१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवराज मैनाली काठमाडाैं
२०७९ माघ ११ बुधबार ०६:३०:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कस्तुरीको बिना चोरी–सिकारीमा हाइप्रोफाइल गिरोह, कोरियासम्म ‘कनेक्सन’ 

Read Time : > 3 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०७९ माघ ११ बुधबार ०६:३०:००

कोरियन नागरिक जंग जुन जुन पछिल्लो आठ वर्षमा १६ पटक नेपाल आए । राम्रो लागेर घुम्नका लागि उनी बारम्बार नेपाल आएका होइनन् । हरेकपटक आएको भोलिपल्टै उनी कोरिया फर्किहाल्थे । पछिल्लोपटक १३ असारमा पनि जुन नेपाल आए । त्यसको भोलिपल्ट कोरिया फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परे । त्यसपछि बल्ल उनी पटक–पटक आउनुको कारण खुल्यो । 

नेपालमा कस्तुरीको चोरी–सिकारी गरी बिनाको ओसारपसारका लागि उनी नेपाल आउने गरेका थिए । उनी यस्तो अपराधमा संलग्न एक अन्तर्राष्ट्रिय गिरोहका सदस्य भएको खुलेको छ ।

गत १४ असार विमानस्थलको चेकजाँचमा उनीबाट सात सय १६ ग्राम कस्तुरीको बिना धुलोको रूपमा बरामद भएको थियो । लगाएको जुत्ताभित्र बिना लुकाएर कोरिया लैजान खोज्दा उनी पक्राउ परेका थिए । जिल्ला वन कार्यालय, काठमाडौंले उनको गिरोहमाथि थप अनुसन्धान गरिरहेको छ । हालसम्मको अनुसन्धानमा यसमा ठूलो अन्तर्राष्ट्रिय गिरोह नै संलग्न रहेको सूचना पाइएको छ । तर, नेपालको रहेको सञ्जाल अझै पत्ता लाग्न सकेको छैन । 

डिभिजन वन कार्यालय, काठमाडौंका प्रमुख बद्री कार्कीले पक्राउ परेका कोरियन नागरिक भरिया मात्र नभई तस्करीमा संलग्न गिरोहकै व्यक्ति भएको र उनको सञ्जालका व्यक्तिमाथि अनुसन्धान भइरहेको बताए । जुनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । उनलाई ८५ दिनसम्म हिरासतमा राखेर वन र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरेको थियो । यो घटनाबाट वन्यजन्तुका अखेटोपहार तस्करीमा नेपालमा कोरियन गिरोह सक्रिय रहेको देखाएको छ । 

पक्राउको दुई महिनापछि मात्रै फेला पर्‍यो सूत्र 
संगठित किसिमको अपराध देखिएपछि पक्राउ परेका कोरियन नागरिक जुनमाथिको अनुसन्धानमा वन कार्यालयसँगै (सिआइबी)को पिलर नम्बर ४ पनि जोडियो । तर, करिब दुई महिनासम्म केही सूत्र फेला पार्न सकेन । जुनले आफ्नी माइजूलाई क्यान्सर भएकाले उनको उपचारका लागि बिना लैजान लागेको बताएका थिए । कसले दियो भन्ने प्रश्नमा हिमालय जाभामा भेट भएका एक व्यक्तिले दिएको, तर नाम थाहा नभएको बताए । 

उनकै बयानअनुसार अनुसन्धान टोली हिमालय जाभामा पुग्यो । उनी त्यहाँ गएको पनि पुष्टि भयो । तर, उनलाई बिना दिने व्यक्ति भेट्टाउन सकेन । पछि उनी बस्ने होटेलमाथि प्रहरीले अनुसन्धान गर्‍यो । त्यस क्रममा ठमेलको फेयरफिल्ड बाई मेरियट होटेलमा बसेको खुल्यो । त्यहीँ बिनाको कारोबार भएको थियो । तर, उनलाई बिना दिने व्यक्तिसम्म वन र प्रहरी अझै पुग्न सकेको छैन । जसकारण नेपालमा रहेको गिरोहमा को–को छन् भन्ने अझै खुल्न सकेको छैन । 

पक्राउ परेको करिब दुई महिनापछि मात्र जुनले आफूलाई काम लगाउने व्यक्तिबारे जानकारी दिएको अनुसन्धान अधिकृत पराजुलीले बताए । ‘यो घटनाको अनुसन्धानमा हामीले निकै मिहिनेत गरेका छौँ,’ उनले भने, ‘वन्यजन्तु अपराधका धेरै घटनामा भरिया मात्र पक्राउ पर्ने गरेका छन्, तर यो घटनामा हामीले बेच्ने, ओसार्ने र किन्ने तीनै तहका व्यक्तिमाथि अनुसन्धान गर्न सफल भएका छौँ ।’ नेपालमा बिनाको चोरी–सिकारी गर्ने केही व्यक्तिको सूचना पाए पनि त्यसलाई प्रहरी र वन कार्यालयले गोप्य नै राखेको छ । 

बरामद भएको बिना करिब २० वटा कस्तुरीको भएको अनुसन्धान अधिकारी बताउँछन् । एउटा कस्तुरीबाट करिब ३० देखि ५० ग्राम बिनाको भित्री भाग ‘मस्कोन’ हुन्छ । जस हिसाबले धेरैवटा कस्तुरीको बिनाको सिकार गरिएको छ । यस आधारमा तस्करीमा ठूलै गिरोहको संलग्नता रहेको आकलन गरिएको छ । अनुसन्धान अधिकारीले पाएको सूचनाका आधारमा यसमा ‘हाइप्रोफाइल’ व्यक्तिसमेत संलग्न छन् । 

पक्राउ परेका कोरियन नागरिक जुनले विगतमा आफू अन्य सामग्रीको व्यापारका लागि नेपाल आउने गरेको बताएका छन् । तर, के सामग्री भन्ने खुलाउन नसकेकाले बिनाकै तस्करीका लागि आउने गरेको अनुसन्धान अधिकारीको दाबी छ । जुन पहिलोपटक सन् २०१४ को १ अप्रिलमा नेपाल आएका थिए । त्यसयता हरेक वर्ष करिब दुईपटक उनी नेपाल आउने गरेको अध्यागमनको ‘ट्राभल रेकर्ड’बाट देखिन्छ । 

हिमाली जिल्लामा पाइने कस्तुरीको चोरी–सिकारी बढिरहे पनि गिरोह पक्राउ पर्न सकेको छैन । कोरोना लकडाउनको समयमा अन्नपूर्ण संरक्षण क्षेत्रमा कस्तुरीको चोरी–सिकारी भएको थियो । त्यही कस्तुरीको बिना उनीहरूले लैजान लागेको अनुमान गरिएको छ । तर, नेपालमा वन्यजन्तुको डिएनए परीक्षण गर्ने प्रणाली अझै बन्न सकेको छैन । ‘यदि मृत भेटिएका कस्तुरीको डिएनए गरिएको भए अहिले बरामद बिनासँग म्याच गरेर पत्ता लगाउन सकिन्थ्यो,’ सिआइबीका एक अधिकारीले भने, ‘तर, हाम्रो देशमा यस्तो सिस्टम नै बस्न नसक्दा वन्यजन्तुसँग सम्बन्धित अपराधको अनुसन्धान प्रभावकारी हुन सकेको छैन ।’ 

हाइप्रोफाइल कनेक्सन 
अनुसन्धानमा आबद्ध अधिकारीहरूका अनुसार पक्राउ परेका कोरियन नागरिक जुन गिरोहका मध्यतहका व्यक्ति हुन् । मुख्य नाइके कोरियामै रहेको अनुसन्धान अधिकृत अशोक पराजुलीले बताए । हान उक ली नामक व्यक्ति गिरोहका नाइके हुन् । उनी पनि १५ पटकसम्म नेपाल आएको अध्यागमनको रेकर्डबाट देखिएको छ । ‘दुवैजना कोरियन केही पटक सँगै नेपाल आएको पनि देखिन्छ,’ पराजुलीले भने, ‘वन्यजन्तुका अखेटोपहार तस्करीको धन्दामा उनीहरू यसरी पटक–पटक नेपाल आएको हुन सक्ने हाम्रो आकलन छ ।’ 

कोरियामा रहेका ली त्यहाँ आयुर्वेदिक औषधिको व्यापारी भएको सूचना अनुसन्धान अधिकारीहरूले पाएका छन् । औषधोपचारकै लागि उनले नेपालबाट वर्षाैँदेखि कस्तुरीको बिना तस्करी गर्दै आएको नेपालमा पक्राउ परेका उनका सहयोगीले खुलाएका छन् ।

यद्यपि, यसको पुष्टि हुन सकेको छैन । औषधि तथा महँगा अत्तर बनाउन बिनाको तस्करी हुने गरेको अनुसन्धानले देखाएका छन् । कोरियामा रहेका लीमाथि कानुनी कारबाहीका लागि प्रहरीले इन्टरपोलसँग सहकार्य अघि बढाएको छ ।

उनलाई पनि फरार अभियुक्तका रूपमा जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । प्रहरीले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा २० अनुसार  १५ वर्षसम्म कैद र १० लाखसम्म जरिवानाको सजाय मागदाबीसहित मुद्दा चलाएको छ । संगठित किसिमको अन्तर्राष्ट्रिय गिरोह संलग्न देखिएका घटनामा यो ऐन आकर्षित हुन्छ ।