने अवस्था देखिँदैन। 

खोटाङे जनताको समृद्धिसँग जोडिएको मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्ड मर्मतको काम तत्काल पूरा गर्न पटक–पटक निर्देशन दिइएको खोटाङ क्षेत्र नं. १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य पाँचकर्ण राई ‘पिके’ले बताएका छन्।