
साबिक विजेता पिप्ले युवा क्लब हेटौँडालाई ३–२ ले स्तब्ध पार्दै जावलाखेल युथ क्लब, ललितपुर सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सोमिफाइनलमा प्रवेश गरेको छ । जावलाखेलले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो । साबिक विजेता पिप्लेले मध्यान्तरपछि सुधारिएको प्रदर्शन गर्दै दुई गोल गरे पनि हार टार्न सकेन । उत्कृष्ट फर्ममा रहेको जावलाखेलले १५औँ मिनेटमा १–० को अग्रता लिएको थियो ।
विशाल तामाङले जावलाखेलका लागि पहिलो गोल गरेका थिए । सुनील खड्काको क्रस पासमा विशालले डिबक्सभित्रबाट गोल गरेका हुन् । मध्यान्तरअघि पिप्ले युथले बराबरी गोल फर्काउने प्रयास गरेको थियो । तर, जावलाखेलको डिफेन्स पिप्लेका खेलाडीले तोड्न सकेनन् । दोस्रो हाफमा जावलाखेलको तुलनामा पिप्लेको खेल राम्रो थियो । खेलको ७२औँ मिनेटमा विश्व लामाले पिप्लेलाई १–१ को बराबरीमा ल्याए ।
दिवसको क्रसमा विश्वाले बराबरी गोल फर्काए । तर, पिप्लेले बराबरी लामो समयसम्म टिकाउन सकेन । खेलको ७७औँ मिनेटमा जावलाखेलले २–१ को अग्रता बनायो । विनोद केसीले जावलाखेलका लागि अग्रता गोल गरे । केसीले समिराज थोकरको क्रस पासमा हेडिङ गोल गरेका हुन् । खेलको अतिरिक्त इन्जुरी समयमा हिसुव थपलियाले जावलाखेललाई ३–१ को बलियो स्थितिमा राखे ।
पिप्लेका सबै खेलाडी जावलाखेलको बक्सभित्र रहेको अवसरमा थपलियाले काउन्टरमा गोल गरेका हुन् । अन्तिम इन्जुरी समयमै जावलाखेलका खेलाडीले पिप्लेका खेलाडीलाई बक्सअगाडि फल गरेका थिए । बक्सनजिकैबाट डोना थापाले उत्कृष्ट फ्रिकिक गोल गर्दै पिप्लेलाई ३–२ को गोलअन्तरमा झारे ।