१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
मञ्जु टेलर काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o६:o१:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

बढ्यो नेपाली औषधिको निर्यात

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:o१:oo

शल्यक्रियाका क्रममा लठ्याउन प्रयोग गर्नेदेखि क्यान्सरका बिरामीलाई दिइनेसम्मका औषधि नेपालबाट पुग्छ १९ देश

सरकारी कम्पनीको उत्पादन सिटामोल र जीवनजलमै सीमित

स्वदेशी उत्पादनले ४५ प्रतिशत औषधिको बजार धानिरहेको नेपालमा निर्यातसमेत बढ्न थालेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार ०७८/७९ मा एक अर्ब २७ करोडको औषधि निर्यात भएको छ । ०७७/७८ मा झन् धेरै एक अर्ब ९० करोडको औषधि निर्यात भएको थियो । ०६८/६९ मा ८० करोडबराबरको निर्यात भएकोमा १० वर्षपछि निर्यात दोब्बर भएको हो ।

खासगरी एलोप्याथी औषधिको कच्चा पदार्थ र इन्जेक्सनजन्य औषधिका लागि आयातमै निर्भर रहेकोमा कतिपय औषधिको उत्पादन थपेसँगै निर्यात पनि बढेको छ । आयुर्वेदिक र एलोप्याथी दुवै औषधि र औषधि बनाउन आवश्यक कच्चा पदार्थको निर्यात बढेको नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले बताए । 

संघको तथ्यांकअनुसार हाल भारतलगायत १९ देशमा नौ प्रकारका औषधि निर्यात भइरहेको छ । सबैभन्दा धेरै निर्यात भारतमा हुँदै आएको छ । ०७८/७९ मा कुल निर्यातको ८२.८५ प्रतिशत अर्थात् एक अर्ब ५८ लाखको औषधि भारतमा गएको छ । त्यस्तै, ५.०६ प्रतिशत अल्जेरिया र ४.५२ प्रतिशत नाइजेरियामा निर्यात भएको छ । बाँकी निर्यात गिनी, म्यानमार, अमेरिका, युगान्डा, फिलिपिन्स, मदागास्कर, बंगलादेश, तान्जिनिया, मध्य अफ्रिकी गणतन्त्र, अफगानिस्तान, बेलायत, इटाली, सियरालियोन, हङकङ, भनेजुएला, नेदरल्यान्डलगायत देशमा हुने गरेको छ । 

तर, चार कम्पनीले मात्रै औषधि निर्यातका लागि औषधि व्यवस्था विभागसँग स्वीकृति लिएका छन् । विभागका अनुसार नेसनल हेल्थकेयर, क्वेस्ट फर्मास्युटिकल, म्यागनस फर्मा र हेस्टर बायोसाइन्स नेपालले मात्रै विभागसँग स्वीकृति लिएर युगान्डा, फिलिपिन्स, म्यानमार, मदागास्कर र बंगलादेशमा औषधि निर्यात गर्दै आएका छन् । 

विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले निर्यातका लागि अनुमति लिने औषधि उत्पादन कम्पनीको संख्या पनि बढ्ने क्रममा रहेको बताए । ‘विभागसँग स्वीकृति लिएर निर्यात गर्ने कम्पनीले थप औषधि निर्यातका लागि समेत अनुमति लिइरहेका छन् । साथै, निजी कम्पनीले समेत औषधि विदेश पठाउने ट्रेन्ड बढिरहेको छ ।’ 

सरकारी कम्पनीको उत्पादन सिटामोल र जीवनजलमै सीमित
एलोप्याथी औषधिका लागि एक मात्र सरकारी औषधि उत्पादक कम्पनी नेपाल औषधि लिमिटेडको उत्पादन भने सिटामोल र जीवनजलमै सीमित भएको छ । कुनै समय एक सय ३० भन्दा धेरै प्रकारका औषधि उत्पादन गर्ने एक मात्र सरकारी कम्पनीले हाल दुईवटा मात्रै उत्पादन गरेको हो । 

लिमिटेडका प्रवक्ता टीकाराम अर्याल कच्चा पदार्थ खरिदका लागि सरकारले समयमा बजेट उपलब्ध नगराउने भएकाले औषधि उत्पादन घटेको दाबी गर्छन् । ‘कच्चा पदार्थ खरिदकै लागि बजेट छैन,’ उनले भने, ‘जीवनजल, सिटामोल, डिस्टिल्ड वाटर र ग्लिसिरिन उत्पादन गर्र्दै आए पनि हाल सिटामोल र जीवनजल मात्रै उत्पादन भइरहेको छ ।’ प्रवक्ता अर्यालले चालू आर्थिक वर्षमा थप औषधि उत्पादनका लागि कच्चा पदार्थ खरिद प्रक्रिया अघि बढाइएको बताए । 

त्यस्तै, आयुर्वेदिक औषधि उत्पादन गरिरहेको सिंहदरबार वैद्यखाना पनि हाल चार औषधिमा सीमित भएको छ । कर्मचारी विवादका कारण केही समय उत्पादन नै रोकेको वैद्यखानामा हाल चेवनप्रास, अविपतिकर चूर्ण, तुलसी चिया र त्रिफला उत्पादन भइरहेको छ । 

यी १९ देशमा हुन्छ नौ प्रकारका नेपाली औषधि निर्यात
भारत, अल्जेरिया, नाइजेरिया, गिनी, म्यानमार, अमेरिका, युगान्डा, फिलिपिन्स, मदागास्कर, बंगलादेश, तान्जिनिया, मध्य अफ्रिकी गणतन्त्र, अफगानिस्तान, बेलायत, इटाली, सियरालियोन, हङकङ, भनेजुएला, नेदरल्यान्ड

यस्ता औषधि हुँदै छन् निर्यात
क्यान्सरका बिरामीलाई आवश्यकलगायत आँखा र कानमा प्रयोग गरिने ‘ग्लाइसिन’ र ‘नेसिप्रो’ नेपालमा उत्पादन भएर निर्यात हुने गरेका छन् । त्यस्तै, एनेस्थेसियामा प्रयोग हुने ‘केटामिन’, उपचारका क्रममा बेहोस पार्न अर्थात् महसुस हुन नदिन प्रयोगमा आउने ‘लाइडोकेन हाइड्रोक्लोरिक इन्जेक्सन’ र छालाको संक्रमणको उपचारका लागि प्रयोगमा आउने ‘मुपिरोसिन वोइन्मेन्ट’जस्ता औषधि निर्यात भइरहेका छन् । यसबाहेक मेटफर, रोभास्टिन, लिनासिस, लाइभ थर्मोभ्याक पिपिआर भ्याक्सिन निर्यात भइरहेका छन् । 

औषधि निर्यातमा सार्क राष्ट्रमध्ये नेपाल चौथो नम्बरमा
सार्क राष्ट्रमध्ये विदेशबाट औषधि आयात गर्ने छैटौँ नम्बरमा रहेको नेपाल निर्यातमा भने चौथो नम्बरमा छ । हाल नेपालले विश्वभरको कुल औषधि निर्यातको ०.०१ अर्ब अमेरिकी डलरबराबरको औषधि निर्यात गर्दै आएको छ । संसारभर सार्क राष्ट्रले २०२० मा १८.८४ अर्ब अमेरिकी डलर मूल्यबराबरका औषधि निर्यात गरेको छ । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई नेपालमा उत्पादित औषधिको गुणस्तर बढाउन सकेमा आयात घटाउन सकिने र निर्यातको बाटो पनि खुल्ने बताउँछन् । उत्पादित औषधिको गुणस्तर राष्ट्रिय औषधि प्रयोगशाला र औषधि व्यवस्था विभागले परीक्षण गर्र्दै आएका छन् । 

ad
ad