
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहको साटो भौतिक पूर्वाधार तथा यातायात वा अन्य कुनै मन्त्रालय लिन प्रस्ताव गरेका छन् ।
रास्वपाका अध्यक्ष रवि लामिछानेसँग आज भएको भेटमा प्रधानमन्त्री प्रचण्डले गृहको साटो भौतिक पूर्वाधार वा अन्य कुनै मन्त्रालय लिन प्रस्ताव गरेको स्रोतले जानकारी दिएको छ ।
रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको छ । प्रधानमन्त्रीले भने दिन अस्वीकार गर्दै आएका छन् ।
रास्वपालाई भौतिक पूर्वाधार मन्त्रालय दिने प्रस्तावसँगै प्रधानमन्त्री प्रचण्डले सो मन्त्रालयमा पार्टी सभापति लामिछानेको साटो अरूलाई पठाउन पनि आग्रह गरेका छन् ।
भौतिक पूर्वाधार मन्त्रालय रास्वपालाई दिएपछि गृहमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई ल्याउने प्रधानमन्त्रीको तयारी रहेको स्रोतको भनाइ छ ।
मन्त्रिपरिषद् गठनकै वेला श्रेष्ठले गृहमा दाबी गरेका थिए । तर, त्यसवेला गठबन्धनले रास्वपाका सभापति लामिछानेलाई गृह मन्त्रालय दिएको थियो ।
प्रधानमन्त्रीकाे नयाँ प्रस्तावमाथि छलफल गर्न अहिले रास्वपाकाे बैठक बसिरहेकाे छ ।