१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
कृष्ण रिजाल काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o९:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

स्रोत र खर्चको सीमा अनुमान गर्ने समिति नेतृत्वविहीन

योजना आयोगका उपाध्यक्ष संयोजक रहने समितिले १५ माघभित्रै अर्थमन्त्रीलाई प्रतिवेदन बुझाउनुपर्छ, तर उपाध्यक्ष पद नै रिक्त छ

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:२५:oo

राष्ट्रिय स्रोत अनुमान समितिले ‘आगामी तीन आर्थिक वर्षमा उपलब्ध हुने स्रोत तथा गर्न सकिने खर्चको सीमा’को पूर्वअनुमान चालू आर्थिक वर्षको १५ माघभित्र गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष संयोजक रहने उक्त समितिले अर्थमन्त्रीलाई तीनै तहका सरकारको स्रोत र खर्चको अनुमान प्रतिवेदन बुझाउनुपर्छ । तर, माघको पहिलो साता बित्दासमेत सरकारले योजना आयोगको उपाध्यक्ष नियुक्ति नगर्दा समितिको बैठक नै बस्न सकेको छैन । 

समितिले आर्थिक परिसूचक, आगामी आर्थिक वर्षहरूमा उपलब्ध हुन सक्ने राजस्व, विकास सहायता र आन्तरिक ऋणलगायत संघीय सञ्चित कोषमा जम्मा हुन सक्ने रकमका आधारमा वस्तुनिष्ठ भई स्रोतको र चालू वर्षको मध्यमकालीन खर्च संरचनालाई समेत दृष्टिगत गरी खर्चको अनुमान गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, समितिका संयोजक नहुँदा यो विषयमा कुनै पनि छलफल तथा बैठक हुन सकेको छैन । 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ७ ले स्रोतको अनुमान र खर्चको सीमा निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ । उपदफा १ मा भनिएको छ, ‘योजना आयोगले अर्थ मन्त्रालयसँगको समन्वयमा मध्यकालीन खर्च संरचना तथा आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम तर्जुमा गर्ने प्रयोजनका लागि आगामी तीन वर्षमा उपलब्ध हुने स्रोत तथा गर्न सकिने खर्चको सीमाको पूर्वअनुमान चालू आर्थिक वर्षको माघ १५ गतेभित्र गरिसक्नुपर्नेछ ।’ यसका लागि योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा एक राष्ट्रिय स्रोत अनुमान समिति रहने व्यवस्था उपदफा २ ले गरेको छ ।  

योजना आयोगको उपाध्यक्ष संयोजक रहने राष्ट्रिय स्रोत अनुमान समितिका सदस्यहरूमा आयोगकै सदस्य (समष्टिगत आथिक क्षेत्र हेर्ने), नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ मन्त्रालयका सचिव र महालेखा नियन्त्रक रहने व्यवस्था छ । त्यस्तै, सदस्य सचिव भने योजना आयोगका सदस्य सचिव नै रहने उल्लेख छ । 

स्रोत र खर्चको सीमा अनुमान गर्ने कार्य भइरहेकै छ
केवलप्रसाद भण्डारी, सदस्यसचिव, राष्ट्रिय योजना आयोग 

स्रोत समितिले स्रोत र खर्चको सीमाको अनुमान १५ माघभित्र गर्नुपर्ने कानुनी व्यवस्था छ । अहिले योजना आयोगमा उपाध्यक्ष र सदस्यहरू नियुक्त हुनुभएको छैन । यद्यपि, स्रोत र खर्चको सीमा अनुमान गर्ने कार्य भइरहेकै छ । आर्थिक र वित्तीय क्षेत्रका प्रतिनिधि रहेको प्राविधिक समितिले तथ्यांक संकलन, विश्लेषण, अनुमान गर्नेलगायतका काम गरिरहेको छ । अर्को बिहीबार खाका तयार गर्नेछौँ । प्रधानमन्त्री एवं आयोगका अध्यक्षलाई यस विषयमा जानकारी गराउनेछौँ ।

प्राविधिक समितिले काम गर्दै 
स्रोत समिति नेतृत्वविहीन भएपछि योजना आयोगका सचिव भण्डारी नेतृत्वको प्राविधिक समितिले स्रोत र खर्च अनुमानको खाका तयार गर्ने काम गरिरहेको छ । यसै साता बनाइएको उक्त प्राविधिक समितिको बैठक बिहीबार बसेको थियो । समितिले अहिले अध्ययन, विश्लेषण तथा छलफलसमेतका आधारमा स्रोत तथा खर्च अनुमानको खाका तयार पारिरहेको छ ।

‘समिति नेतृत्वविहीन भएकाले त्यसको बैठक हुने कुरै भएन, अहिले प्राविधिक समिति बनाएर काम गरिरहेका छौँ,’ भण्डारीले भने, ‘आर्थिक तथा वित्तीय क्षेत्रका सरोकारवालाको सहभागितामा तथ्यांक संकलन, विश्लेषण तथा अनुमान गर्ने कार्य भइरहेका छन्, आगामी बिहीबार पुनः बैठक राखेर स्रोत र खर्चको अनुमानको खाका तयार गर्नेछौँ ।’

ad
ad