मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन अर्याल काठमाडाैं
२०७९ माघ १५ आइतबार ११:३४:००
Read Time : > 5 मिनेट
अर्थ प्रिन्ट संस्करण

दराजमै थन्किन्छन् हवाई दुर्घटना छानबिन आयोगका प्रतिवेदन 

Read Time : > 5 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७९ माघ १५ आइतबार ११:३४:००

सन् २०१२ देखि सन् २०२१ सम्म गठन भएका छानबिन समितिका प्रतिवेदनले दिएका १७५ सुझावमध्ये १३१ पूर्ण रूपमा र ११ आंशिक रूपमा स्वीकार गरिएको क्यानको जिकिर

तारा एयरको जहाज मुस्ताङमा दुर्घटना भएको आठ महिना पुग्दा पनि दुर्घटना जाँच आयोगले अझै प्रतिवेदन बुझाएको छैन । १५ जेठमा पोखराबाट जोमसोमतर्फ उडेको ताराको ट्विनअटर जहाज थासाङ–२, सानुसरेमा दुर्घटना हुँदा चालकदलसहित २२ जनाको मृत्यु भएको थियो । 

वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमनको अध्यक्षतामा बनेको आयोगले कहिलेसम्म प्रतिवेदन बुझाउने हो, पत्तो छैन । जहाजको एउटा उपकरण परीक्षणका लागि अमेरिका पठाइएको र त्यसको रिपोर्ट अझै नआएको हुनाले प्रतिवेदन बुझाउन ढिलाइ भएको पर्यटन मन्त्रालयका सहसचिव एवं जाँच आयोगका सदस्य बुद्धिसागर लामिछानेको भनाइ छ । उनी भन्छन्, ‘नेपालमा अनुसन्धान गर्न नसकेर अमेरिका पठाएको उपकरणको रिपोर्ट आएपछि प्रतिवेदनले पूर्णता पाउनेछ ।’

ताराको जहाज दुर्घटना भएको आठ महिना नपुग्दै यतीको एयरलाइन्सको एटिआर–७२ जहाज पोखरामा दुर्घटना भयो । चालकदलका सदस्यसहित ७२ जनाले ज्यान गुमाएको दुर्घटनाको छानबिन गर्न सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको अध्यक्षतामा ‘दुर्घटना जाँच आयोग’ गठन गरेको छ । डेढ महिना समय दिइएको यस आयोगले पनि समयमै प्रतिवेदन बुझाउनेमा प्रशस्तै आशंका जन्माएको छ । 

नेपालमा जहाज र हेलिकोप्टर दुर्घटना हुनेबित्तिकै सरकारले छानबिन आयोग तथा समिति गठन गर्ने गर्छ । जाँचबुझ आयोगले दुर्घटनाको कारण पहिचान गरेर आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कामको सुझावसहित प्रतिवेदन पेस गर्ने गर्छ । तर, ती आयोग–समितिले दिएका प्रतिवेदनहरू भने कार्यान्वयन नहुने गरेको नियमनकारी निकायकै उच्चपदस्थ अधिकारी बताउँछन् । 

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद् राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउवाले हवाई दुर्घटनाका प्रतिवेदनहरूले दिएको सुझाव कार्यान्वयन गर्दै अगाडि बढेमा नेपालमा हवाई दुर्घटना न्यूनीकरण गर्दै लैजान सकिने बताए । उनले भने, ‘हवाई दुर्घटनाका प्रतिवेदनले दिएका सुझाव लागू गर्नुपर्छ, सेवाप्रदायक संस्थालाई व्यावसायिक ढंगले सञ्चालन गर्नुपर्छ, राजनीतिक र प्रशासनिक हस्तक्षेप हुनुभएन, त्यसो भएमा नेपालको हवाई उडान सुरक्षित हुन्छ नै ।’ उनले हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन सेवाप्रदायक संस्थालाई व्यावसायिक ढंगले अघि बढाउनुपर्ने आवश्यकता बताइरहँदा नेपाली वायुसेवा कम्पनीहरू नियामकभन्दा बलिया र प्रभावी भइरहेको यथार्थ छ ।   

दुर्घटना जाँच आयोगले दिएका सुझाव कार्यान्वयन गर्ने जिम्मेवारी क्यान र वायुसेवा कम्पनीहरूको हो । तर, प्राप्त सुझाव क्यान र वायुसेवा कम्पनीहरूले कार्यान्वयन गरे कि गरेनन् भनेर नियमन गर्ने संयन्त्र नहुँदा आयोग गठन गर्नुको औचित्य नरहेको क्यानका एक पूर्वमहानिर्देशकले बताए । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र युरोपियन युनियन (इयू)ले क्यानलाई विभाजन गरेर नियामक र व्यवस्थापक नछुट्याएसम्म हवाई सुरक्षा सुदृढ नहुने ठोकुवा गरिरहेका छन् । नेपाली वायुसेवालाई कालोसूचीमा राखेको इयूले आफूले उठाइरहेको हवाई सुरक्षाको विषयलाई सम्बोधन गर्न नेपाल सरकारले क्यानलाई विभाजन गर्नैपर्ने सर्त राखेको छ । तर, क्यानलाई विभाजन गर्ने विधेयककोे मस्यौदा चार वर्षदेखि संसद्मा अड्किरहेको छ । हवाई क्षेत्रको नियामक र व्यवस्थापक छुट्टाछुट्टै भएमा आइकाओ र इयूले निर्दिष्ट गरेका सुरक्षा मापदण्डहरूको पूर्ण पालना हुने, दुर्घटना जाँच आयोगका प्रतिवेदनहरू पनि कार्यान्वयन हुने र उडान क्षेत्र सुरक्षित हुँदै जाने नेपालका लागि इयूकी राजदूत नोना डिप्रेजको तर्क छ । 

शुक्रबार समितिको बैठकमा बोल्ने हवाईविज्ञहरूले पनि आइकाओको मापदण्ड पूर्ण पालना नहुँदा हवाई दुर्घटना बढेको बताएका छन् । नेपाल वायुसेवा निगमका पूर्वइन्जिनियर डाइरेक्टर अच्युतराज पहाडीले आइकाओको मापदण्ड पूर्ण पालना गर्न सके हवाई दुर्घटना घट्दै जाने बताए । यस्तै, क्यानका पूर्वमहानिर्देशक सञ्जीव गौतमले हवाई सेवालाई सुरक्षित बनाउन नियमनकारी निकायहरूको दक्षता वृद्धि हुनुपर्नेमा जोड दिए । हवाई सुरक्षाका लागि संरचनागत सुधारका काम पनि तुरुन्तै गर्नुपर्ने उनको भनाइ छ ।

०७५ फागुनमा तत्कालीन उड्डयनमन्त्री रवीन्द्र अधिकारी, नियामक निकाय क्यानका तत्कालीन उपमहानिर्देशक एवं प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, एयरलाइन्स कम्पनीकै (यती र तारा) मालिक आङछिरिङ शेर्पा चढेको एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिरनजिकै दुर्घटना हुँदा चालकसहित सातजनाको मृत्यु भएको थियो । सो दुर्घटनाको छानबिन गर्न पूर्वसचिव याज्नाप्रसाद गौतमको अध्यक्षतामा गठित आयोगले हेलिकोप्टर दुर्घटनामा खराब मौसमलाई मुख्य कारण बनाई प्रतिवेदन बुझायो । प्रतिवेदनमा पाइलट अति उत्साहित भएका कारण दुर्घटना भएको हुन सक्ने पनि आयोगले औँल्याएको छ ।

मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको ठहर भएको तीन वर्षपछि तारा एयरको जहाज १५ जेठ ०७३ मा मुस्ताङमा दुर्घटना भयो । सो दुर्घटनाको मुख्य कारण पनि खराब मौसम नै भएको क्यानले जनाएको छ । खराब मौसमका कारण पाइलटले राइट टर्न गर्नुपर्ने जहाज लेफ्ट टर्न गरेर भित्तामा ठोक्किएको प्रारम्भिक अध्ययन देखाएको क्यानका महानिर्देशक प्रदीप अधिकारीले तत्कालीन संसद्को अन्तर्राष्ट्रिय समितिको बैठकमा बताएका थिए । यसअघिका दुर्घटनामा पनि खराब मौसम र चालकलाई मुख्य दोषी ठहर गरिँदै आएको छ ।

हवाई दुर्घटनामा बहालवाला मन्त्री, नियामक निकायका उच्च अधिकारी, वायुसेवा सञ्चालकहरूले ज्यान गुमाउँदा पनि दुर्घटना न्यूनीकरणमा नियमनकारी निकाय र वायुसेवा कम्पनीहरूले नै सचेत नदेखिएको एक वरिष्ठ पाइलटले बताए । तर, मन्त्रालयका सहसचिव एवं यती एयरलाइन्सको एटिआर–७२ दुर्घटना जाँच आयोगका सदस्य सचिव बुद्धिसागर लामिछाने जाँचबुझ समितिले दिएका सुझाव कार्यान्वयन नभएको आरोप स्विकार्न तयार छैनन् । हरेक आयोग वा समितिले दिएका कार्यान्वयनयोग्य सुझाव सबै कार्यान्वयन भएको उनको जिकिर छ । ‘दुर्घटना आकस्मिक रूपमा हुने गर्छ, समितिले दिएका सुझाव सम्बन्धित निकायहरूले कार्यान्वयन गर्छन्,’ उनले भने, ‘सुझाव कार्यान्वयन भएन भन्ने आरोप शतप्रतिशत झुटो हो ।’ 

मन्त्रालयको नागरिक उड्डयन महाशाखा प्रमुख लामिछाने सरकारद्वारा गठित अधिकांश हवाई दुर्घटना छानबिन समिति–आयोगमा नेतृत्वदायी वा सदस्यसचिवका रूपमा भूमिका निभाउँदै आएका छन् । 

नेपालमा हवाई दुर्घटनाका छानबिन प्रतिवेदनहरू सन् २०१२ देखि सार्वजनिक गर्न थालेको देखिन्छ । त्यसअघि दुर्घटनाको छानबिन गर्न आयोग–समिति गठन भए पनि प्रतिवेदन सार्वजनिक हुने गरेको थिएन । सन् २०१२ यता दुर्घटनाको सत्यतथ्य पत्ता लगाई हवाई दुर्घटना न्यूनीकरणका लागि सुझाव दिन गठित छानबिन आयोग–समितिले बुझाएका करिब डेढ दर्जन प्रतिवेदन मन्त्रालयले वेबसाइटमा सार्वजनिक गरेको छ । तर, कतिपय छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नै गरिएको छैन । 

०७८ असोजमा एकै दिन बुद्ध एयरका दुईवटा उडिरहेका जहाजमा समस्या आएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन भयो । सञ्चालनमा रहेका सबै हेलिकोप्टर र जहाजको प्राविधिक अध्ययन गर्ने तथा नियामक निकाय क्यान, वायुसेवा कम्पनीहरू, पाइलट तथा एरोनटिकल इन्जिनियरले हवाई सुरक्षमा कत्तिको सतर्कता अपनाइरहेका छन् भनेर समितिलाई विस्तृत अध्ययन गर्न भनिएको थियो । तर, त्यो प्रतिवेदन मन्त्रालयको वेबसाइटमा राखिएको छैन । समितिका संयोजकका लामिछानेले सो प्रतिवेदन क्यानलाई कार्यान्वयनका लागि पठाइसकेको बताए । तर, ती सुझाव क्यान र वायुसेवा कम्पनीहरूले के–कति कार्यान्वयन गरे भन्ने विषय जानकारीमा नरहेको उनको भनाइ छ ।

क्यानले प्रकाशित गरेको ‘एभिएसन सेफ्टी रिपोर्ट २०२२’ अनुसार सन् २०१२ देखि सन् २०२१ सम्म गठन भएका छानबिन समितिका प्रतिवेदनले एक सय ७५ सुझाव दिएका छन् । जसमध्ये एक सय ३१ सुझाव पूर्ण रूपमा र ११ वटा सुझाव आंशिक रूपमा स्वीकार गरिएका छन् । १९ सुझाव स्वीकार गरिएको छैन भने १४ सुझावलाई स्वीकार गर्नुनपर्ने भनिएको छ । स्वीकार गरिएका सबै सुझाव कार्यान्वयन भइरहेको सहसचिव लामिछानेको दाबी छ । तर, ती सुझाव कार्यान्वयनको अवस्था के छ  भन्ने जानकारी न तालुकदार मन्त्रालयलाई छ, न नियमनकारी निकाय क्यानलाई नै ।

इयूको ‘कन्सर्न’
- इयूले नेपालमा दर्ता भएका जहाजलाई युरोपेली आकाशमा उडान अनुमति नदिनुको पहिलो कारण हवाई सुरक्षाको चिन्ता हो ।
- नेपालमा अझै पनि हवाई दुर्घटना भइरहेका छन् । न्यूनीकरणमा उल्लेख्य काम हुन सकेको छैन ।
- नेपालमा भएको हवाई दुर्घटनामा युरोपेली देशका नागरिकले समेत ज्यान गुमाइरहेका छन् ।
- इयूले उठाइरहेको हवाई सुरक्षाको विषयलाई सम्बोधन गर्न नेपाल सरकारले नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई विभाजन गरेर नियामक र व्यवस्थापक छुट्याउन भनेको छ । तर, क्यानलाई विभाजन गर्ने विधेयक मस्यौदा चार वर्षदेखि संसद्मा अड्किएर बसेको छ ।

६ पाइलट निलम्बित
नेपालको हवाई दुर्घटनामा पाइलटलाई मुख्य दोषी देखाइन्छ । त्यो आरोपलाई नेपाल वायुसेवा निगमका पाइलटले पुष्टि गरेका छन् । गत शुक्रबार काठमाडौंबाट हङकङ र नारिता (जापान) उडानका क्रममा पाइलटले एयर ट्राफिक कन्ट्रोल (एटिसी)को निर्देशन पालना नगरेको भन्दै क्यानले पाँच पाइलटलाई निलम्बन गरेर कारबाही सुरु गरेको छ । निगमको न्यारोबडी जहाजका पाइलट उद्धव घिमिरे, नरबहादुर विश्वकर्मा र राजेश कुशवाहले हङकङ इन्टरनेसनल एयरपोर्टमा अवतरण गर्दा एटिसीको निर्देशन पालना नगरी जोखिमपूर्ण अवतरण गरेका थिए । हङकङ सिभिल एभिएसनले एटिसीको निर्देशन पालना नगरेको भन्ने व्यहोराको पत्र पठाएपछि क्यान एक्सनमा उत्रिएको हो ।

यस्तै, शुक्रबार नै काठमाडौंबाट नारिता उडान गर्न लागेको निगमको वाइडबडी जहाजका पाइलट वाइपी जुहार्चन र प्रसन्न राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्ट्यान्डर्ड अपरेसन प्रोसिड्युर (एसओपी) पालना नगरेको भन्दै निलम्बन गरेको छ । स्याङ्जाको वालिङमा फुटबल खेल भइरहेको मैदानमै जोखिमपूर्ण अवतरण गरेपछि प्रभु हेलिकोप्टरका पाइलट रानेश डंगोल निलम्बनमा परेका छन् । फुटबल खेल भइरहेको मैदानमा पूर्वजानकारीविनै अवतरण गर्दा सुरक्षा जोखिम हुने क्यानको जिकिर छ । पाइलट डंगोलले अन्यत्र सुरक्षित स्थान हेरेर होलिकोप्टर अवतरण गर्न सक्ने भए तापनि यात्रुले दबाब दिएको भन्दै फुटबल चलिरहेको मैदानमा अवतरण गरेपछि स्थानीयको कुटाइमा परेका थिए । 

१ माघमा पोखरामा भएको यती एयरलाइन्स जहाज दुर्घटनाले इयूको टोलीले नेपाल भ्रमण स्थगित गरेको छ । फेब्रुअरीमा हवाई सुरक्षाबारे अनसाइट अडिट गर्न आउन लागेको इयूले दशकदेखि राखेको कालोसूचीबाट हटाउने अपेक्षा थियो । तर, आन्तरिक उडानमा भएको अहिलेसम्मकै ठूलो दुर्घटनाले नेपाली उडानलाई इयूको कालोसूचीबाट हटाउने प्रयासमा जटिलता थपेको छ ।