
डोल्पाको ठूलीभेरी नगरपालिका– ८ मा पर्ने रूपगार्ड तातोपानी जाने खोलामा भएकाे काठेपुल जीर्ण भएपछि यात्रुलाई समस्या भएको छ । रूपगार्ड तातोपानी जाँदा बीचमा पर्ने पुरानो काठेपुल कुहिएर भत्किएपछि आवतजावतमा समस्या भएको हो । काठेपुल भत्किँदा स्थानीय तथा बाह्य नागरिकलाई आउन–जान समस्या भएको स्थानीयले बताएका छन ।
जिल्लाका विभिन्न स्थान र छिमेकी जिल्लाबाट तातोपानी नुहाउन रूपगार्ड तातोपानी पुग्ने गर्दछन् । प्रायः वृद्ववद्वाहरू तातोपानीले नुहाउने गर्दछन् । मंसिर महिनादेखि वैशाखसम्म तातोपानीले नुहाउँदा घुँडा दुख्नेलगायतका विभिन्न रोग सन्चो हुने विश्वास गरिन्छ ।
प्रत्येक वर्ष एक दिनमा तीनपटकभन्दा धेरै तातोपानीमा बस्ने अनि वेलावेलामा मीठामीठा परिकार मासु, अण्डा, चिल्लो खानाले शरीरमा भएका विभिन्न रोगहरू निको हुने परम्परागत विश्वास छ । रूपगार्ड तातोपानीको पोखरीमा बर्खाको समयमा बाढीले बालुवा भरेकोले नुहाउन समस्या हुने गरेको स्थानीयले बताए । तातोपानीको पोखरी र बीच भागमा रहेको काठेपुल तत्काल निर्माण तथा मर्मत गर्न स्थानीयले सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
डोल्पामा तातोपानीका मुहान दुईवटा रहेका छन् । ठूलीभेरीमा पर्ने रूपगार्ड तातोपानी र काइकेमा पर्ने सहरतारा तातोपानी चैत महिनासम्म भिड हुने गर्दछ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने तातोपानीका मुहान संरक्षणमा स्थानीयले सरकारले विशेष जोड दिनुपर्ने जानकार बताउँछन् ।
रूपगार्ड तातोपानी संरक्षण र व्यवस्थापन गर्न सके स्थानीय व्यवसायीलाई राम्रो हुने भएकोले आगामी नगर कार्यसमितिको बैठक र नगर सभामा विशेष कार्ययोजना पेस गर्ने ठूलीभेरी नगरपालिका– ८ का वडाध्यक्ष मनराम ठकुल्लाले बताए । समस्या समाधानका लागि आफूले तत्काल सम्बन्धित निकायमा पहल चाल्ने वडाध्यक्ष ठकुल्लाले बताए ।