१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
विस्फोटपछि भग्नावशेषमा परिणत पेसावरस्थित मस्जिद । तस्बिर : अर्सद अर्बव
न्युयोर्क टाइम्सबाट
२०७९ माघ २२ आइतबार ०९:३०:००
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

पाकिस्तानको पेसावरमा आतंक फर्किएको हो ? 

Read Time : > 3 मिनेट
न्युयोर्क टाइम्सबाट
२०७९ माघ २२ आइतबार ०९:३०:००

पाकिस्तानको उत्तरपश्चिमी सहर पेसावरमा सोमबार आत्मघाती बम विस्फोट हुँदा सयभन्दा बढीको ज्यान गयो । आक्रमणकारीले पेसावरको सुरक्षितमध्येको एक क्षेत्रमा रहेको मस्जिदलाई निसाना बनाएपछि पेसावरवासी त्रस्त छन् । पछिल्लो आक्रमणले धेरै पेसावरवासीलाई सन् २०१४ अघिको आतंकका दिनलाई स्मरण गराइदिएको छ, जुन समय पेसावर पाकिस्तानभित्र आतंकवादी आक्रमणको केन्द्र बनेको थियो । सन् २०१५ मा पाकिस्तानी तालिबान लडाकु समूहलगायत अन्य विद्रोहीलाई निस्तेज पारेपछि सहर सुरक्षित बनेको थियो । त्यसपछि पेसावरका बासिन्दाहरूले शान्तिको सास मात्र फेरेनन्, कतिले आतंकवादी गतिविधि आफ्नो सहरमा विगतको कुरा हुने आशासमेत गरेका थिए । तर, मंगलबारको आक्रमणपछि त्यो आशा टुटेको छ । 

आर्थिक तथा राजनीतिक संकटसँग जुधिरहेको पाकिस्तानी सरकार आतंकवादको नयाँ लहरसँग कसरी जुध्न सक्ला भन्ने प्रश्नहरू अघिबाटै उठ्न थालेका हुन् । हुन पनि सोमबारको विस्फोट पाकिस्तानको इतिहासकै सबैभन्दा रक्तपातपूर्ण आत्मघाती आक्रमणहरूमध्ये एक थियो । प्रशासनका अनुसार हालसम्म आक्रमणमा १०१ मानिसको मृत्यु भएको छ भने अन्य २१७ घाइते भएका छन् । मृतकमध्ये अधिकांश घटनाको समय मस्जिदमा प्रार्थना गरिरहेका प्रहरी अधिकारी र सरकारी कर्मचारी थिए । कैयौँ महŒवपूर्ण सरकारी र सैन्य भवनको बीचमा अवस्थित मस्जिदमा विस्फोट हुनुले पनि सुरक्षा गल्तीमाथि प्रश्न उठिरहेको छ । 

आक्रमणको जिम्मा पाकिस्तानी तालिबानको एउटा गुटले लिएको छ । छिमेकी अफगानिस्तानमा तालिबानको सरकार बनेयता सो समूहले त्यहाँ आश्रय लिएर आफूलाई बलशाली बनाइरहेको विश्वास गरिन्थ्यो । पछिल्लो घटनाले त्यो विश्वासमा थप बल प्रदान गरेको छ । पेसावरवासीमा अझै पनि अघिल्लो दशकको आतंकको डर मेटिसकेको थिएन । अब नयाँ आक्रमणलाई यसले मलजल गर्ने पक्का छ । मंगलबार साँझ पर्दा मानिसहरू कफिनहरूको लस्कर गाड्न भेला भएका थिए । मेरो जस्तै उपस्थित मलामी धेरैको मनमा प्रश्न खेलिरहेको थियो– के रक्तपातपूर्ण आक्रमण र त्रासका दिनहरू फर्किएका हुन् ? यदि हो भने, देश अब कहाँ जान्छ ? ‘केही वर्षयता पेसावरमा शान्ति छाएको थियो, तर अहिले फेरि आत्मघाती विस्फोट र आतंकवाद फर्किएजस्तो छ,’ सहरका एक रिक्साचालक ३४ वर्षीय अकबर मोहम्मदले भने । 

बीचमा छोटो शान्तिको समय बिर्सिने हो भने विगत ४० वर्षको अवधिमा पेसावर कुनै न कुनै प्रकारको हिंसामा पिल्सिरह्यो । सन् १९८० को दशकमा यो सहर सोभियत–समर्थित अफगान सरकारविरुद्ध संघर्षरत लडाकुहरूको आधार जस्तै बनेको थियो । सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा शासन गरिरहेको तालिबानलाई अपदस्थ गरेपछि हजारौँ तालिबान लडाकु र अल कायदाका सदस्यले सीमावर्ती आदिवासी क्षेत्रमा शरण लिए । वर्षौंसम्म तालिबानले पाकिस्तानी पस्तुन जातिहरूबाट (अफगान तालिबानको बहुसंख्यक सदस्य यही जातिका छन्) लडाकु भर्ती गर्ने आधार बन्यो, यो सहर । 

सन् २००७ मा आएर यो क्षेत्रवरपर सक्रिय लडाकुले पाकिस्तानी तालिबान गठन गरे, जसको आधिकारिक नाम तहरिक–ए–तालिबान पाकिस्तान (टिटिपी) राखियो । यो समूह छिटै पाकिस्तानको सबैभन्दा खतरनाक आतंकवादी संगठनको रूपमा विकसित भयो र देशका कैयौँ स्थानमा आक्रमण गर्न सुरु गर्‍यो । पेसावर द्वन्द्वको केन्द्र बन्यो । समूहको सबैभन्दा ठूलो आक्रमणमध्ये एक सन् २०१४ डिसेम्बरमा भएको थियो । तालिबान लडाकुहरूले सेनाले चलाएको विद्यालयमा आक्रमण गरेर १४७ विद्यार्थी र शिक्षकहरू मारिदिएका थिए । त्यसपछि पाकिस्तानी सेना टिपिपीविरुद्ध आक्रामक रूपमा अघि आयो । सेनाको प्रत्याक्रमणमा समूह कमजोर मात्रै बनेन, बचेखुचेका लडाकु सीमापारि अफगानिस्तानमा लुक्न बाध्य भए ।

अफगान तालिबानले अगस्ट २०२१ मा काबुल कब्जा गरेपछि परिस्थितिले नयाँ रूप लियो । पाकिस्तानले विगतमा आफूले गोप्य रूपमा सघाएकाले काबुलको नयाँ तालिबान सरकारले टिपिपीलाई दमन गर्न सघाउने आशा राखेको थियो । तर, अहिलेसम्मको परिदृश्यले त्यो आशा यथार्थमा बदलिएको छैन । अफगान तालिबानले टिपिपीविरुद्ध उभिन मानिरहेको छैन । यसको प्रत्यक्ष अनुभव स्वात उपत्यकाका बासिन्दाले गरेका छन् । तिनले गत अगस्टमा टिपिपी सदस्य हुलका हुल सो उपत्यका फर्किन थालेका देखेका थिए । लडाकुसँगै त्यस क्षेत्रमा आतंकसमेत फर्कियो । धनी व्यापारी, निर्वाचित प्रतिनिधि र डाक्टरहरूलाई अज्ञात नम्बरबाट फोन आउन थाल्यो । ती फोनमा उनीहरूलाई मोटो फिरौती रकम तिर्न वा अन्य सहर जान धम्की दिइन्थ्यो । जबर्जस्ती असुली र आक्रमणको धम्की बढेपछि अक्टोबरमा हजारौँ मानिस स्वातको सडकमा विरोधमा उत्रिए । ‘तालिबान हिंसाको पुनरुत्थानका कारण स्वात उपत्यकामा स्थानीयहरू आतंक र अनिश्चितताको वातावरणमा बाँचिरहेका छन्,’ तालिबान आतंकको विरोधमा भएका विभिन्न प्रदर्शनमा भाग लिएका विश्वविद्यालय अध्यनरत २६ वर्षीय माजिद अलीले भने । 

पेसावरमा भएको आक्रमण पाकिस्तानले ठूलो आर्थिक र राजनीतिक उथलपुथल सामना गरिरहेको समयमा भएको छ । सोमबारको आक्रमणपछि राजनीतिक दलले एकअर्कालाई औँला तेस्र्याइरहेका छन् । त्यस्तै राजनीतिक वृत्तभित्र सेनाले सन् २०१४ मा जस्तै अर्को प्रत्याक्रमण सुरु गर्न सक्ने गाइँगुइँ पनि सुनिन्छ । तर, आज अफगानिस्तानको नयाँ सरकारसँगको पाकिस्तानको तिक्त सम्बन्धका बीच यस्तो आक्रमण जटिल हुनेछ । ‘प्रतिआतंकवाद प्रतिक्रिया सबैभन्दा सफल तब हुन्छ, जब त्यो टिपिपीको शक्तिको केन्द्रबिन्दुमा केन्द्रित हुन्छ । अहिले त्यो अफगानिस्तानमा छ, जहाँ समूहको नेतृत्वले आधार लिएर बसेको छ,’ विल्सन सेन्टरको साउथ एसिया इन्स्टिच्युटका निर्देशक माइकल कुगेलम्यानले भने, ‘यदि पाकिस्तानले सीमा वारपार प्रतिआतंकवादी गतिविधि सञ्चालन गर्‍यो भने अफगानिस्तानका तालिबानसँग उसको तनाव थप बढ्नेछ, जुन पाकिस्तान अहिले चाहँदैन ।’

पेसावरमा मंगलबार प्रहरीले आफ्नो उपस्थितिलाई बढाए पनि धेरै मानिस सरकारको जवाफी कारबाही पर्खेर बस्ने मुडमा छैनन् । सक्नेहरू इस्लामावाद र लाहोरजस्ता तुलनात्मक रूपमा सुरक्षित सहरमा बसाइँ सर्नेबारे सोच्न थालेका छन् । ‘पाकिस्तानमा कुनै पनि सहर सुरक्षित छैनन्, तर पेसावरको तुलनामा शान्त ठाउँहरू भने भेट्न सकिन्छ,’ एक क्रिस्चियन सरसफाइकर्मी मुख्तियार मसिहले भने । मसिहले सन् २०१३ मा पेसावरको एक चर्चमा भएको आत्मघाती बम विस्फोटमा आफ्ना साथी गुमाएका थिए, जसमा १२० भन्दा बढी मानिसको ज्यान गएको थियो । नयाँ आक्रमणपछि मसिह त्रसित बनेका छन् । उनले मंगलबार ठूलो क्रिस्चियन समुदाय रहेको लाहोरमा रहेका आफ्ना साथीहरूलाई फोन गरे । उनले आफ्ना सामना प्याक पनि गर्न थालेका छन् । ‘म सन् २००९ देखि २०१३ बीचमा आतंकवाद चरमचुलीमा हुँदा पेसावरमा बसेको छु । मलाई थाहा छ, त्यस अवस्थामा बाँच्न कति कठिन हुन्छ भनेर,’ मसिहले भने । 

(क्रिस्टिना गोल्डवाउम, सल्मान मसुद र जिया उर रहमान)