१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
दोस्रो चरणको पुनर्निर्माणमा बाँकी रहेको कमलपोखरी
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o९:१८:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कमलपोखरीको दोस्रो खण्ड निर्माण कहिले ?

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o९:१८:oo

सरसफाइ र व्यवस्थापनमा छुट्याएको बजेट खर्च भएन, सफाइ नहुँदा पोखरीमा छाडिएका माछा मर्न थाले

काठमाडौं महानगरभित्र टहलिन र घुमफिर गर्न सकिने टुँडिखेलपछिको अर्को ठूलो ठाउँ कमलपोखरी हो । जहाँ दैनिक सयौँ सर्वसाधारण टहलिन पुग्छन् । काठमाडौं महानगरले यो पोखरी पुनर्निर्माणको पहिलो खण्ड सकेको एक वर्ष हुन लाग्दासमेत दोस्रो खण्डको कामको सुरसार नै गरेको छैन । 

दोस्रो खण्डको काम सुरु नहुँदा कमलपोखरीमा फोहोर थुप्रिनुका साथै दुर्गन्ध बढ्न थालेको छ । पोखरीमा भएका माछा मर्न थालेका छन् । उद्घाटनपछि नियमित मर्मत–सम्भार नहुँदा अनेक समस्या आउन थालेको छ ।

काठमाडौं महानगर सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा भन्छन्–दोस्रो चरणको काम अघि बढाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिरहेका छौँ । फागुनदेखि काम सुरु गर्छाैँ । कमलपोखरी स्पोर्टस् क्लब र पुलिसचौकी भवन भत्काएपछि खाली क्षेत्रमा दोस्रो चरणअन्तर्गतको काम हुनेछ । थोरै क्षेत्र भएकाले धेरै समय लाग्दैन । 

महानगरले भने चालू आर्थिक वर्षदेखि दोस्रो खण्ड निर्माण सुरु हुने जनाएको छ । दोस्रो खण्डको काम सुरु भएपछि हालका समस्या पनि समाधान हुने महानगरको भनाइ छ । ‘दोस्रो चरणको काम अगाडि बढाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) गरिरहेका छौँ । फागुनदेखि काम सुरु गर्छाैँ,’ सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाले भने, ‘कमलपोखरी स्पोर्टस् क्लब र पुलिसचौकी भवन भत्काएपछि खाली क्षेत्रमा दोस्रो चरणअन्तर्गतको काम हुनेछ । थोरै क्षेत्र भएकाले धेरै समय लाग्दैन ।’ 

तत्कालीन मेयर विद्यासुन्दर शाक्यले २ चैतमा कमलपोखरी निर्माणको पहिलो चरणअन्तर्गतका काम सकिएको भन्दै उद्घाटन गरेका थिए । महानगरको वडा १ मा पर्ने कमलपोखरीको १९ असार ०७६ मा मेयर शाक्यले नै शिलान्यास गरेका थिए । महानगरले ‘हाम्रो काठमाडौं आफैँ बनाऔँ’ नाराका साथ पुनर्निर्माण थालेको थियो । नौ करोड ४७ लाख रुपैयाँ लागतमा सबै काम सक्ने गरी जय धनञ्जय (कँडेल निर्माण सेवा)ले पोखरी पुनर्निर्माण गरेको थियो । २३ रोपनी १४ आना क्षेत्रफलमा रहेको कमलपोखरी परिसरमध्ये पहिलो चरणमा १९ रोपनीबराबरमा काम सकिएको छ । बाँकी क्षेत्रमा दोस्रो चरणमा काम हुनेछ । 

कमलपोखरीमाथि महानगरको बदमासी
उद्घाटन भएको एक वर्ष नबित्दै कमलपोखरीका माछा मर्न थालेका छन् । माछा मरेका कारण पोखरी दुर्गन्धित भएको छ । पोखरी जुन प्रविधिबाट बनाइनुपर्ने हो, त्यो तरिकाबाट पुनर्निर्माण नहुँदा अब बोरिङ खनेर पानी हाल्नुपर्ने भएको छ ।

पोखरीको बीचभागमा प्राकृतिक रूपमा कमलको फूल फुलाइने भने पनि कृत्रिम फूल जडान गरिएको छ  । पोखरीको पानी नियमित परिवर्तन नहुँदा हरियो लेउ लागेको छ । ढुंगेधारा तथा पोखरीविज्ञहरूले पोखरी सुकाउँदा धाँजा फाट्ने गरी सुकाउनु गलत भएको भन्दै विरोध जनाएका थिए, तर महानगरले विज्ञका कुरा नसुनी आफ्नै ढंगले पुनर्निर्माण गरेको थियो ।

महानगरले कमलपोखरीको सरसफाइ नगर्दा मरेका माछा 

पोखरीका माछा मरेर पानीमाथि तैरिँदा र पोखरी फोहोर हुँदासमेत महानगर भने अनभिज्ञ छ । ‘माछा मरेको भन्ने सुनेको त हो, तर कमलपोखरीमा लगेर कसले माछा हाल्यो ? किन हाल्यो ? कति हाल्यो ? भन्ने हामीलाई जानकारी छैन । हामीसँग स्वीकृति लिएर कसैले पनि त्यस्ते काम गरेको छैन,’ सार्वजनिक निर्माण विभाग प्रमुख थापाले भने, ‘सरसफाइको कामलाई ध्यान दिन वातावरण विभागलाई चिठी लेखेका छौँ । अहिले कमलपोखरीको पूरै काम सम्पन्न नभएकाले व्यवस्थापनको काम राम्रोसँग हुन नसकेको हो ।’ 

बजेट छुट्याइए पनि सरसफाइ भएन 
महानगरले आर्थिक वर्ष ०७९/८० का लागि कमलपोखरी संरक्षण, मर्मत र सौन्दर्यीकरण साथै दोस्रो चरणको कामका लागि दुई करोड बजेट विनियोजन गरेको छ । तर, संरक्षण र मर्मतका लागि ध्यान भने दिइएको छैन । कमलपोखरीमा नौवटा चैत्य छन्, जसमध्ये केहीमा तोडफोड भएको छ । चारै कुनामा कमलका फूलसहित स–साना पोखरी निर्माण गरिने भनिए पनि फूल त फुल्न सकेको छैन नै । साना पोखरी पनि कालो पानीमा परिणत हुँदै छन् । पोखरीको डिजाइनअनुसार बालबालिकाका लागि पार्क बनाउनुपर्नेछ । साँझपख पार्कमा चहलपहल होस् भनेर बत्ती जडान गरिनेछ, उल्लेख भए पनि व्यवहारमा त्यसो हुन सकेको छैन ।

४ माघ ०७७ मा वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, अधिवक्ता विष्णुप्रसाद भुसाल, सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ, अधिवक्ता लिसा महर्जन र सञ्जय अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालयलगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । कमलपोखरी मौलिक शैलीमै पुनर्निर्माण हुनुपर्ने भन्दै उनीहरू अदालत गएका थिए । सर्वोच्चले कुनै पनि आदेश नदिँदा कमलपोखरीको पहिलो चरणको काम महानगरकै अनुसार निर्माण सम्पन्न भएको थियो । अब दोस्रो चरणको काम पनि सोहीअनुसार हुने भएको छ ।

 

ad
ad