
सत्तारूढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने कुरा सरकारको विषय भएको बताएका छन् ।
सोमबार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग उनले सो विषय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्णय गर्ने विषय भएकाले पार्टीभित्र प्रवेश नै नगराइएको बताए । ‘गृहमन्त्रीको विषयमा प्रवेश नै गरिएन । यो सरकारको विषय हो । गृहमन्त्री को हुन्छ, को हुन्न भन्ने कुरा उहाँ (प्रधानमन्त्री)ले टुंगो लगाउने कुरा हो । यो पार्टीले टुंग्याउने कुरा होइन,’ उनले भने ।
शुक्रबार सर्वोच्च अदालतको आदेशपछि सांसद पद गुमाएका रवि लामिछानेले उपप्रधान एवं गृह मन्त्रालयको जिम्मेवारीसमेत गुमाएका छन् । लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएसँगै रास्वपाले पुनः गृह मन्त्रालय दाबी गरिरहेको छ । तर, प्रधानमन्त्री लामिछानेकाे दोहोरो राहदानीको विषय समाधानपछि मात्र निर्णय गर्नुपर्ने पक्षमा छन् ।