१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
अजित अधिकारी काठमाडौं
२o८१ बैशाख २४ सोमबार o९:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

२७ लाखको डिजेल चोरीमा संलग्नविरुद्ध प्रहरीद्वारा मुद्दा दायर

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:२५:oo

सप्तरीस्थित इलाका प्रहरी कार्यालय, कञ्चनपुरले २७ लाख मूल्यबराबरको डिजेल चोरी घटनामा संलग्न ट्यांकरचालक, सहचालक र पेट्रोलपम्प व्यवसायीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

इलाका प्रहरी कार्यालयका डिएसपी रामकुमार यादवले चारजनाविरुद्ध चोरी घटनामा कारबाही माग गर्दै मुद्दा दायर गरेको जानकारी दिए । यद्यपि, प्रहरी नियन्त्रणमा चालक नवराज भुजेल र पम्प व्यवसायी श्यामकुमार शाह मात्र छन् । सहचालक अनिल चौचरी र अर्का पम्प व्यवसायी शेखर गुप्ता फरार छन् । फरार रहेका चौधरी र  गुप्ताको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

गत १४ माघमा प्रहरीले सप्तरीको रुपनीमा बेवारिसे अवस्थामा रहेको को.१ख ३६५५ नम्बरको ट्यांकर फेला पारेको थियो । सो ट्यांकर आयल निगमको मधेस प्रादेशिक कार्यालय, अमलेखगन्ज (बारा) बाट ११ माघमा २० हजार लिटर डिजेल लोड गरी निगमकै विराटनगरस्थित अर्को प्रादेशिक कार्यालयका लागि निस्केको थियो ।

एक दिनमै विराटनगर पुग्नुपर्ने भए पनि ट्यांकरमा रहेको तेल विराटनगरस्थित डिपोमा खन्याउन पालो कुर्नुपर्ने खबर आएपछि चालक भुजेल र सहचालक चौधरी सप्तरी बसेका थिए । त्यही मौकामा चालक भुजेल र सहचालक चौधरीले मिलेमतो गरी ट्यांकरको लकिङ तोडेर स्थानीय दुईवटा पम्पलाई १६ हजार लिटर डिजेल बेचेका थिए । 

यति ठूलो परिमाणको डिजेल चोरी घटनामा आयल निगमको विराटनगर कार्यालयले चासो नदिँदा ट्यांकर बेवारिसे अवस्थामा तीन दिनपछि १४ माघ दिउँसो प्रहरीले फेला पारेको थियो । त्यसपछि प्रहरी अनुसन्धानले नै ट्यांकरबाट १६ हजार लिटर डिजेल चोरी भएको र चार हजार लिटर डिजेल मात्रै बाँकी रहेको पत्ता लागेको थियो ।

घटना सार्वजनिक भएपछि आयल निगम केन्द्रीय कार्यालयले चालक र सहचालकलाई आजीवन इन्धन ढुवानीमा प्रतिबन्ध लगाउने र चोरीको तेल खरिद गर्ने दुई पम्पलाई ६ महिनासम्म इन्धन बिक्रीमा रोक लगाउने निर्णय लिइसकेको छ । 

चोरी घटना छानबिन गर्न आयल निगमले निर्देशक दीपक बरालको नेतृत्वमा विनीतमणि उपाध्याय र सुदन ढुंगाना सम्मिलित तीन सदस्यीय टोली गठन गरेको छ । छानबिन समिति संयोजक बरालले प्रहरी र सरोकारवाला सबै पक्षको सहयोग लिएर वस्तुनिष्ठ अध्ययन गर्ने बताए ।  ‘हामी सूक्ष्म रूपले कैफियतहरू केलाउनेछौँ र आगामी दिनमा यस्ता घटना नदोहोरिन सजग गराउने गरी प्रतिवेदन दिनेछौँ,’ बरालले भने 

टोलीले छानबिन सुरु गरिसकेको प्रवक्तासमेत रहेका छानबिन टोलीका सदस्य उपाध्यायले जानकारी दिए । ‘हामीले छानबिन सुरु गरिसकेका छौँ । ट्यांकरधनी गुणराज निरौलालाई चोरी भएको तेलको परिमाणको प्रचलित बजार भाउअनुसार दोब्बर हुन आउने रकम जरिवानाबापत बुझाउन पत्राचार गरिसकेका छौँ,’ उनले भने ।

सो डिजेल चोरी हुँदा प्रतिलिटर बजार मूल्य एक सय ७२ रुपैयाँ थियो । उक्त बजार मूल्यअनुसार १६ हजार लिटरको बजार भाउभन्दा दोब्बर गर्दा ५५ लाख चार हजार रुपैयाँ जरिवाना बुझाउनुपर्ने हुन्छ ।

अन्यत्रको तुलनामा विराटनगर डिपोमा बारम्बार तेल चोरीका घटना सार्वजनिक हुने गरेका छन् । निगमको छानबिन टोलीले शुक्रबारसम्म विराटनगर डिपोमै पुगेर चोरी घटनाबारे सूक्ष्म अध्ययन गर्ने तयारी गरेको छ । टोलीले कर्मचारीको मिलेमतोबारेमा समेत छानबिन गरी प्रतिवेदन तयार पार्ने जनाएको छ ।
 

ad
ad