
प्रधानमन्त्री प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री भएका वेला सहिदहरूका सम्बन्धमा गरेको निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रिय सहिद तथा बेपत्ता स्मारकको सोमबार उद्घाटन गर्दै उनले तेस्रोपटक प्रधानमन्त्री बनेका वेला पहिलोपटकका निर्णय कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका हुन् ।
‘म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका वेला सहिदहरूको सम्बन्धमा गरेका निर्णय कार्यान्वयन गर्न सकिएन,’ उनले भने, ‘अहिले म तेस्रोपटक प्रधानमन्त्री भएको छु । त्यसवेलाका निर्णय कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेको छु ।’
उनले यसपटक प्रधानमन्त्री भएपछि आफूले पहिलोपटक प्रधानमन्त्री हुँदा सहिदहरूका बारेमा गरेको निर्णयको फाइल खोजेर हेरेकोसमेत बताए ।
दश वर्षे जनयुद्ध र विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै उनले सत्ता पक्षबाट सात राजनीतिक दलको नेतृत्व गरेर शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाप्रति पनि आभार व्यक्त गरे ।
‘मैले आज विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको दिनलाई स्मरण गरेको छु । त्यही सम्झौताको आधारमा नै अहिले नेपालको राजनीतिक प्रणाली अघि बढ्न सम्भव भएको हो,’ उनले भने, ‘गिरिजाबाबुको टावरिङ पर्सनालिटी र सात राजनीतिक दलको नेतृत्व गर्ने उहाँमा दृढ इच्छाशक्ति थियो।’