मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ माघ २४ मंगलबार ०७:५२:००
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

राजाका असली उत्तराधिकारी

Read Time : > 1 मिनेट
२०७९ माघ २४ मंगलबार ०७:५२:००

धेरै अघि एक वृद्ध राजा निःसन्तान थिए । उनलाई आफ्नो शेषपछि योग्य उत्तराधिकारीको चिन्ताले सताउन थाल्यो । चिन्तैचिन्ताबीच उनले सुयोग्य उत्तराधिकारी खोजी गर्न एउटा जुक्ति सोचे । अमुक गतेका साँझ ६ बजेभित्र जो व्यक्ति मलाई भेट्न सफल हुनेछ, म उसलाई राज्यको एक हिस्सा दिनेछु भनेर राजाले झ्याली पिटाए । राजाको निर्णयबाट दरबारभित्रै हल्लीखल्ली मच्चियो ।

प्रधानमन्त्रीदेखि धेरै मन्त्री असन्तुष्ट भए । प्रधानमन्त्रीले त मुखै फोरेर राजासित भने– महाराज, हजुरसित भेट्न त धेरै मानिस आउनेछन् । ती सबैलाई आफ्नो घोषणाअनुसार उसको भाग दिँदै जानुभयो भने त यो राज्य टुक्राटुक्रा हुनेछ । यो घोर अव्यावहारिक कदम साबित हुनेछ । त्यसैले यो निर्णय फिर्ता लिनुहोस् । राजाले भने– तपाईं चिन्ता नगर्नुहोस् । हेर्दै जानुहोस् के–के हुनेछ !

तोकिएको दिनमा तोकिएको समयभित्र सबै राजालाई भेट्न तोकिएको समयअगावै राजमहलमा उपस्थित भए । राजमहलबाहिरको बगैँचामा एक विशाल मेला र भव्य भोज आयोजना गरिएको थियो । मेलामा नाचगान र सुरा, सुन्दरीको विशेष व्यवस्था थियो । अत्यन्त स्वादिष्ट परिकारका साथमा कैयौँ खेलको पनि व्यवस्था गरिएको थियो । राजासित भेटघाटका लागि आएका मानिस नाचगान र खानपानमा रोकिए । कैयाैँ

 त सुरा, सुन्दरी र कैयौँ अनौठा खेलमा भुले । उनीहरू स्वादिष्ट खाना र होहल्लामा रमाउन थाले । समय क्रमशः घर्किंदै गयो । यस भिडमा एक यस्ता व्यक्ति पनि उपस्थित थिए, जसले मेला, भोज र त्यहाँको रमझमतिर हेर्दा पनि हेरेनन् । उनको ध्येय निश्चित थियो, तोकिएको समयसम्म जसरी भए पनि राजालाई भेटिछाड्छु । त्यसैले, उनी बगैँचा पार गरेर दरबारको मूलढोकामा पुगे । ढोकामा नांगा तरबार लिएका दुई चौकीदार उभिएका थिए । उनीहरूले तिनलाई रोके । तर, उनी चौकीदारलाई धक्का दिएर दौडिँदै भित्र पसे, जहाँ उनले तोकिएको समयभित्रै राजालाई भेटे । 

राजाले भने– मेरो राज्यमा कमसेकम एकजना यस्तो व्यक्ति पनि भेटियो, जसलाई कुनै पनि प्रलोभनले छुन सकेन । यथार्थमा सफल त्यही हुन्छ, जसले लक्ष्य निर्धारण गर्छ, त्यसमाथि अडिग रहन्छ र आउने हरेक कठिनाइको डटेर सामना गर्छ । त्यसैले, म तिमीलाई आधा राज्य होइन, पूरै राजपाट दिनेछु । तिमी नै मेरा उत्तराधिकारी बन्नेछौ ।