१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
भूकम्पले ध्वस्त बनाएको टर्कीको हातेय सहर । तस्बिर : स्काइन्युज
मुना कुँवर काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o७:५९:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

टर्की महाभूकम्प : २५ सयभन्दा बढीको मृत्यु

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:५९:oo

टर्कीमा गएको विनाशकारी महाभूकम्पमा परेर कम्तीमा दुई हजार पाँचसय भन्दा बढीको मृत्यु भएको छ । सोमबार बिहानै गएको ७.८ म्याग्निच्युडको भूकम्पबाट दक्षिणपूर्वी टर्की र उत्तर–पश्चिम सिरियामा यतिको संख्यामा हताहती भएको हो ।

 भत्किएका हजाराैँ भवनमा निकै ठूलो संख्यामा मानिसहरू पुरिएको सम्भावनाका कारण मृतकको संख्या निकै बढ्न सक्ने अनुमान गरिएको छ । घाइते हुनेको संख्या पनि हजारौँमा पुगिसकेको छ । यो समाचार तयार पार्दासम्म घाइतेको संख्या १४ हजार नाघिसकेको छ भने चार हजारभन्दा धेरै घरहरू भत्किएको समाचार प्राप्त भएको छ । 

भूकम्पको केन्द्रबिन्दु टर्कीको दक्षिणी सहर गाजियन्टेपनजिक रहेको छ । भूकम्पको धक्का राजधानी अंकाराका साथै सिरिया, लेबनान, साइप्रस र इजरायलमा समेत महसुस गरिएको थियो । भूकम्पविद्हरूले टर्कीमा अहिलेसम्मकै सबैभन्दा ठूलो भूकम्प गएको बताएका छन् ।

सोमबार दिउँसो पनि सोही क्षेत्रमा अर्को शक्तिशाली भूकम्प गएको थियो । कहरामनमारस सहरनजिक केन्द्रबिन्दु रहेको दोस्रो भूकम्प ‘परकम्प नभएको’ अधिकारीहरूले बताएका छन् । पहिलो भूकम्पपछि सोमबार दिउँसो खोज र उद्धार कार्य चलिरहेको समयमा एउटा ७.५ म्याग्निच्युडको भूकम्पसहित चार म्याग्निच्युडभन्दा ठूला एकसय २० भन्दा बढी परकम्प गएका थिए ।

टर्कीमा १० प्रान्तका स्कुलहरू एक हप्ताका लागि बन्द गरिएको छ भने हाते, मारास र एन्टेपका विमानस्थल आंशिक रूपमा बन्द गरिएका छन् । भूकम्पको केन्द्रबिन्दु रहेको गाजियान्टेपस्थित दुई हजार वर्षभन्दा पुरानो गाजियान्टेप महलका अधिकांश भागमा क्षति पुगेको छ । सिरियाको राष्ट्रिय भूकम्प केन्द्रका प्रमुख रेद अहमदले यसलाई देशको इतिहासमा रेकर्ड गरिएको सबैभन्दा ठूलो भूकम्प भएको बताए ।

भूकम्पपछि टर्कीले संकटकाल घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । टर्कीको अन्तर्राष्ट्रिय अपिलपछि एसिया, युरोप र अमेरिकाका नेताहरूले सहायता पठाउने प्रतिबद्धता गरेका छन् । हिउँले ठूला सडकहरूलाई ढाकेको र सिरेटो र हिम तुफानका कारण उद्धार कार्य निकै कठिन बनेको छ । 

भूकम्पले हजारौँ भवन भत्काएकाले भग्नावशेषमुनि फसेका मानिसलाई जीवितै उद्धार गर्न उद्धारकर्ताहरू भागदौड गरिरहेका छन् । ‘मेरो परिवारका सात सदस्य भग्नावशेषमुनि छन्,’ टर्कीको कुर्द सहर दियारबाकिरमा जीवितै उद्धार गरिएका मुहिटिन ओराकीको भनाइलाई एएफपीले उद्धृत गरेको छ । ओराकीले भने, ‘मेरी बहिनी, उनका श्रीमान् तथा तीन छोराछोरी र सासू–ससुरा भग्नावशेषमा पुरिएका छन् ।’

भूकम्पका कारण सिरियाको विद्रोही र सरकार नियन्त्रित भागहरूमा पनि निकै ठूलो संख्यामा जनधनको क्षति भएको बिबिसीले लेखेको छ । सिरियाको स्वास्थ्य मन्त्रालयले अलेप्पो, लाटाकिया, हामा र टार्टस प्रान्तमा क्षति भएको रिपोर्ट गरेको छ । 

टर्कीमा २३ वर्षअघि पनि विनाशकारी भूकम्प गएको थियो । सन् १९९९ मा डुजेसी क्षेत्रमा गएको ७.४ म्याग्निच्युडको भूकम्पमा १७ हजारको मृत्यु भएको थियो । त्यस्तै सन् १९३९ मा गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परेर पूर्वी इरिजनकान प्रान्तमा ३३ हजारको मृत्यु भएको थियो ।

नेपाली सुरक्षित
टर्कीमा गएको महाभूकम्पको क्षतिको विवरण आउन बाँकी रहे पनि हालसम्म नेपाली नागरिक सुरक्षित रहेको गैरआवासी नेपाली संघ टर्कीका महासचिव विनोद पौडेलले बताएका छन् । टर्कीका विभिन्न सहर इस्तानबुल, अंकारा, इज्मिर, अन्टालिया, बोडुर्मलगायत स्थानमा दुई हजारदेखि २५ सय नेपाली बसोवास गर्दै आएको गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले बताए । उनका अनुसार भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी टर्कीस्थित गाजियन्टेपमा भने थोरै संख्यामा मात्रै नेपाली रहेको जानकारी प्राप्त भएको बताए । गाजियन्टेपमा रहेका नेपाली गैरआवासीय नेपाली संघको सम्पर्कमा आइरहेको उनले बताए । 

गाजियन्टेपमा रहेका तीनजना नेपाली महिला कामदार र तीनजना विद्यार्थी सम्पर्कमा आएको गैरआवासीय नेपाली संघ टर्कीका महासचिव पौडेलले बताए । उनका अनुसार गाजियन्टेपमा कति नेपाली छन् भन्ने कुनै तथ्यांक छैन । तर, सम्पर्कमा आएकाहरूले उहाँहरू आफू सुरक्षित सकुशल रहेको जानकारी गराएको उनले बताए । ‘सम्पर्कमा आउनुभएका नेपालीले सुरक्षित भएको बताउनुभएको छ । उहाँहरूलाई कुनै समस्या परे खबर गर्न अनुरोध गरेका छौँ । अन्य सहरमा रहेका नेपालीसँग पनि हामीले सम्पर्कका लागि प्रयास गरिरहेका छाैँ । अहिलेसम्म कुनै दुःखद खबर आएको छैन,’ उनले भने । 

ज्याकेट लिएर कोठाबाट भाग्यौँ
गुड्डु राई, गाजियन्टेप, टर्की

भूकम्पले हल्लाउन थालेपछि मात्रै हामी निद्राबाट ब्युँझियाैँ । कोठामा मसहित तीनजना थियाैँ । भूकम्पले हल्लाउँदासम्म तीनैजना एकै ठाउँमा टाँसिएर बस्याैँ । हल्लाउन कम भएपछि एउटा ज्याकेट तानेर कोठाबाट बाहिर भाग्यौँ । अरू त केही सामान लिन नै पाइएन । अहिले हामीलाई कम्पनीले होटेलमा ल्याएर राखेको छ । बिहानको नास्ता खुवायो । परकम्प आइरहेको छ । बाहिर हिउँ र पानी पनि परिरहेको छ । बाहिर निस्किन पनि मिल्दैन ।

भित्र बसौँ परकम्प गइरहेको छ,बाहिर हिउँ परिरहेको छ
सकिल सेख, गाजियन्टेप, टर्की

बिहान भूकम्प जाँदा होस्टलमा सुतिरहेको थिएँ । भूकम्पले ब्युँझिए पनि म भागिनँ । नेपालको २०७२ सालको अनुभवले म आत्तिनँ । कम्पन रोकिएपछि इमर्जेन्सी ब्याग बोकेर होस्टलबाट बाहिर निस्किएँ । हाम्रो होस्टल १०औँ तलाको छ । म भुइँतलामा थिएँ । माथिल्लो तलाका साथीहरू निस्किन सकेनन् । हामी केही साथी निस्कियौँ । अहिले हामी होस्टलनजिकैको म्युजियममा छौँ । स्थानीय बासिन्दा पनि यहाँ जम्मा भएका छन् । बाहिर पानी र हिउँ परिरहेको छ । बाहिर निस्किन सक्ने अवस्था छैन । त्यसैले के–के भएको छ केही थाहा छैन । यहाँ पढ्न आउने अन्य तीनजना साथीहरूसँग मोबाइलमा सम्पर्क भएको छ । उनीहरू पनि सेल्टरमा बसेको जानकारी पाएको छु । यहाँ बस्नेलाई बिहान सरकारले नै नास्ता दिएको थियो । अब के–के हुन्छ हेराैँ । 

(एजेन्सीहरूको सहयोगमा)

ad
ad