मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ ११ बुधबार १०:३५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पर्यटन बोर्डको स्थापना र काम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ ११ बुधबार १०:३५:००

नेपालको तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका दृष्टिले मुलुकको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक क्रियाकलाप अभिवृद्धि र समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्‍याउँदै आएको छ । 

देशमा रहेका सम्पूर्ण मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षण र विकास गरी तिनको आर्थिक उपयोग गर्ने तथा पर्यटनलाई मुलुकको आर्थिक आधारको रूपमा ग्रामीण तहसम्म विकास र विस्तार गरी यसको प्रतिफल जनजीवनको तल्लो तहसम्म पुर्‍याउन संस्कृति र पर्यटन क्षेत्रको विविधीकरण, विस्तार र प्रवद्र्धन गरिनु आवश्यक छ ।

पर्यटन क्षेत्रको विकास र विस्तारसहित आन्तरिक र बाह्य हवाई यातायात विकास गरी थप सुरक्षित, स्तरीय र भरपर्दो बनाउन आवश्यक छ ।नेपालमा विदेशी पर्यटकहरूको आवागमन सुरुवात भएसँगै पर्यटन क्षेत्रका कार्यक्रमलाई व्यवस्थित ढंगले अगाडि बढाउन सर्वप्रथम ०१६ सालमा पर्यटन बोर्डको स्थापना भएको हो ।

०१८ सालमा निर्माण तथा यातायात मन्त्रालयअन्तर्गत पर्यटन विभाग गठन भएको थियो । यस्तै, सन् १९७२ को पर्यटन गुरुयोजना र प्रशासन सुधार आयोग, २०३२ को सिफारिससमेतका आधारमा पर्यटन क्षेत्रको योजनाबद्ध विकास तथा प्रवद्र्धन गर्न केन्द्रीय पर्यटन प्रशासनिक निकायको रूपमा ०३४ सालमा छुट्टै पर्यटन मन्त्रालयको स्थापना भएको हो । 

०३९ सालमा निर्माण तथा यातायात मन्त्रालयअन्तर्गतको हवाई विभागलाई समेत गाभी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामकरण गरिएको थियो । मुलुकले अवलम्बन गरेको खुला बजारमुखी अर्थतन्त्रमा सरकारको भूमिका र कार्यक्षेत्रलाई व्यवस्थित गर्न ०५५ सालमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका दुईवटा विभाग हवाई विभाग र पर्यटन विभागलाई खारेज गरी क्रमशः नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन बोर्डको स्थापना भयो ।

यस्तै, ०५७ सालदेखि संस्कृति क्षेत्रको समेत कार्य गर्ने गरी मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रूपमा नामकरण भयो । पर्यटन उद्योगको व्यवस्थापन, पर्यटन पूर्वाधार विकास, पर्यटकको सुरक्षालगायत कार्य गर्न नेपाल सरकार मन्त्रिपरिषद्को ०७१ साउन २ गतेको निर्णयअनुसार ०७१ भदौमा पर्यटन विभागको स्थापना भएको छ ।

नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्व बढ्दै गएअनुरूप यसलाई प्रमुख प्राथमिकताको क्षेत्रमा राखिएको, नेपालको सांस्कृतिक विविधता अनुपम रहेकाले यसलाई संरक्षण, विकास र प्रवद्र्धन गर्दै यसको आर्थिक उपयोग एवं पर्यटनको मुख्य उत्पादन र गन्तव्यको रूपमा विकास गर्न आवश्यक भएको, साथै हवाई सेवाले भौगोलिक विषमतामा यातायात सेवा उपलब्ध गराउनुका अतिरिक्त बाह्य र आन्तरिक रूपमा पहुँच विस्तार भई पर्यटन सेवामा समेत पर्याप्त योगदान पुर्‍याउने भएकाले यी तीनओटै क्षेत्रलाई एकीकृत रूपमा अगाडि बढाउन एउटै मन्त्रालयको कार्यक्षेत्रमा राखिएको पाइन्छ ।